उदयपुरको चौदण्डीगढीमा जंगलीहात्तीको आक्रमणले सात घर भत्किँदा १५ लाखको क्षति

आइतबार, १४ असार, २०८३
डिजिटल संस्करण

उदयपुरको चौदण्डीगढी नगरपालिका–७ लामाचौरी (कुमाङ) मा शनिबार राति जंगलीहात्तीको बथानले सात घरमा क्षति पुर्याउँदा करिब १५ लाख रुपैयाँबराबरको नोक्सानी भएको छ।

राति करिब ९ बजेतिर गाउँ पसेको १२ देखि १५ वटा बच्चासहितको हात्तीको बथानले घरका बेराघेरा भत्काउनुका साथै अन्नपात, लत्ताकपडा र अन्य सामग्री नष्ट गर्दा क्षति भएको हो । 
इलाका प्रहरी कार्यालय बेल्टारका प्रमुख इन्स्पेक्टर प्रभात लक्ष्मण लिम्बूका अनुसार रक्तामाला सामुदायिक वन क्षेत्रबाट गाउँ प्रवेश गरेको हात्तीको बथानले स्थानीयको घर भत्काउनुको साथै घरमा रहेको अन्नपातसमेत खाइदिएको छ ।

लिम्बूका अनुसार खिलबहादुर मगरको घरमा एक लाख, वृद्धिमाया राईको चार लाख, बमबहादुर विकको दुई लाख, रोशन विकको दुई लाख, लक्ष्मी विकको तीन लाख, वीरबहादुर मगरको दुई लाख र राधा विकको एक लाख रुपैयाँबराबरको क्षति भएको छ । 

हात्ती गाउँमा प्रवेश गरेपछि इलाका प्रहरी कार्यालय बेल्टार र सशस्त्र प्रहरी बल बेल्टार बेस क्याम्पबाट संयुक्त सुरक्षा टोली घटनास्थल पुगेको थियो । प्रहरी र स्थानीयवासीले साइरन बजाएर तथा अन्य उपाय अपनाई हात्तीलाई गाउँबाट जंगलतर्फ फर्काएका थिए । स्थानीयका अनुसार हात्तीको बथान बिहान करिब ४ बजे मात्र जंगल फर्किएको थियो । घटनामा कुनै मानवीय क्षति भने भएको छैन ।

प्रहरीका अनुसार केही दिनअघि सुनसरीबाट सप्तकोशी नदी पार गरी उदयपुर प्रवेश गरेको यही हात्तीको बथानले सुरुमा बेलका नगरपालिकाका विभिन्न क्षेत्रमा अन्नबालीमा क्षति पुर्याएको  थियो । त्यसपछि असार १२ गते चौदण्डीगढी नगरपालिका– ३ हात्तीसार क्षेत्रमा प्रवेश गरी केही घरमा सामान्य क्षति पुर्याएको थियो । शनिबार राति भने चौदण्डीगढी– ७ मा ठुलो क्षति भएको हो ।

उदयपुरमा जंगली हात्तीको समस्या बर्सेनि दोहोरिने गरेको भए पनि यस वर्ष गर्मीयाममै हात्ती गाउँबस्तीमा पसेपछि स्थानीय त्रसित बनेका छन् । सामान्यतया जाडोयाममा भारतबाट नेपाल प्रवेश गर्ने हात्तीले बेलका, चौदण्डीगढी, त्रियुगा र कटारी क्षेत्रका बस्ती तथा खेतीबालीमा क्षति पुर्याउने गरेका छन् । 

सुझावित समाचार