अमेरिकी अन्तरिक्ष कम्पनी स्पेस–एक्सले भर्खरै आइपिओ जारी गर्यो । कम्पनीको सेयर कारोबार सुरु भएलगत्तै कम्पनीका मालिक एलन मस्कको कुल सम्पत्ति सजिलै एक ट्रिलियन (दश खर्ब) डलर नाघ्यो । योसँगै विश्वले पहिलो डलर ट्रिलिनियर पायो । उसो त मस्कको सम्पत्ति गत वर्षभर प्रतिमिनेट दश लाख डलरभन्दा बढीको दरले बढिरहेको थियो । अहिले मस्को सम्पत्ति विश्वका विपन्न ४६ प्रतिशत जनसंख्या वा लगभग चार अर्ब मानिसको संयुक्त सम्पत्तिभन्दा बढी भएको छ ।
अक्सफाममा कार्यरत यो स्तम्भकार सम्मिलित समूहले सन् २०१७ मा २५ वर्षभित्र संसारले पहिलो डलर ट्रिलिनियर पाउने भविष्यवाणी गरेको थियो । सन् २०२४ सम्म आइपुग्दा हामीले फेरि उक्त अनुमानलाई केही परिमार्जन गर्दै एक दशकभन्दा कम समयभित्रै त्यसको सम्भावना भएको बतायौँ । तर, सम्पत्ति केन्द्रीकरणको अहिलेको तीव्र गति हेर्दा हामी नै छक्क परेका छौँ । अहिले जुन गतिमा बढ्दै छ, त्यसको कारण लोकतन्त्र नै जोगाउन सकिन्छ कि सकिँदैन भन्ने प्रश्न उठ्न थालेको छ ।
कसैकसैले विश्वको पहिलो डलर ट्रिलियनियर मस्कको उदय उनको प्राविधिक सफलता र अमेरिकी पुँजीवादको जितको कथा हो भनेर तर्क गर्न सक्छन् । निश्चित रूपमा मस्कको स्पेस–एक्सले विकास गरेको एकपटक प्रक्षेपण गरेपछि पुनः पृथ्वीमा फर्कन सक्ने शक्तिशाली रकेट अद्भूत आविष्कार हो । र, मस्कका अन्य कम्पनीले भूउपग्रहीय इन्टरनेटदेखि विद्युतीय सवारी साधनको विकासमा ठुलो योगदान गरेका छन् ।
तर स्पेस–एक्सका लगानीकर्ताले कम्पनीको इन्जिनियरिङ कौशलकै लागि मात्र त्यसमा लगानी गरेका हुन् भन्छ भने उसले झुट बोलिरहेको हुन्छ । स्पेस–एक्समा लगानीकर्ताले पैसा लगाउँदा अत्याधुनिक प्रविधि वा असफल हुँदा अर्थतन्त्रमै ठुलो क्षति पुग्ने कम्पनी भएकाले मात्र लगानी गरेको नभई तिनले एउटा एकाधिकारवादी विचारको विकासमा सघाएका हुन् । यही एकाधिकारमार्फत मस्कको सम्पत्ति र प्रभाव यति विशाल बनेको छ कि अमेरिकी सरकार नै उनी असफल भए अर्थतन्त्रमा धक्का लाग्ने सोचेर उनलाई असफल हुन नदिन लाग्छ ।
मस्कको उदय अविभाज्य रूपमा सरकारी सहयोगसँग जोडिएको छ भनेर बुझियो भने बल्ल सम्पत्तिको असमानता बुझ्न र त्यसविरुद्धको कदम चाल्न सघाउ पुग्छ । र, यसले दिने पाठ संयुक्त राज्य अमेरिकामा मात्र नभई अन्यत्र पनि लागू हुनेछ । एक हिसाबमा मस्कको तीव्र उदय अर्बपति अमेरिकी राष्ट्रपतिको आर्थिक एजेन्डाको उपज पनि हो । डोनाल्ड ट्रम्पले सन् २०२५ मा लागू गरेको ‘ओन बिग ब्युटिफुल विल एक्ट’ले आधुनिक इतिहासमा सबैभन्दा ठुलो स्तरमा श्रमिक वर्गबाट धनाढ्य विशाल सम्पत्ति स्थानान्तरण सम्भव बनायो ।
त्यस्तै ट्रम्पले ठुला कर्पोरेट कम्पनीको अधिक शक्तिमाथि अंकुश लगाउने ‘कन्सुमर फाइनान्सियल प्रोटेक्सन ब्युरो’लाई घिटिघिटी हुने अवस्थामा पुर्याएका छन् । यसअघि ट्रम्पले दोस्रो शासन सम्हालेलगत्तै सरकारी दक्षता विकास गर्ने भन्दै खोलिएको ‘डिपार्टमेन्ट अफ गभर्नमेन्ट इफिसिएन्सी (डज)’का प्रमुखको जिम्मेवारी मस्कलाई नै दिइएको थियो । उनले त्यस पदमा रहेर एकाधिकारमाथि अंकुश लगाउने कैयौँ सरकारी एजेन्सी ध्वस्त पारे ।
अझ अगाडि बढेर मस्कले त्यति वेला अमेरिकाले विश्वका सबैभन्दा विपन्नलाई दिने सहायतामा व्यापक कटौती गरेका थिए । सहायता कटौतीका कारण सन् २०३० सम्ममा वार्षिक रूपमा अनुमानित सात लाख अतिरिक्त मृत्यु निम्त्याउन सक्ने अध्ययनले देखाएको छ ।
यसबिच, ट्रम्प प्रशासनले मस्कको स्थितिलाई थप सबल बनाउन अरू पनि सहयोगी भूमिका खेलेको छ । उनका कम्पनीलाई नयाँ ठेक्का प्रदान गर्ने, ती क्षेत्रमा भइरहेका सरकारी अनुसन्धान रोक्ने र मस्कका कारबाहीमाथि निगरानी गर्ने कानुन खुकुलो पार्नेजस्ता सहजता थपिए । परिणामस्वरूप एउटा यस्तो खतरनाक सार्वजनिक–निजी गठजोड बनेको छ, जहाँ अमेरिकी सरकार मस्कका कम्पनीद्वारा प्रदान गरिने हार्डवेयर र डेटामाथि अत्यधिक निर्भर बनेको छ । उदाहरणका लागि पछिल्लो समय अमेरिकी सरकार पृथ्वीको तल्लो कक्षमा सञ्चारका लागि स्टारलिंकमाथि कति धेरै निर्भर छ भनेर ख्याल गरे पनि थाहा लाग्छ । अमेरिकी सेना र उसको अन्तरिक्ष शाखाको मस्कका साम्राज्यमाथिको निर्भरताले राज्यमाथि उनको प्रभाव उलेख्य बढेको संकेत गर्छ । तर, अमेरिकी सरकारको मस्कका कम्पनीमाथिको निर्भरता रातारात निर्माण गरिएको होइन । निश्चित रूपमा मस्कको शक्ति ट्रम्प शासनमा तीव्र गतिमा बढेको सही हो । तर, त्यसअघि पनि दशकौँदेखि अमेरिकी सरकारले उनका विभिन्न परियोजनामा लगानी गरिरहेको थियो । अझ भन्ने हो भने यी विश्वका पहिलो ट्रिलियनियरलाई सघाउने कुरामा धेरै मुद्दामा विभाजित हुने अमेरिकाका दुवै दल एक ठाउँमा उभिए ।
मस्कले सरकारी अनुदानलाई आफ्नो उद्योगको बजार प्रभुत्व सुनिश्चित गर्न प्रयोग गरेको इतिहास छ । अमेरिकामा गठन भएका विभिन्न सरकारबाट उनका कम्पनीले झन्डै ३८ अर्ब डलर प्राप्त गरेको देखिन्छ । उदाहरणका लागि पूर्वराष्ट्रपति बराक ओबामाको सरकारले प्रदान गरेको आर्थिक सहयोग प्रयोग गरेर मस्क अहिलेको ‘अन्तरिक्षमा एकाधिकार’ सिर्जना गर्न सक्षम भएका हुन् । विद्युतीय कार निर्माता टेस्ला र स्पेस–एक्सको उत्पत्तिदेखि निरन्तर अस्तित्व संघीय र सरकारी सहयोगमा निर्भर रह्यो ।
अमेरिकी करदाताले तिरेको कर रकम असफल हुने जोखिम भएका उद्यममा खर्च भयो । तर, तिनले यसको न त कुनै इक्विटी पाए, न कुनै नाफा–बाँडफाँडकै हिस्सेदार बन्न सके । जहाँ ट्रिलियनियरको उदय हुन्छ, त्यो समाज कति धेरै असमान होला, अनुमान गर्न सकिन्छ । अरू देशले पनि अमेरिकाको राजनीतिक प्रणालीले कसरी मस्कको उदयलाई सम्भव बनायो भन्ने कुराबाट पाठ सिक्नुपर्छ । अमेरिकाको धनीमुखी करसंहिताको फाइदा उठाउँदै मस्कले वर्षौंदेखि संघीय आयकरमा लगभग एक पैसा पनि तिरेका छैनन् । त्यस्तै अमेरिकामा एकाधिकारविरोधी कानुन हुँदाहुँदै पृथ्वीको परिक्रमा गर्ने दुईतिहाइ उपग्रह एउटै कम्पनी (स्पेस–एक्स)को नियन्त्रणमा राख्न कसरी अनुमति दिइयो ? अध्ययन हुनुपर्छ ।
त्यस्तै चुनावी अभियानमा ठुलो रकम खर्च गर्न सक्ने कानुनले गर्दा मस्कले सन् २०२४ को चुनावमा ट्रम्प र अन्य रिपब्लिकन उम्मेदवारलाई समर्थन गर्न सके । यसरी एउटै व्यक्तिले चाहे आफूले चाहेको चुनावी परिणाम आउने अवस्था सम्भव भयो । (मस्कले गत चुनाव ३० करोड डलर चुनावमा खर्च गरेका थिए ।) अहिलेको अवस्था सुधार्न अब सरकारले ठुलो संरचनात्मक सुधार गर्नुपर्छ । मस्कको हातमा रहेको अथाह शक्तिमाथि सामूहिक ध्यान दिनु आवश्यक छ । विशेषगरी श्वेत जातिको सर्वोच्चप्रतिको उनको विचारले युरोपेली देशमा समेत उग्र–दक्षिणपन्थी व्यक्तित्वहरूलाई बढावा दिइरहेको छ ।
हामी धन र शक्तिको अश्लील केन्द्रीकरणको दुस्वप्नको युगमा बाँचिरहेका छौँ । आज एआईजस्तो प्रविधि मुठीभर कम्पनीको नियन्त्रणमा पुगेको छ । त्यस्तै तेल, ग्यास, रक्षा तथा वित्त क्षेत्रमा पकड भएका सीमित औद्योगिक दिग्गजले एकपछि अर्को युद्धबाट रेकर्डस्तरमा नाफा कमाइरहेका छन् ।
अमेरिकाले चरम असमानतासँग जुधेर लोकतन्त्रको रक्षा गरेको आफ्नै इतिहासबाट पाठ सिक्नुपर्छ । १९औँ शताब्दीको उत्तरार्द्धमा (जुन अवधिलाई गिल्डेड एज भनिन्छ) अमेरिकामा सीमित व्यक्तिको हातमा धन केन्द्रित हुँदै गएपछि आयकरको सिर्जना गरियो । महामन्दी र दोस्रो विश्वयुद्धपछि सामाजिक सुरक्षा कार्यक्रम, न्यूनतम ज्यालादेखि ९४ प्रतिशतसम्म आयकरका दर लागू गरिए । त्यसपछिका दशकमा अमेरिकामा मध्यमवर्गमा उलेख्य वृद्धि भयो भने एकाधिकारमा लगाम लाग्न पुगेको थियो ।
तर, अमेरिकामा अब सामान्य सुधारले मात्र पुग्दैन । देशमा कायम चरम सम्पत्ति असमानतालाई हरेक तह र तप्कामा सम्बोधन गर्नुपर्छ । सन् २०२६ मा केही सरकारले सम्पत्ति कर लागू गर्नेदेखि सबै नागरिकलाई निःशुल्क स्वास्थ्य सेवा प्रदान गर्नेसम्म, महँगी घटाउनेदेखि र श्रमिक अधिकार सुदृढ गर्नेसम्मका कार्य सम्भव भएको गरेरै देखाएका छन् । यो कार्य अमेरिका लगायत अरू देशले पनि अनुसरण गर्नुपर्छ ।
सरकारको सहयोगमा बनेका विश्वका पहिलो ‘ट्रिलिनियर’को आगमनसँगै हामीले अब कुलीन वर्ग सघाउने अन्तर्राष्ट्रिय आर्थिक व्यवस्थामाथि पनि पुनर्विचार गर्नुपर्छ । विश्वव्यापी बहस प्रायः महाशक्ति देशा द्वन्द्वमा केन्द्रित देखिन्छन् । जबकि, पछिल्लो समय ठुलो समस्याका रूपमा देखिएका व्यापार, बौद्धिक सम्पत्ति, कर र ऋणसम्बन्धी बहुपक्षीय नियम धनीहरूलाई सघाउने र बाँकी श्रमिकलाई हानि पुर्याउने गरी बनाइएकाले निम्तिएको हो । अमेरिकामा निर्मित बहुपक्षीय प्रणालीलाई भत्काउन ट्रम्प प्रशासनले केही कदम चालेको छ । यसैबाट प्रेरित भएर अन्य देश सहयोगका नयाँ रूप निर्माण गर्न तल्लीन हुनुपर्छ ।
करिब एक शताब्दीअघि अमेरिकाका सर्वोच्च अदालतका न्यायाधीश लुइस डी ब्रान्डिसले देशले सम्पत्तिको अधिक केन्द्रीकरण र लोकतन्त्रमध्ये एउटा छान्नुपर्ने अवस्था आउन सक्ने चेतावनी दिएका थिए । ब्रान्डिसको त्यो चेतावनीले अहिले नयाँ प्रासंगिकता हासिल गरेको छ । मस्क यसकै प्रमाण हुन् ।
(अहमद ‘अक्सफाम अमेरिका’को आर्थिक तथा जातीय न्याय शाखाका निर्देशक हुन्)
प्रोजेक्ट सिन्डिकेटबाट