कैलालीको मोहन्याल गाउँपालिकामा सञ्चालित सातदिने विपत् स्वयंसेवक आधारभूत तालिम सम्पन्न भएको छ। असार ६ गतेदेखि १२ गतेसम्म सञ्चालन गरिएको तालिमबाट गाउँपालिकामा २४ जना प्रशिक्षित विपत् स्वयंसेवक तयार भएका छन्।
मोहन्याल गाउँपालिका, मर्सिकोर नेपाल र सेवक नेपाल कैलालीको संयुक्त आयोजना, समन्वय तथा सहकार्यमा तालिम सञ्चालन गरिएको हो। तालिमको अनुगमन तथा सहजीकरण राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले गरेको जनाएको छ।
तालिममार्फत समुदायस्तरमा दक्ष विपत् स्वयंसेवक तयार भई विपत् प्रतिकार्य, उद्धार तथा प्रारम्भिक व्यवस्थापनमा स्थानीय तहको क्षमता अभिवृद्धि हुने अपेक्षा गरिएको आयोजकले बताएका छन्। राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले स्थानीय तह, सुरक्षा निकाय, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्था र विकास साझेदारसँगको समन्वय, सहकार्य तथा साझेदारीमा देशका विभिन्न स्थानीय तहमा विपत् स्वयंसेवक आधारभूत तालिम सञ्चालन गर्दै आएको छ।