मधेश प्रदेशमा सञ्चालन गरिएको ‘ट्राफिक जनचेतनामूलक सप्ताह–२०८३’ मा एक लाख ७४ हजार ४४७ सवारीसाधन चेकजाँच गरिएको छ। नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय पथलैया, बाराको नेतृत्वमा प्रदेशका आठवटै जिल्लामा सञ्चालन गरिएको सप्ताहव्यापी कार्यक्रमका क्रममा ५८ हजार ९४५ मोटरसाइकलचालकको समेत जाँच गरियो।
सो अवधिमा जनचेतनामूलक कार्यक्रम, स्वास्थ्य परीक्षण, विद्यालयस्तरीय कक्षा सञ्चालन, सडकनाटक, रक्तदान तथा अन्तरक्रियालगायत विविध कार्यक्रम सञ्चालन गरिएको नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय पथलैया, बाराका कार्यालय प्रमुख प्रहरी उपरीक्षक ज्ञानेन्द्रबहादुर बस्नेतले जानकारी दिए।
प्रहरी उपरीक्षक बस्नेतका अनुसार ट्राफिक नियमप्रति नागरिकमा चेतना अभिवृद्धि गर्नु, सडक दुर्घटना न्यूनीकरण गर्नु तथा सुरक्षित यात्राको संस्कार विकास गर्ने उद्देश्यले ट्राफिक सप्ताह मनाइएको हो। साताभर प्रदेशका विभिन्न स्थानमा प्रभातफेरी, विद्यालय तथा कलेजमा ट्राफिक शिक्षा, चालक तथा पैदलयात्रीसँग ‘एक मिनेट’ जनचेतना कार्यक्रम, पर्चा–पम्प्लेट वितरण, सवारीसाधनको मेकानिकल परीक्षण, नम्बर प्लेट परीक्षण, हेल्मेट र रिफ्लेक्टिभ स्टिकर वितरण, सार्वजनिक चालकको स्वास्थ्य परीक्षण, आँखा शिविर, रक्तदान कार्यक्रम, दीप प्रज्वलन, सडकनाटक तथा एफएम रेडियो र टेलिभिजनमार्फत जनचेतनामूलक सन्देश प्रसारण गरिएको थियो।
कार्यालयले सार्वजनिक गरेको प्रगति विवरणअनुसार सप्ताहभर चार हजार २५५ वटा जनचेतनामूलक कार्यक्रम सञ्चालन गरिएको थियो। यस क्रममा दुई हजार ११५ जना विद्यार्थीलाई सडक सुरक्षित रूपमा काट्ने तरिका सिकाइएको, तीन हजार ६३० जनालाई स्वास्थ्य परीक्षण सेवा प्रदान गरिएको, एक हजार ४०४ जनालाई हेल्मेट तथा रिफ्लेक्टिभ सामग्रीसम्बन्धी कार्यक्रममार्फत लाभान्वित गरिएको तथा चार हजार ३९० जनालाई विभिन्न जनचेतनामूलक अभियानमा सहभागी गराइएको थियो।
त्यस्तै, ५२ हजार ८८६ सवारीसाधनको नम्बर प्लेट परीक्षण, ११ हजार १२६ सवारीसाधनको मेकानिकल जाँच, दुई हजार ३७० चालक तथा पैदलयात्रीसँग प्रत्यक्ष अन्तरक्रिया, तीन हजार ८५१ विद्यार्थीलाई विद्यालय तथा कलेजमा ट्राफिक शिक्षा, चार हजार ७५३ जनालाई पर्चा–पम्प्लेट वितरण, तीन हजारजनालाई जनचेतनामूलक स्लोगनसहितको बोर्डमार्फत सचेतना प्रदान गरिएको विवरणमा उल्लेख छ। सप्ताहभर सञ्चालन गरिएका सम्पूर्ण कार्यक्रमबाट कुल दुई लाख ३५ हजार ५९१ जना प्रत्यक्ष लाभान्वित भएका छन्।
प्रहरी उपरीक्षक बस्नेतले ट्राफिक सप्ताह केवल औपचारिक कार्यक्रम नभई नागरिकको व्यवहार परिवर्तन गराउने अभियानका रूपमा सञ्चालन गरिएको बताए। उनका अनुसार विद्यालयदेखि सार्वजनिक सडकसम्म, चालकदेखि पैदलयात्रीसम्म सबै वर्गलाई समेटेर सचेतनामूलक गतिविधि सञ्चालन गरिएकाले यसको सकारात्मक प्रभाव देखिन थालेको छ।
यसैबिच, चालू आर्थिक वर्ष ०८२/८३ को असार १० गतेसम्म ओभरलोड नियन्त्रण अभियानअन्तर्गत मधेश प्रदेशमा ७३० वटा सवारीसाधनमाथि कारबाही गरिएको छ। उक्त कारबाहीबाट कुल एक करोड ३१ लाख ५८ हजार ४५८ रुपैयाँ राजस्व संकलन भएको छ। सबैभन्दा बढी कारबाही पर्सा जिल्लामा ३९४ वटा सवारीसाधनमाथि भएको छ, जहाँबाट ५६ लाख २३ हजार ८२८ रुपैयाँ राजस्व संकलन भएको छ। त्यसपछि पथलैया कार्यालयले २४३ वटा कारबाहीमार्फत ५४ लाख ५९ हजार ४६८ रुपैयाँ राजस्व संकलन गरेको छ।
त्यसैगरी, माघ ९ गतेदेखि असार १० गतेसम्म यातायातमार्फत गरिएको ओभरलोड कारबाहीमा प्रदेशभर ४७७ वटा कारबाहीबाट ९३ लाख ५७ हजार २९१ रुपैयाँ राजस्व संकलन भएको छ। यस अवधिमा पथलैया कार्यालयले मात्रै १८६ वटा कारबाही गरी ४१ लाख ५७ हजार ८३५ रुपैयाँ राजस्व संकलन गरेको छ।
सो अवधिमा ट्राफिक नियम उल्लंघन अभिलेख प्रणालीमार्फत गरिएको ओभरलोड कारबाहीअन्तर्गत प्रदेशभर तीन हजार ५१६ वटा सवारीसाधन कारबाहीमा परेका छन्। यसबाट ७० लाख ३२ हजार रुपैयाँ राजस्व संकलन भएको छ। पथलैया कार्यालयबाट मात्रै एक हजार ५८५ वटा कारबाही गरी ३१ लाख ७० हजार रुपैयाँ राजस्व संकलन भएको प्रहरी तथ्यांकमा उल्लेख छ।