ल्हासास्थित नेपाली महावाणिज्य दूतावासले चीनको सिचाङ (तिब्बत) स्वायत्त क्षेत्रको राजधानी ल्हासामा नेपालको व्यापार, पर्यटन र लगानीका सम्भावनालाई प्रवर्द्धन गर्ने उद्देश्यले विशेष कार्यक्रम आयोजना गरेको छ।
ल्हासाको सांग्रिला होटेलमा आयोजित कार्यक्रममा सिचाङ स्वायत्त क्षेत्रका जनसरकारका कार्यकारी उपाध्यक्ष चाओ पेङ प्रमुख अतिथि तथा नेपाली महावाणिज्यदूत लक्ष्मीप्रसाद निरौला अध्यक्ष रहेका थिए। कार्यक्रममा सिचाङ सरकारका उच्च अधिकारी, चिनियाँ लगानीकर्ता, व्यवसायी, पर्यटन क्षेत्रका प्रतिनिधि तथा ल्हासास्थित नेपाली व्यवसायीसहित ११३ जनाको सहभागिता रहेको थियो।
कार्यक्रममा वाणिज्यदूत सविन भट्टराईले नेपालको व्यापार, पर्यटन र लगानीका अवसरबारे प्रस्तुति दिएका थिए भने सम्बन्धित प्रवर्द्धनात्मक भिडियोसमेत प्रदर्शन गरिएको थियो।
प्रमुख अतिथि चाओ पेङले नेपाल–चीन सम्बन्धलाई थप सुदृढ बनाउन नेपाली महावाणिज्य दूतावासले महत्त्वपूर्ण भूमिका खेलेको उल्लेख गर्दै नेपाल चीनको विश्वासिलो मित्रराष्ट्र भएको बताए। उनले हालैको नेपाल भ्रमणले द्विपक्षीय सम्बन्ध थप मजबुत बनेको उल्लेख गर्दै चिनियाँ लगानीकर्ता र पर्यटकलाई नेपालमा लगानी, व्यवसाय तथा भ्रमण गर्न आग्रह गरे। साथै, सिचाङ सरकारले नेपाली महावाणिज्य दूतावासलाई आवश्यक सहयोग उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरे।
महावाणिज्यदूत लक्ष्मीप्रसाद निरौलाले कार्यक्रमले नेपालको व्यापार, पर्यटन र लगानीका सम्भावनाबारे चिनियाँ सरकारी तथा निजी क्षेत्रलाई जानकारी गराउन महत्त्वपूर्ण योगदान पुगेको बताए। उनले नेपाल एक चीन नीतिप्रति प्रतिबद्ध रहेको दोहोर्याउँदै नेपालको भूमि कुनै पनि मित्रराष्ट्रविरुद्ध प्रयोग हुन नदिने स्पष्ट पारे।
कार्यक्रमअघि महावाणिज्यदूत निरौला र कार्यकारी उपाध्यक्ष चाओ पेङबिच शिष्टाचार भेटवार्ता भएको थियो। भेटमा सीमा पूर्वाधार विकास, आयात–निर्यात तथा आवतजावतमा सहजीकरण, तिब्बतमा रहेका नेपालीका लागि भिसा र प्रवेश अनुमतिलाई सहज बनाउने तथा ल्हासास्थित सरस्वती मन्दिर र सिगात्सेस्थित भीमसेन मन्दिरको जीर्णोद्धारमा सहयोगका विषयमा छलफल भएको थियो।
जवाफमा चाओ पेङले सीमा व्यवस्थापनमा आवश्यक सहयोग गर्न चीन तयार रहेको बताउँदै ऐतिहासिक सरस्वती र भीमसेन मन्दिरको जीर्णोद्धारका लागि पहल गर्ने तथा रसुवागढीस्थित सीमा नदीमा पक्की पुल निर्माणमा समेत सहयोग गर्ने जानकारी गराएका थिए।