- सन् १९७२ मा फिफाको सदस्य बनेको एन्फा पदाधिकारीको स्वार्थको लडाइँका कारण पहिलोपटक फिफाको कारबाहीमा
- २५ मार्च २०२६ मा खेलकुद परिषद्ले गरेको निर्णय विनासर्त फिर्ता लिए तथा वर्तमान एन्फा कार्यसमिति पुनर्बहाली गरे निलम्बन फुकुवा हुने फिफाको भनाइ
अमेरिका, मेक्सिको र क्यानडाले संयुक्त रूपमा २३औँ संस्करणको विश्वकप फुटबल प्रतियोगिता आयोजना गरिरहेका छन् । ४८ राष्ट्रबिचको विश्वकप प्रतिस्पर्धामा फुटबल समर्थक रमाइरहँदा नेपाली भने निराश बनेका छन् । फुटबलको सर्वोच्च निकाय फिफाले अखिल नेपाल फुटबल संघ (एन्फा)लाई निलम्बन गरेको छ । फिफाले बिहीबार एक विज्ञप्ति जारी गर्दै नेपाली फुटबलमा तेस्रो पक्षको हस्तक्षेप भएको बताउँदै अनिश्चितकालीन निलम्बन गरेको जनाएको हो ।
फिफाले एन्फा महासचिव किरण राईलाई इमेलमार्फत निलम्बनमा परेको जानकारी गराएको हो । सन् १९५१ मा एन्फा स्थापना भएको थियो । सन् १९७२ मा सदस्यराष्ट्र बनेको एन्फालाई फिफाले पहिलोपटक निलम्बनमा गरेको हो । ‘उल्लिखित गम्भीर परिस्थिति, विधानको धारा १४ को उपधारा १ (आई) र ३ अनुसार तेस्रो पक्षको हस्तक्षेप मानिन्छ,’ फिफाले भनेको छ, ‘धारा १६ (१) अनुसार सदस्य संघले आफ्ना दायित्वहरूको गम्भीर उल्लंघन गरेकोमा फिफा काउन्सिलले कंग्रेसको मतदानविना तत्काल अस्थायी निलम्बन गर्न सक्ने व्यवस्थाअनुसार, काउन्सिल ब्युरोले २४ जुन २०२६ मा एन्फालाई फिफाको विधानको उल्लंघनका कारण तत्काल प्रभावबाट निलम्बन गर्ने निर्णय गरेको छ,’ राईलाई पठाएको फिफाको इमेलमा भनिएको छ ।
राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव रामचरित्र मेहताले एन्फा पदाधिकारीको स्वार्थको लडाइँका कारण नेपाली फुटबल प्रतिबन्धमा परेको बताए । ‘जे नहुनुपर्ने थियो, त्यो भयो । यहाँ एन्फाका पदाधिकारीको स्वार्थको लडाइँमा नेपाली फुटबल प्रतिबन्धमा परेको छ,’ मेहताले नयाँ पत्रिकासँग भने, ‘फिफाले तेस्रो पक्षको हस्तक्षेप भनेको छ, तर कार्यसमिति बैठक नै नगर्ने एन्फालाई हामीले सुध्रन मौका दिएका थियौँ ।’
नेतृत्वविहीन बनेको एन्फालाई अगाडि बढाउन सरोकारवालासँग छलफल गर्ने उनले बताए । ‘प्रतिबन्धको अवस्था बुझ्न र यसको समाधान निकाल्न राखेपले फिफा र एएफसीसँग वार्ता गर्छ । यस विषयमा सरकारसँग पनि छलफल हुनेछ,’ उनले भने । फिफाले निलम्बन फुकुवाका लागि सर्त राखेको छ । २५ मार्चा २०२६ को परिषद्ले गरेको आफ्नो निर्णय विनासर्त फिर्ता लिन तथा वर्तमान एन्फा कार्यसमितिको पुनर्बहाली गरेको अवस्थामा निलम्बन फुकुवा हुने भनेको छ । गत चैतमा एन्फालाई तीन महिना निलम्बन गरेको राखेपले गत जेठमा फुकुवा गरेको थियो । एन्फालाई आफ्नो विधान तथा नियमावलीअनुसार सुरु भइसकेको निर्वाचन प्रक्रिया यथाशीघ्र सम्पन्न गर्न अनुमति दिन पनि भनेको छ ।
अन्तर्राष्ट्रिय खेलमा प्रभावित, तर घरेलुमा नहुने
एन्फाका सिइओ इन्द्रमान तुलाधरले निलम्बनपछि अन्तर्राष्ट्रिय खेल पूरै प्रभावित हुने जानकारी दिए । उनका अनुसार घरेलु फुटबलमा यसको असर पर्दैन । ‘अहिलेको अवस्थामा फिफा र एएफसीले आयोजना गर्ने कुनै पनि अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपाल सहभागी हुन पाउने छैन । यहाँसम्म रेफ्री कोर्सदेखि विदेशी क्लबमा खेल्न जाने नयाँ खेलाडी वञ्चित हुनेछन्,’ तुलाधरले भने, ‘घरेलु फुटबलमा यसको असर हुँदैन । गतिविधि नियमित नै चल्नेछ ।’
सिइओ तुलाधरले तेस्रो पक्षको सिधा हस्तक्षेपका कारण नेपाल निलम्बनमा परेको दाबी गरेका छन् । ‘राखेपको हस्तक्षेप फिफालाई स्वीकार्य थिएन । उनीहरूले यसलाई तेस्रो पक्षको हस्तक्षेप भनिरहेका थिए । राखेपबाट बारम्बार हस्तक्षेप भएपछि फिफाले आफ्नो विधानअनुसार निलम्बन गरेको हो,’ उनले भने । एन्फाका पूर्वअध्यक्ष कर्माछिरिङ शेर्पाले प्रशासनको कमजोरीले नेपाली फुटबलले कालो दिन देख्नुपरेको बताए । ‘अहिलेको अवस्थामा वर्तमान नेतृत्वले फुटबल हाँक्न सक्दैन भनेर फिफाले निलम्बन गरेको हो ।’ फुटबल खेलाडी संघका अध्यक्ष विक्रम लामाले निलम्बन हुनु गलत भएको र अबका दिनमा राम्रो वातावरण बन्ने बताए ।
खेलाडीको विरोध
निलम्बनपछि फुटबल खेलाडीले बिहीबार साँझ सातदोबाटोस्थित एन्फा मुख्यालयमा नेतृत्वविरुद्ध विरोध जनाउँदै असन्तुष्टि पोखेका छन् । अखिल नेपाल फुटबल खेलाडी संघको नेतृत्वमा गरिएको कार्यक्रममा उनीहरूले एन्फा नेतृत्वलाई निलम्बन गराउन सफल भएकोमा धन्यवाद दिएर प्लेकार्ड मुख्यालयको गेटमा झुन्ड्याएका छन् । प्लेकार्डमा ‘नेपाली फुटबलको यो अवस्थाले तपाईंहरूलाई सधैँ सम्मान गर्नेछ’ लेखिएको छ ।
पंकजविक्रम नेम्वाङ नेतृत्वको एन्फाको कार्यकाल ५ असार २०८३ मा सकिएको छ । उनले गत माघमा कार्यसमितिको बहुमतको निर्णय भन्दै अर्ली इलेक्सनको घोषणा गरेका थिए । राखेपले एन्फालाई पत्र काट्दै अर्ली इलेक्सन नगर्न, तहगत निर्वाचनसहित ११ बुँदा संशोधन गरेर केन्द्रको निर्वाचन गर्न निर्देशन दिएको थियो । चुनाव नै गराउने अवस्थामा पुगेको एन्फाले अटेरी गरेपछि राखेपले चैतमा तीन महिनाका लागि निलम्बन गरेको थियो ।
तदर्थ समितिको तयारी
राखेपले नेतृत्वविहीन बनेको एन्फाको दैनिक कार्यसञ्चालन र वर्तमान परस्थिति समाधान गर्न तदर्थ समिति बनाउने तयारी गरेको छ । त्रिपुरेश्वरस्थित राखेपको मुख्यालयमा भएको छलफलमा उपाध्यक्ष विशाल श्रेष्ठ, राखेपका सदस्यसचिव मेहता, खेलकुदमन्त्रीका स्वकीय सचिव सिद्धि व्यञ्जनकारलगायतको उपस्थितिमा तदर्थ समिति बनाउने तयारी भएको हो । राखेपले पाँच सदस्यीय तदर्थ कमिटीको खाका तयार पारेको छ । जसको संयोजक पूर्वकप्तान विराज महर्जनलाई बनाउने तयारी भएको स्रोतले नयाँ पत्रिकालाई बतायो ।