२५ हजारले नतिजा सच्याउन माग गर्दै दिए निवेदन
कक्षा १२ को नतिजा प्रकाशन गर्दा राष्ट्रिय परीक्षा बोर्डले गम्भीर लापरबाही गरेको भन्दै विद्यार्थीहरू आन्दोलित बनेका छन् । ५ असारमा प्रकाशित नतिजामा प्राविधिक त्रुटि भएको भन्दै विद्यार्थीले बिहीबार माइतीघर मण्डलामा प्रदर्शन गरे ।
यसपटक विगतमा भन्दा छिटो नतिजा प्रकाशन गर्दा त्रुटि भएको विद्यार्थीको आरोप छ । ‘मलाई अंग्रेजी विषय लागेको छ, तर परीक्षा राम्रो नै भएको थियो, एउटा विषय बिग्रिएपछि रिटोटलिङका लागि एक हजार तिरेर फाराम भरेँ, तर अझै नतिजा सच्चिएन,’ बिहीबार माइतीघरमा भेटिएका भक्तपुर सूर्यविनायकका उत्तम काफ्लेले भने, ‘सरकारको त्रुटिले हाम्रो भविष्य अन्धकार बनाउन पाइँदैन । परीक्षामा राम्ररी नै लेखेको हो, घरमा पुगेर जाँच्दा पनि उत्तर बिग्रिएको थिएन, तर नतिजामा बिग्रियो, यो लापरबाही हो ।’ विद्यार्थीले बोर्डको लापरबाहीले आफूहरूको भविष्य अन्योल बनेको भन्दै प्राविधिक त्रुटि सच्याउन र एकपटक फेरि उत्तरपुस्तिका रुजु गर्न माग गरेका छन् ।
अर्का विद्यार्थी उषा रानाले पनि आफूले राम्रो गर्दागर्दै बोर्डको लापरबाहीले नतिजा बिग्रिएको सुनाइन् । ‘अहिले यहाँ आउनुपर्ने अवस्था परीक्षा बोर्डको लापरबाहीले हो, मलाई सामाजिक विषय लागेको छ, तर त्यो विषय लाग्छ भनेर चिताएकी थिइनँ, नतिजा सच्याउन रिटोटलिङमा फाराम भरेको छु, त्यसको रुजु कहिले हुने हो थाहा छैन,’ उनले भनिन्, ‘बोर्डले गल्ती गर्ने अनि हामीले दुःख पाउनु त राम्रो होइन, बोर्डलाई कारबाही हुनुपर्छ ।’
नतिजाकै विरोधमा केही विद्यार्थी सानोठिमीस्थित राष्ट्रिय परीक्षा बोर्डको कार्यालयमा धर्ना दिन पुगेका थिए । विद्यार्थीले नतिजामा आपत्ति जनाएपछि उनीहरूलाई बोर्डले रिटोटलिङका लागि फाराम भर्न भनेको थियो । केही विद्यार्थी फाराम भरेर फर्किएका थिए । बोर्डका कक्षा ११ र १२ का परीक्षा नियन्त्रक कृष्ण शर्माले शुक्रबारसम्म रिटोटलिङका लागि समय रहेकाले त्रुटि भए सच्याउन सकिने बताए । ‘विद्यार्थी विरोध गर्दै कोही हामीकहाँ आउनुभयो, कोही सडकमा जानुभयो, तर परीक्षामा त्रुटि भएमा रिटोटलिङ तथा सच्याउन माग गर्ने समय छ,’ उनले भने, ‘विद्यार्थीले भनेजस्तो प्राविधिक त्रुटि भएको होइन, विगतमा जस्तो केहीको कपीमा त्यस्तो समस्या हुन सक्छ, तर नतिजामा बढी त्रुटि भयो भन्ने हुँदैन ।’ उनका अनुसार रिटोटलिङका लागि आवेदन दिएका विद्यार्थीको नतिजा हेर्दा अति कम मात्रैको नतिजा सच्चिने सम्भावना हुन्छ ।
४० दिनमै कक्षा १२ को नतिजा
यसपटक कक्षा १२ को परीक्षा सकिएको ४० दिनमै नतिजा प्रकाशन भएको थियो । नतिजाअनुसार यसपटक नियमिततर्फ तीन लाख ३२ हजार २४१ मध्ये दुई लाख ३१ हजार ७७० ग्रेडेड (६९.७५ प्रतिशत) उत्तीर्ण भएका थिए । सबैतर्फका गरेर यसपटक एक लाख ४७१ अनुत्तीर्ण भएका थिए । तर, विद्यार्थी अनुत्तीर्ण हुनुसँग आफ्नो त्रुटि नरहेको बोर्डको दाबी छ । यसपटक नतिजा सच्याउन माग गर्दै बिहीबार साँझसम्म बोर्डमा २५ हजारले आवेदन दिएका छन् । गत वर्ष ४० हजारले नतिजा सच्याउन माग गर्दै आवेदन दिएका थिए । विगतमा भन्दा यसपटक परीक्षा र नतिजा प्रकाशन प्रक्रियामा कुनै त्रुटि नभएको भन्दै बोर्डले विद्यार्थीले विरोध गर्नु अनावश्यक रहेको जनाएको छ ।
नतिजा बिग्रिएको भन्दै भक्तपुरस्थित ख्वपः स्कुल र काठमाडौंमा रहेको ग्लोबल स्कुलका विद्यार्थी बोर्डमा पुगेका थिए । उनीहरूले राम्रो लेखेर पनि बोर्डको लापरबाहीले आफूहरूले नतिजा बिग्रिएको भन्दै लिखित निवेदनसमेत दिएका थिए । उनीहरूले रिटोटलिङका लागि पनि निवेदन दिएका छन् । बोर्डले यसपटक आगामी २ साउनदेखि पूरक परीक्षाको तालिकासमेत तोकेको छ ।
२५ हजारको नतिजा हेर्न ४४ लाख कापी खोतल्दै बोर्ड
परीक्षा सकिएपछि देशैभरबाट उत्तरपुस्तिका बोर्डमै ल्याउने गरिन्छ । यहाँ ल्याएपछि परीक्षण सकेर स्टोरमा राखिन्छ । नतिजाको सबै प्रक्रिया सकिएपछि मात्रै कापी नष्ट गरिन्छ । हाल बोर्डमा २५ हजार विद्यार्थीले रिटोटलिङका लागि निवेदन दिएका छन् । उक्त नतिजा हेर्न निकै झन्झट र समय लाग्ने बोर्डका परीक्षा नियन्त्रक शर्माको भनाइ छ । उनका अनुसार नतिजा सच्याउन माग गरिएका निवेदन २५ हजार छन् । ती सबैको नतिजा हेर्न ४४ लाख कापी हेर्नुपर्छ । रिटोटलिङको नतिजा प्रकाशन गर्दा विद्यार्थीको कापीदेखि लेजर र अद्यावधिक तथ्यांकसमेत हेरिन्छ । विषयगत विज्ञ शिक्षकलाई राखेर गल्ती भएको छ वा छैन रुजु गरिन्छ ।
नतिजा त्रुटि अध्ययन गर्न समिति गठन
विद्यार्थीले नतिजा प्रकाशनमा त्रुटि भएको जनाएपछि शिक्षा तथा खेलकुद मन्त्रालयले अध्ययन गर्न समिति गठन गरेको छ । समितिले विद्यार्थीले राखेको मागअनुसार नतिजा रुजु गर्नेछ । समितिमा शिक्षा मन्त्रालय, परीक्षा बोर्ड र पाठ्यक्रम विकास केन्द्रका प्रतिनिधि छन् । शिक्षामन्त्री सस्मित पोखरेलले नतिजा रुजुका लागि समिति गठन गरिएको र नतिजा समयमै प्रकाशन गर्न कुनै हतार नगरिएको बताए । ‘शिक्षा तथा खेलकुद मन्त्रालयका उपसचिव र पाठ्यक्रम विकास केन्द्रका उपसचिवको समेत प्रतिनिधित्व रहने गरी उत्तरपुस्तिकाको स्याम्पलिङ परीक्षण तथा डेटा इन्ट्रीको रुजु गर्न समिति गठन गरिएको छ,’ उनले भने ।