कुखुराको मासु बिक्रीमा रोक लगाउने योजना

बिहिबार, ११ असार, २०८३
डिजिटल संस्करण

गत ४ चैतमा झापाबाट फैलन थालेको बर्डफ्लु यतिवेला काठमाडौं उपत्यकामा केन्द्रित भएको छ । देशभरका ११ जिल्लामा फैलिएको यो रोग अन्यत्र पूर्ण रूपले नियन्त्रणमा आइसकेको छ । तर, काठमाडौं, भक्तपुर र ललितपुरमा भने तीव्र रूपले फैलिएको छ । असारमा पनौती र पाँचखालमा देखिएको संक्रमण नियन्त्रण गरेयता काभ्रेमा थप स्थानमा बर्डफ्लु देखिएको छैन ।

अहिले उपत्यकामा लोकल र लेयर्स कुखुरामा मात्रै संक्रमण देखिएकाले स्थिति नियन्त्रणमै रहेको विभागका अधिकारीको भनाइ छ । तर, बोइलर कुखुरामा सर्यो भने नियन्त्रण गर्न नसकिने भएकाले अहिलेको संक्रमण दर एक सातासम्म निरन्तर रहेको खण्डमा भने कुखुराको मासु बिक्रीमै रोक लगाउनेबारे छलफल थालिएको विभागका वरिष्ठ पशु चिकित्सक उपाध्यायले बताए । ‘लोकल र लेयर्स कुखुरामा मात्रै संक्रमण भएकाले अहिले हल्लाखल्ला कम छ,’ उनले भने, ‘यही वेला नियन्त्रण गर्न सकियो भने पूर्ण रूपले निर्मूल पार्न सकिन्छ भन्ने हाम्रो बुझाइ छ ।’

लोकल कुखुराको संख्या थोरै भएको र लेयर्स कुखुराले पार्ने अन्डा नष्ट गर्ने काम भइरहेको विभागले जनाएको छ । तर, बोइलरमा सर्यो भने ठुलो मात्रामा कुखुरा नष्ट गर्नुपर्ने र रोग पनि छिटो फैलन सक्ने जोखिम हुने हुन्छ ।

विभागले बुधबार दिउँसो लेयर्स, ह्याचरी र बोइलर कुखुरा उत्पादक किसानहरूसँग छलफलसमेत गरेको छ । सो छलफलमा रोग नियन्त्रणका लागि कुखुराको खरिद–बिक्रीमा रोक लगाउनुपर्ने अवस्था आए सहयोग गर्न आग्रह गरेको उपाध्यायले बताए । छलफलमा सहभागी ह्याचरी उद्योग संघका वरिष्ठ उपाध्यक्ष डा. बलराम किसीले संक्रमण नियन्त्रण गर्न र क्षतिपूर्ति दिने व्यवस्था किसानमैत्री बनाउन सुझाव दिएको बताए ।

पशु चिकित्सक उपाध्यायले संक्रमण फैलिएर मानिसमा सर्न नदिन पनि उपत्यकामा मासुको कारोबार रोक्का गर्नुपर्ने बताए । ‘संक्रमण धेरै बढ्यो भने मानिसमा पनि सर्न सक्छ । त्यसैले मानिसमा सर्न नदिनका लागि पनि कारोबार रोक्का गर्नुपर्ने स्थिति हुन्छ,’ उनले भने, ‘किनभने सबै कुखुरा नष्ट गर्ने कुरा सम्भव हुँदैन । तर, कारोबार नै रोकियो भने त नियन्त्रण गर्न सघाउ पुग्छ नि ।’

सुझावित समाचार