पदाधिकारीको मतदान नगरी नफर्किन तोसिमा कार्कीको आग्रह

बिहिबार, ११ असार, २०८३
डिजिटल संस्करण

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की नेतृ तोसिमा कार्कीले महाधिवेशन प्रतिनिधिहरूलाई पदाधिकारी चयनका लागि हुने दोस्रो चरणको मतदानमा अनिवार्य रूपमा सहभागी हुन आग्रह गरेकी छिन्।

रास्वपाको महाधिवेशनअन्तर्गत पहिलो चरणमा केन्द्रीय सदस्य चयनका लागि मतदान जारी रहेको छ। त्यसपछि पदाधिकारीहरूको निर्वाचन प्रक्रिया सञ्चालन हुने कार्यक्रम रहेको छ।

सामाजिक सञ्जालमार्फत कार्कीले केही प्रतिनिधिहरूमा दोस्रो चरणको मतदानबारे पर्याप्त जानकारी नपुगेकोजस्तो देखिएको बताइन्। सूचना केन्द्रबाट प्रदेश, जिल्ला हुँदै पालिकासम्म पुग्ने क्रममा कतै कमजोरी भएको हुन सक्ने उनको भनाइ छ।

उनले पदाधिकारी चयनका लागि पनि महाधिवेशन प्रतिनिधिहरूले नै मतदान गर्नुपर्ने भएकाले सबै प्रतिनिधिलाई दुवै चरणको निर्वाचन प्रक्रियामा सहभागी हुन आग्रह गरिन्।

‘पहिलो चरणमा केन्द्रीय सदस्य चयन हुन्छ र त्यसपछि पदाधिकारीका लागि मतदान हुन्छ। त्यसैले सबै प्रतिनिधिहरूले दुवै चरणको मतदानमा सहभागी हुनुपर्छ,’ कार्कीले उल्लेख गरेकी छिन्।

उनका अनुसार पहिलो चरणको मतदान इलेक्ट्रोनिक प्रणालीमार्फत भइरहेको छ र मतदान सकिएपछि छोटो समयमै मतगणना सम्पन्न हुनेछ। त्यसपछि पदाधिकारीका उम्मेदवारहरूले आफ्नो दाबी प्रस्तुत गर्ने र दोस्रो चरणको निर्वाचन प्रक्रिया अघि बढ्नेछ।

कार्कीले प्रतिनिधिहरूलाई धैर्य गर्न आग्रह गर्दै मतदान प्रक्रिया पूरा नगरी घर नफर्किन अनुरोध गरेकी छिन्। साथै, सूचना प्रवाहमा देखिएका कमजोरी सुधार गर्दै सबै प्रतिनिधिसम्म सही जानकारी पुर्याउन आवश्यक रहेको उनले बताइन्।

सुझावित समाचार