प्रभु बैंकको कर्जा हिनामिनामा पक्राउ परेका जानकी मेडिकल कलेजका सञ्जालक ओमप्रसाद (ओपी) पाण्डे जेल चलान भएका छन्। बैंकिङ कसुरको मुद्दामा उच्च अदालत, पाटनले बुधबार उनलाई पुर्पक्षका लागि थुनामा पठाएको हो।
न्यायाधीशहरू टंकप्रसाद गुरुङ र कविप्रसाद न्यौपानेको इजलासले थुनामा पठाउने आदेश दिएको हो।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो(सिआइबी)को अनुसन्धान प्रतिवेदनका आधारमा विशेष सरकारी वकिल कार्यालयले पाण्डेसहित १२ जनाविरुद्ध सोमबार बैंकिङ कसुर मुद्दा दायर गरेको थियो। पाण्डे पक्राउ परेकोमा अन्यलाई फरार प्रतिवादी बनाएर मुद्दा दायर गरिएको छ ।
राम जानकी हेल्थ फाउन्डेसनलाई दिइएको कर्जा दुरुपयोग भएको विषयमा मुद्दा दायर भएको हो। बैंकले सो कम्पनीलाई १६ करोड कर्जा दिएको थियो। सेल कम्पनी खडा गरी कर्जा दिइएको सिआइबीको दाबी छ।
बैंकका तत्कालीन सिइओ अशोक शेरचनसहित मणिराम पोखरेल, रिवश श्रेष्ठ, रश्मी पन्तलाई प्रतिवादी बनाइएको छ। त्यस्तै, राम जानकी हेल्थ फाउन्डेसनका अध्यक्ष ओमप्रसाद पाण्डे(ओपी) सहित रिभान लामा, धनबहादुर शेरचन, महावीर तामाङ, देवान राई, सुरेशकुमार तिवारी र हरिकृष्ण भट्टचनलाई पनि प्रतिवादी बनाइएको छ।
प्रभु बैंकको कर्जा हिनामिनामा मंगलबार थप दुईवटा बैंकिङ कसुरको मुद्दा पनि उच्च अदालत पाटनमा दर्ता भइसकेको छ। बैंकको कर्जा हिनामिनामा सिआइबीले करिब ८ महिना लामो अनुसन्धान गरेर मुद्दा दायर गरेको हो।