चीनले बनाएको डिपिआरअनुसार माछापोखरी चोकमा करिब सात सय मिटर लामो फ्लाई ओभर निर्माण हुने भएकाे छ। चक्रपथको पश्चिम दिशाबाट माछापोखरी चोक हुँदै त्रिशूली (उत्तर)तर्फ आवतजावत गर्ने सवारीसाधनका लागि फ्लाई ओभर निर्माण गरिनेछ ।
अहिले ग्वार्कोमा भनिने गरिएको फ्लाई ओभर प्राविधिक रूपमा ‘ओभर पास’ हो, जहाँ माटोलगायतका पदार्थबाट जमिनमाथि उठाएर पुल बनाइएको छ। तर, माछापोखरी चोकमा भने पिल्लर नै उठाएर फ्लाई ओभर निर्माण गरिनेछ । यस्तै, दोस्र्रो खण्डमा चारवटा यात्रु हिँड्ने आकासेपुल बन्नेछन् । यसैगरी, विभिन्न ठाउँमा अन्डरपास तथा ओभर पाससमेत बनाउने गरी चीनले डिपिआर तयार गरेको छ । चीनको आर्थिक तथा प्राविधिक सहयोगमा बन्ने यो परियोजना सात वर्षदेखि अलपत्र थियो ।
पछिल्लोपटक ६ भदौ ०८१ मा ८.२ किलोमिटर लामो उक्त सडकखण्ड विस्तार गर्न चीन र नेपालबिच अनुदान सम्झौता भएको थियो । त्यसपछि चीनको सिसिसिसी फर्स्ट हाइवे कन्सल्ट्यान्ट्स कम्पनी लिमिटेडले परियोजनाको डिपिआर बनाउने प्रक्रिया अघि बढाएको थियो । त्यसपछि गत १६ वैशाखमा द्विपक्षीय कार्यान्वयन सम्झौता भएको थियो । अब डिपिआरले अन्तिम रूप पाएपछि चीनले ठेकेदार कम्पनी छनोट गरेर काममा परिचालन गर्नेछ । त्यसको चार वर्षमा काम सकिने अनुमान छ ।
चीनकै अनुदानमा सन् १९७७ मा २७ किलोमिटर लामो चक्रपथ निर्माण गरिएको थियो । त्यसलाई चीनकै अनुदानमा विस्तार गर्ने गरी पहिले नै द्विपक्षीय सम्झौता भएको थियो । सोहीअनुसार चीनले पहिलो चरणमा चक्रपथको कोटेश्वर–सातदोबाटो–एकान्तकुना–कलंकी खण्डको विस्तार गर्ने काम ०७५ मै सम्पन्न गरिसकेको छ । त्यसलगत्तै दोस्रो खण्ड विस्तार गर्ने गरी २०७५ मै नेपाल र चीनबिच सम्झौता भएको थियो । त्यसको निर्माण सुरु गर्न ढिलाइ भएको थियो । सम्झौता भएको सात वर्षपछि निर्माण सुरु हुने संकेत देखिएको छ ।
दोस्रो चरणमा कलंकी–धोबीखोला खण्ड (११.६ किलोमिटर)लाई विस्तार गर्ने भनिएको थियो । तर, नारायण गोपाल चोकदेखि धोबीखोलासम्म साइट क्लियरेन्स हुन नसकेपछि चीनले कलंकी–वसुन्धारा खण्ड (८.२ किलोमिटर) मात्रै विस्तार गरिँदै छ । दोस्रो खण्डको चौडाइ ६२ मिटर हुनेछ । त्यसमा बिचका ३७.५ मिटरमा मुख्य संरचना बन्नेछन् ।
बिचमा तीन मिटरको सेन्टर मिडियन (बिचमा खाली ठाउँ) राखिनेछ । सोही मिडियनको दायाँ–बायाँ चार–चार लेनको मुख्य सडक बनाइनेछ। एउटा लेनको चौडाइ ३.५ मिटरको दरमा दुवैतर्फ १४–१४ मिटरको सडक हुनेछ । लेन र डिभाइडर छुट्याउँदा–छुट्याउँदै दुवैतर्फ थप ०.५–०.५ मिटर खण्ड प्रयोग हुनेछ । यसैगरी, दुवैतर्फ २.७५–२.७५ मिटरको फुटपाथ बनाइनेछ ।
फुटपाथपछि दायाँ–बायाँ १.१५–१.१५ मिटरको ग्रिन बेल्ट (हरियाली क्षेत्र) बनाइनेछ । हरियाली क्षेत्रपछि दुवै साइटमा ६–६ मिटरको सर्भिस लेन बनाइनेछ । सर्भिस लेनपछि दुवै साइटमा थप ५–५ फिटको फुटपाथ बनाइनेछ ।