झन्डै ३९ लाखबराबरका औषधिजन्य सामग्री तथा पाडापाडीसहित विभिन्न अवैध सामानहरू प्रहरीको नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार जिप्रकाबाट खटिएको प्रहरी टोलीले आज जिल्लाका विभिन्न स्थानहरूमा चेकजाँच गर्ने क्रममा अवैध रूपमा भन्सार छली चोरी पैठारी गरेको अन्दाजी मूल्य ३८ लाख ६८ हजार ५० रुपैयाँबराबरको सामानहरू बरामद गरेको हो ।
जिप्रकाका सूचना अधिकारीसमेत रहेका प्रहरी नायब उपरीक्षक कृष्णकुमार चन्दका अनुसार बरामद सामानहरू आवश्यक कारबाहीको लागि भैरहवा भन्सार कार्यालय बेलहिया रुपन्देहीमा पठाइएको छ। मायादेवी गाउँपालिका– ६ स्थित नैकट्टीबाट अन्दाजी मूल्य ३० लाख ९७ हजार २४० रुपैयाँबराबरको लु.३३ प ४७७, लु.३०प ९४४८ नम्बरको मोटरसाइकलसहित विभिन्न किसिमका औषधिजन्य सामानहरू बरामद गरिएको छ ।
त्यस्तै, सिद्धार्थनगर नगरपालिका– १, बेलहिया बसपार्कबाट एक लाख ३६ हजार सात सयबराबरको बेल्ट, फ्रिजको कम्प्रेसर, एसीको आउटडोर मोटर, साडी र जुत्ता बरामद भएको छ । त्यस्तै, लुम्बिनी सांस्कृतिक नगरपालिका– १३ ओडबलियाबाट पाँच लाख ३० हजारबराबरको २७ वटा पाडापाडी बरामद भएको प्रहरीले जनाएको छ । त्यस्तै, अन्य स्थानबाट पनि विभिन्न सामान बरामद गरेको प्रहरीले जनाएको छ ।