कस्ता नेता खोज्छन् निराश जनता ?

बुधबार, १० असार, २०८३
डिजिटल संस्करण
  • समाजमा असन्तोष र निराशा चरम विन्दुमा पुगेपछि राजनीतिमा ‘उग्र’ र ‘करिस्म्याटिक’ नेता उदाउने यथार्थ इतिहासले पटकपटक पुष्टि गरेको छ

विश्व राजनीतिमा पछिल्ला वर्षमा राजनीतिक नेतृत्व छनोटको प्रकृतिमा एक प्रकारको परिवर्तन देखिएको छ । पहिले असामान्य, नाटकीय वा अनिश्चित ठानिएका नेता आज विभिन्न देशमा विजयी बन्दै परम्परागत राजनीतिक मान्यतालाई चुनौती दिइरहेका छन् । यद्यपि, यस्तो नेतृत्व आकस्मिक देखिए पनि यसको जरो जनअसन्तुष्टि, कमजोर आर्थिक अवस्था र बदलिँदो राजनीतिक संस्कृतिमा निहित छ ।

राजनीतिक इतिहासका निर्णायक मोडमा युवाको भूमिका महत्वपूर्ण रहँदै आएको छ । युवामा नयाँ सोच, जोखिम लिन सक्ने क्षमता र स्थापित संरचनालाई चुनौती दिने साहस हुन्छ । जब उनीहरूले बेरोजगारी, असमानता, भ्रष्टाचार र कुशासनको कठोर यथार्थ भोग्छन्, उनीहरूमा निराशा र आक्रोश विकसित हुन्छ । त्यसैले, उनीहरू परम्परागत मन्दगतिको राजनीतिभन्दा छिटो र ठोस समाधान दिने नेतृत्वतर्फ आकर्षित हुन्छन् । उनीहरूको निराशा देशको संरचनात्मक असमानता, अवसरको अभाव र नेतृत्वको अक्षमतासँग जोडिएको हुन्छ । अन्ततः सञ्चित असन्तोष आक्रोशमा रूपान्तरण हुन्छ र परिवर्तनको वाचा गर्ने वैकल्पिक नेतृत्वप्रति आकर्षण स्वाभाविक रूपमा बढ्छ ।

मनोविज्ञान र सिद्धान्त : जनताले आफ्नो भविष्यप्रति अनिश्चितता र असुरक्षा अनुभव गर्न थाले भने उनीहरू अन्य विकल्प खोज्न थाल्छन् । कहिलेकाहीँ जोखिमपूर्ण निर्णय लिन तयार हुन्छन् । अमेरिकन मनोवैज्ञानिक जोन डलार्ड र निल मिलरको ‘फ्रस्ट्रेसन–एग्रेसन’ सिद्धान्तअनुसार जब अपेक्षा र यथार्थबिच ठुलो अन्तर हुन्छ, तब निराशा उत्पन्न हुन्छ र यही निराशा अन्ततः आक्रोशमा रूपान्तरण हुन्छ । लियोनार्ड बर्कोविट्जले यसलाई परिमार्जन गर्दै ‘कग्निटिभ नियोएसोसिएसन’ सिद्धान्तमा भन्छन्– निराशा सीधै आक्रामकतामा परिणत हुँदैन, यसले पहिले क्रोध उत्पन्न गराउँछ र त्यसपछि मात्र आक्रामक व्यवहार देखा पर्छ । नकारात्मक अनुभवले आक्रोशसँग सम्बन्धित विचार स्वतः सक्रिय गराउँछन् ।

टेड रोबर्ट गारको ‘रिलेटिभ डेप्रिभेसन’ सिद्धान्तअनुसार असन्तुष्टि केवल अभाव वा गरिबी मात्र होइन, अपेक्षा र प्राप्तिबिचको अन्तरबाट उत्पन्न हुन्छ । जब राजनीतिक दलहरूले ठुला सपना देखाएर जनतामा अपेक्षा जगाउँछन् । तर, सत्ता पाएपछि आफ्ना वाचा पूरा गर्न असफल हुन्छन्, तब अपेक्षा र प्राप्तिबिच ठुलो खाडल सिर्जना हुन्छ । यसले जनतामा ठगिएको अनुभूति र गहिरो निराशा जन्माउँछ, जुन क्रमशः आक्रोशमा बदलिन्छ । यही आक्रोशले विद्रोही र उग्र राजनीतिक प्रवृत्तिलाई जन्म दिन्छ । विशेषतः युवाहरू अपेक्षा र वास्तविकताबिचको दूरी घटाउने प्रतिबद्धता गर्ने वैकल्पिक नेतृत्वतर्फ आकर्षित हुन्छन् ।

सिग्मन्ड फ्रायडको मनोविश्लेषणमा यो प्रक्रियालाई ‘रिप्रेस्ड डिजायर’सँग जोड्न सकिन्छ । मान्छेका असन्तुष्टि र अपूरा इच्छाहरू चेतनाको तहभन्दा तल दबिएर बस्छन्, तर पूर्ण रूपमा हराउँदैनन् । यी रिप्रेस्ड डिजायर अर्थात् दमित चाहनाले बाहिर निस्कने बाटो खोजिरहेका हुन्छन् । उपयुक्त अवसर पाउँदा यी दमित चाहना उनीहरूको व्यवहार, प्रतिक्रिया वा सामाजिक, राजनीतिक आक्रोशका रूपमा प्रकट हुन्छन् । त्यसैले, निराश जनताले उग्र र विद्रोही नेतृत्व रोज्नु केवल भावनात्मक अभिव्यक्ति होइन, बरु सामाजिक, आर्थिक र मनोवैज्ञानिक यथार्थसँग गहिरो रूपमा जोडिएको विश्लेषण हो । आर्थिक, राजनीतिक र सामाजिक निराशाको संयोजनले युवालाई उग्र, नयाँ र ‘आउटसाइडर’ नेतृत्वप्रति आकर्षित बनाउँछ ।

अर्जेन्टिनाको मिलेई मोडल र विश्व प्रवृत्ति : सन् २०२३ मा अर्जेन्टिनाको राजनीतिमा नामै नसुनिएका युवा नेता जाभियर मिलेई देशका दुई प्रमुख राजनीतिक दललाई पराजित गर्दै कुल मतमा ५५ प्रतिशत मत प्राप्त गरी राष्ट्रपति निर्वाचित भए । २९ वर्षमुनिका सबैजसो युवाले उनलाई मतदान गरेका थिए । जिंग्रिंग कपाल, भद्दा ड्रेस, सन्काहा शैली र विवादास्पद अभिव्यक्तिबाट उनी युवाबिच परिचित थिए । मूलधार सञ्चार माध्यमले उनलाई ‘म्याड म्यान’ भने पनि उनी आफूलाई ‘अराजक पुँजीवादी’ भन्थे । उनी परम्परागत राजनीतिका विरोधी उम्मेदवार थिए ।

जब मिलेई राष्ट्रपति दौडमा प्रवेश गरे, त्यतिवेला अर्जेन्टिना बेरोजगारी, महँगी, तीव्र मुद्रास्फीति, मुद्रा अस्थिरता र व्यापक जनअसन्तोषसँग जुधिरहेको थियो । विश्वकै उच्च मुद्रास्फीति (१३८%), २०१७ मा २५% रहेको गरिबी २०२३ मा ४०% पुगेको, २०१२ देखि लगातार आर्थिक मन्दी भएको वेला जनतामा निराशा र आक्रोश चुलिएको थियो । परम्परागत राजनीतिक दल दिगो आर्थिक समाधान दिन असफल भएका थिए । निराश जनता कट्टर वैकल्पिक नयाँ नेताको खोजीमा थिए । त्यही वेला मिलेई वैकल्पिक नयाँ नेताका रूपमा उदाए । उनको नाटकीय चुनावी अभियान, सम्झौताविहीन भाषण र आक्रामक शैलीले परम्परागत राजनीतिबाट असन्तुष्ट जनसमूहलाई आकर्षित गर्यो । उनले आफूलाई भ्रष्ट राजनीतिक संरचना भत्काउने नेताका रूपमा प्रस्तुत गरे । अर्थतन्त्रलाई डलराइज गर्ने, केन्द्रीय बैंक खारेज गर्ने, सरकारी खर्च घटाउने, महँगी नियन्त्रण गर्ने, अनावश्यक मन्त्रालय खारेज गर्नेजस्ता उनका प्रस्ताव केवल नीतिगत सुझाव मात्र नभई राज्यको भूमिकालाई पुनः परिभाषित गर्ने वैचारिक अभिव्यक्ति पनि थिए । यस अर्थमा उनको विजय केवल व्यक्तिगत उपलब्धि नभई आर्थिक क्रोधको सामूहिक अभिव्यक्ति थियो ।

मिलेईको उदय केवल एक पृथक् घटना होइन, यो त अमेरिकाका डोनाल्ड ट्रम्प, ब्राजिलका बोल्सोनारो, टर्कीका एर्डोगन, भेनेजुयलाका ह्युगो चाभेज, फिलिपिन्सका रोड्रिगो डुतेर्ते, युक्रेनका भ्लोदिमिर जेलेन्स्कीजस्ता नेताको उदयलाई समेट्ने एक व्यापक विश्वव्यापी प्रवृत्तिको हिस्सा हो । यी सबै नेता फरक–फरक राष्ट्रिय सन्दर्भबाट उदाएका भए पनि उनीहरूको उदयका कारण मतदातामा मनोवैज्ञानिक असन्तोष, आर्थिक संकट, संस्थागत अविश्वास, पपुलिस्ट उग्र नारा र पछि सामाजिक सञ्जालको प्रचुर चुनावी प्रयोगजस्ता आधार देखिन्छन् । इतिहासले देखाएको छ कि जब समाजमा असन्तोष र निराशा चरम बिन्दुमा पुग्छ, तब राजनीतिमा उग्र र ‘करिस्म्याटिक’ नेताहरू उदाउँछन् । निराश जनता समाधान र परिवर्तनको वाचा गर्ने कठोर नेतातर्फ आकर्षित हुन्छन् । जर्मनीमा हिटलर र इटलीमा मुसोलिनीको उदय यस सन्दर्भमा सबैभन्दा चर्चित उदाहरण हुन् ।

आशा, निराशा र आक्रोश, नेपाल सन्दर्भ : नेपालको राजनीतिक इतिहास पनि निराशा र आशाको द्वन्द्वले भरिएको छ । ०४६ को जनआन्दोलनबाट प्रजातन्त्रको र ०६२/६३ को आन्दोलनबाट गणतन्त्र स्थापना भए । व्यवस्थाका नाम परिवर्तन गरिए तर जनताको अवस्थामा परिवर्तन गर्न सकिएन । 

नेताका चुनावी भाषणमा देशले विकासको छलाङ मार्ने, देश सिंगापुर बन्ने, चुलाचुलामा ग्यास पाइपलाइन पुग्ने, पूर्व–पश्चिम रेलदेखि ट्रान्सहिमालयन रेल, ठाउँठाउँमा ट्रेन स्टेसन, काठमाडौंमा मेट्रो, शिक्षा र स्वास्थ्य निःशुल्क गर्ने, रोजगारी सिर्जना गर्ने, कीर्तिपुरको डाँडामा बसेर युवाले मासिक चार–पाँच लाख कमाउनेजस्ता ठुल्ठुला आश्वासन, सपना, स्वैरकल्पना बाँडियो, तर ती कागज र बोलीमा मात्र सीमित रहे । जनतामा अपेक्षा मात्र जगाइयो, परन्तु यथार्थमा केही पनि गरिएन । जनतामा अपेक्षा र यथार्थबिच ठुलो खाडल सिर्जना भयो । दलहरू गुटबन्दी, गठबन्धन राजनीति, सत्ताको भागबन्डा र आन्तरिक संघर्षमा व्यस्त रहे । पछिल्लो समयमा नीतिगत भ्रष्टाचारसमेत हुन थाल्यो, नेतृत्वले भ्रष्टाचारीलाई कारबाहीको सट्टा संरक्षण दिएको आरोप लाग्यो । यहाँसम्म कि न्यायालयसमेत दलीय छायामा पर्दै गए । दशकौँसम्म तिनै अनुहारको सत्तामा आलोपालो मेचघुमाइले जनतामा परिवर्तनको आशा क्रमशः निराशामा रूपान्तरित हुँदै गयो ।

डलार्ड/मिलर र रोबर्ट गारले भनेजस्तै अपेक्षा र यथार्थ प्राप्तिबिचको ठुलो अन्तरले जनतामा अत्यधिक निराशा उत्पन्न गरायो । निराशाले जनतामा आक्रोशको जन्म दियो । यही आक्रोशले परम्परागत दलप्रति घृणा बढायो । जनताको अपेक्षा र प्राप्तिबिचको खाडल पुर्ने वाचा गर्ने आक्रामक, कट्टर, विद्रोही नेता वा नयाँ दलप्रति आकर्षण बढ्न थाल्यो । राजनीतिक अस्थिरता, बेरोजगारी, भ्रष्टाचार, नेपो–बेबी संस्कृति, अवसरको असमानता, सुस्त विकास र युवा मसल/ब्रेनको वैदेशिक पलायन आदिले युवामा गहिरो निराशा सिर्जना गर्यो । यस निराशाले उनीहरूलाई परम्परागत दलभन्दा बाहिरका वैकल्पिक नेतृत्वतर्फ आकर्षित गरेको हो । रेमिट्यान्समा निर्भर अर्थतन्त्रले युवालाई ‘देशमा सम्भावना छैन’ भन्ने धारणा बलियो बनायो । देशभित्रै केही गर्न सकिन्छ भन्ने विश्वास कमजोर बनायो । 

यही पृष्ठभूमिमा युवाको मनोभाव बुझ्दै नयाँ राजनीतिक शक्ति उदाए । रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र काठमाडौंका मेयर बालेन्द्र शाहको उदय भयो । यी दुवैको नेतृत्व परम्परागत राजनीतिक संरचनाभन्दा बाहिरबाट आएका हुन् । उनीहरूले युवाको असन्तुष्टि र आक्रोशलाई संगठित गर्दै युवापुस्तामा ठुलो आशा र आकर्षण पैदा गराए । युवा नेता लामिछाने र शाहलाई परम्परागत शैली तोड्ने र भ्रष्टाचारविरोधी नेताका रूपमा हेरियो । उनीहरूले परिणाममुखी र परिवर्तनमुखी नेतृत्वको वाचा गरे । गत २१ फागुनको निर्वाचनमा रास्वपाले करिब दुईतिहाइ ऐतिहासिक जनमत प्राप्त गर्यो । यो परिणाम जनतामा सञ्चित निराशा र आक्रोशको प्रत्यक्ष अभिव्यक्ति हो ।

समापन : आक्रामक, विद्रोही वा उग्र नेतृत्वको उदय आकस्मिक होइन, यो सामाजिक, आर्थिक र राजनीतिक निराशा तथा अविश्वासको समष्टिगत परिणाम हो । जब परम्परागत शक्तिहरूले जनताको आवश्यकता र आकांक्षाअनुसार आफ्ना वाचा पूरा गर्न सक्दैनन्, तब अपेक्षा र यथार्थबिचको दूरी बढ्छ, र यही दूरीले जनतामा निराशा र आक्रोश जन्माउँछ ।

डिजिटल युगका युवा विश्वसँग प्रत्यक्ष रूपमा जोडिएका छन् र समान स्रोतसाधन भएका देशको प्रगति, सुशासन र रोजगारी सिर्जनासँग आफूलाई तुलना गर्छन् । तर, आफ्नै देशमा भ्रष्टाचार, स्रोतको दुरुपयोग, दलगत स्वार्थ र राजनीतिक अस्थिरता देख्दा उनीहरूमा गहिरो निराशा उत्पन्न हुन्छ, जुन क्रमशः आक्रोशमा रूपान्तरण हुन्छ । यही कारणले परम्परागत दलप्रतिको विश्वास कमजोर हुँदै उनीहरू वैकल्पिक, करिस्म्याटिक प्रायः उग्र ‘आउटसाइडर’ नेतृत्वतर्फ आकर्षित हुन्छन् । सैद्धान्तिक रूपमा फ्रस्ट्रेसन–एग्रेसन, रिलेटिभ डेप्रिभेसनजस्ता अवधारणाले यस प्रवृत्तिलाई स्पष्ट रूपमा व्याख्या गर्छन् । 

विश्वका विभिन्न देशमा देखिएको उग्र नेतृत्वको उदय पनि यही प्रक्रियाको परिणाम हो । नेपालमा पनि दशकौँदेखिको राजनीतिक अस्थिरता, भ्रष्टाचार, पुराना दलका दम्भ, दलगत स्वार्थ र अपूरा वाचाहरूले जनमानसमा गहिरो वितृष्णा सिर्जना गरेको छ । यही वितृष्णाले नयाँ र विद्रोही नेतृत्वप्रति आकर्षण बढाएको छ । तर, उग्र र आक्रामक नेतृत्वको लोकप्रियता दीर्घकालीन स्थायित्वको सुनिश्चितता होइन । दिगो समाधानका लागि भावनात्मक आवेगभन्दा स्पष्ट नीति, सुशासन, उत्तरदायित्व र संस्थागत सुदृढीकरण आवश्यक हुन्छ । अन्यथा, निराशा र आक्रोशको चक्र दोहोरिरहनेछ र राजनीति अस्थिरतामा फसिरहनेछ ।

(डा. चापागाईं त्रिविका प्राध्यापक र राजनीतिशास्त्रका अध्येता हुन्)
 

सुझावित समाचार