रास्वपाको प्रथम राष्ट्रिय महाधिवेशनको बन्दसत्र आजबाट, राजनीतिक तथा संगठनात्मक प्रतिवेदन प्रस्तुत गरिने

मंगलबार, ९ असार, २०८३
डिजिटल संस्करण

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को  प्रथम राष्ट्रिय महाधिवेशनअन्तर्गत आज बन्दसत्रका कार्यक्रमहरू सञ्चालन हुँदै छन्।  ७ गतेदेखि सुरु महाधिवेशन ९ गते सम्पन्न हुने भनिए पनि लम्बिने संकेत देखिएको छ। १० बजेदेखि प्रतिनिधि व्यवस्थापन उपसमितिका संयोजक लिमा अधिकारीको नेतृत्वमा दर्ता प्रक्रिया सञ्चालन  भइरहेको छ। 

दिउँसो २ बजे पार्टी सभापति रवि लामिछानेले बन्दसत्रको औपचारिक उद्घाटन गर्ने कार्यक्रम रहेको छ। त्यसपछि अनुशासन आयोगका सदस्य रमाकान्त रिमालले आयोगको प्रतिवेदन प्रस्तुत गर्नेछन् भने कोषाध्यक्ष लिमा अधिकारीले पार्टीको वित्तीय प्रतिवेदन प्रस्तुत गर्ने कार्यतालिका रहेको छ।

त्यसैगरी पार्टी महामन्त्री कवीन्द्र बुर्लाकोटीले संगठनात्मक प्रतिवेदन प्रस्तुत गर्नेछन्। केन्द्रीय समितिबाट पारित विधान संशोधन प्रस्ताव सहमहामन्त्री विपिनकुमार आचार्यले प्रस्तुत गरी अनुमोदनका लागि सभामा पेस गर्ने कार्यक्रम छ।

महाधिवेशनमा उपसभापति डा. स्वर्णिम वाग्लेले पार्टीको अर्थ–राजनीतिक प्रस्तावना प्रस्तुत गर्नेछन् भने सभापति रवि लामिछानेले राजनीतिक प्रतिवेदन प्रस्तुत गरी पार्टीको भावी कार्यदिशाबारे धारणा राख्नेछन्।

कार्यक्रमको अन्त्यतिर सभापति लामिछानेले अन्तरिम व्यवस्थापन समिति गठनको घोषणा गर्ने तथा आयोजक समितिले सम्पूर्ण जिम्मेवारी निर्वाचन आयोगलाई हस्तान्तरण गर्ने कार्यक्रम रहेको छ।

यसपछि निर्वाचन आयोगले निर्वाचन प्रक्रिया, कार्यतालिका तथा आगामी कार्यक्रमबारे जानकारी गराउने जनाइएको छ। निर्वाचनसम्बन्धी सम्पूर्ण प्रक्रिया आयोगले प्रकाशन गर्ने तालिकाअनुसार निरन्तर सञ्चालन हुने रास्वपाले जनाएको छ।

रास्वपाको प्रथम राष्ट्रिय महाधिवेशनलाई पार्टीको संगठन विस्तार, नीति निर्माण तथा नयाँ नेतृत्व चयनका दृष्टिले महत्त्वपूर्ण रूपमा हेरिएको छ।

सुझावित समाचार