पौडेल गिरफ्तारीपछि अध्यक्ष ओलीले विज्ञप्ति जारी गर्दै भने– राजनीतिक प्रतिशोधको पराकाष्ठा, प्रतिवाद गर्छौँ

पौडेलको गैरकानुनी ढंगले अपहरणको शैलीमा गिरफ्तार भएको भन्दै अध्यक्ष ओलीले निन्दा र भर्त्सना गरेका छन्

मंगलबार, ९ असार, २०८३
डिजिटल संस्करण

उपाध्यक्ष विष्णु पौडेलको पक्राउ प्रतिशोधपूर्ण र राजनीतिक पूर्वाग्रहको निरन्तरता भएको भन्दै एमालेले यसको विरोध गर्दै प्रतिवाद गर्ने बताएको छ । सोमबार साँझ अध्यक्ष केपी ओलीद्वारा जारी प्रेस वक्तव्यमा सरकारले कानुनी प्रक्रिया र विधिको शासनको समेत अवहेलना गर्दै अधिनायकवादी शैलीमा कदम चालेको आरोप लगाइएको छ ।

एमालेले सार्वजनिक पदमा रहेका र कानुनको सम्मान गर्ने व्यक्तिलाई ‘सस्तो राजनीतिक स्टन्ट’का लागि नियतवश पक्राउ गरिएको दाबी गरेको छ । ‘विधिको शासन र सामान्य कानुनी प्रक्रियाको समेत धज्जी उडाउँदै, जुनसुकै वेला सोधपुछ गर्न सकिने वा उहाँकै उपस्थितिमा प्रक्रिया अगाडि बढाउन सकिने हुँदाहुँदै गिरफ्तार गरिएको छ । सार्वजनिक पद धारण गरेका र कानुनलाई सधैँ सम्मान गर्ने राजनीतिक व्यक्तिलाई केवल सस्तो स्टन्ट र सस्तो राजनीतिक खपतका लागि नियतवश गिरफ्तार गरिएको छ । सत्ताको उन्मादमा गरिएको यस प्रकारको अधिनायकवादी कदमको हाम्रो पार्टी डटेर सामना गर्नेछ,’ ओलीले जारी गरेको विज्ञप्तिमा छ, ‘वर्तमान सरकार अलोकतान्त्रिक, सर्वसत्तावाद र अधिनायकवादको बाटोतर्फ उन्मुख छ । हामी सरकारलाई चेतावनी दिन चाहन्छौँ— विपक्षी दलका नेताहरूमाथि लक्षित यस्ता निकृष्ट र प्रतिशोधपूर्ण हर्कतहरू तत्काल बन्द गरियोस् ।’

पार्टीको सांगठनिक कार्यक्रमका सिलसिलामा सुर्खेतमा रहेका वेला पौडेलको गैरकानुनी ढंगले अपहरणको शैलीमा गिरफ्तार भएको भन्दै अध्यक्ष ओलीले निन्दा र भर्त्सना गरेका छन् । उनले यसका विरुद्ध सामूहिक प्रतिवाद गर्नसमेत विभिन्न पक्षसँग आह्वान गरेका छन् ।

‘एमाले सधैँ कानुनी राज्य, सुशासन र विधिको शासनको पक्षमा दृढतापूर्वक उभिँदै आएको छ । वर्तमान सत्तापक्षले विपक्षी दलहरूप्रति अख्तियार गरिरहेको अराजनीतिक, अलोकतान्त्रिक र नांगो प्रतिशोधको यो अर्को पराकाष्ठा हो । यो दमनकारी कदम र एमालेमाथि लगातार भइरहेका षड्यन्त्रविरुद्ध प्रहार र राजनीतिक पूर्वाग्रहको निरन्तरता हो भन्ने कुरा स्पष्ट छ,’ ओलीले भनेका छन्, ‘सरकारका यस्ता स्वेच्छाचारी र लोकतन्त्रविरोधी क्रियाकलापविरुद्ध सामूहिक प्रतिवाद गर्न हामी सम्पूर्ण देशभक्त, न्यायप्रेमी र लोकतान्त्रिक शक्तिहरूलाई एकजुट हुन हार्दिक आह्वान गर्दछौँ ।’

सुझावित समाचार