सुधार केन्द्र लैजान खोज्दा लागुपदार्थ सेवनकर्ताबाट आक्रमण, दुई प्रहरीसहित तीन घाइते

आइतबार, ७ असार, २०८३
डिजिटल संस्करण

विराटनगरमा एक लागुऔषध प्रयोगकर्ताले धारिलो हतियार प्रहार गर्दा दुई प्रहरीसहित तीनजना घाइते भएका छन्। विराटनगर– १ मा भाडाको घरमा बस्दै आएका २९ वर्षीय रुविण कार्कीले आइतबार दिउँसो आफूलाई सुधार केन्द्र लान खोजेको भन्दै धारिलो हतियार प्रहार गर्दा उद्धार गर्न पुगेका दुई प्रहरीसहित तीनजना घाइते भएका हुन्।

युवकको आक्रमणबाट प्रहरी सहायक निरीक्षक भोजराज रेग्मी, प्रहरी जवान हिमाल घिमिरे र सुधार गृहका कर्मचारी सन्तोष सापकोटा घाइते भएका छन्। टाउकोमा गहिरो चोट लागेका उनीहरूको नोबेल शिक्षण अस्पताल विराटनगरमा उपचार भइरहेको मोरङ प्रहरी प्रवक्ता डिएसपी मकेन्द्रकुमार मिश्रले बताए।

स्थानीयका अनुसार रामेछाप घर भएका कार्की आमासँगै लामो समयदेखि विराटनगर– १ मा भाडाको घरमा बस्दै आएका थिए। आफन्तको आग्रहमा आइतबार दिउँसो युवकलाई काठमाडौंस्थित सुधारगृह पठाउने तयारी थियो। त्यसको प्रतिवादमा कार्कीले उद्धार गर्न आएका प्रहरी र सुधार केन्द्रका कर्मचारीलाई खाटमुनि लुकाएर राखेको धारिलो हतियार प्रहार गरेका थिए।

उक्त घटनापछि उनलाई नियन्त्रणमा लिन प्रहरीलाई समेत सकस परेको थियो। ठुलो संख्यामा परिचालन भएको प्रहरीले निकै प्रयास गरेपछि मात्र अलग्गै भर्याङ प्रयोग गरेर झ्यालबाटभित्र छिरेर उनलाई आइतबार दिउँसो साढे ३ बजेतिर नियन्त्रणमा लिएको छ।

सुझावित समाचार