शनिबार १० बजेसम्मका प्रमुख १० खबर

शनिबार, ६ असार, २०८३
डिजिटल संस्करण

रास्वपाको निर्वाचन कार्यतालिका सार्वजनिक

राष्ट्रिय स्वतन्त्र पार्टीको आइतबारदेखि हुन लागेको पहिलो महाधिवेशनको निर्वाचन कार्यतालिका सार्वजनिक गरिएको छ। केन्द्रीय निर्वाचन आयोगले कार्यतालिका सार्वजनिक गरेको हो। 
कार्यतालिकाअनुसार महाधिवेशन प्रतिनिधिहरूको नामावली शनिबार बेलुका ८.३० मा नै सार्वजनिक हुनेछ। 

उम्मेदवारी मनोनयन सोमबार दिउँसो हुने र मंगलबार बिहानदेखि पहिला चरणको मतदान हुनेछ।

बर्ड फ्लु संक्रमण लुकाएको आरोपमा चिडियाखाना प्रमुख साहलाई जिम्मेवारीबाट हटाइयाे, छानबिन समिति गठन 

जावलाखेलमा रहेकाे सदर चिडियाखानामा बर्ड फ्लुका संक्रमण देखिएकाे विषय गुपचुप राखेको आरोपमा चिडियाखाना प्रमुख सत्यनारायण साह छानबिनमा तानिएका छन्।

राष्ट्रिय प्रकृति संरक्षण कोष (एनटिएनसी) को केन्द्रीय कार्यालयलाई समयमै जानकारी नगराई सूचना लुकाएको आरोपमा उनलाई जिम्मेवारीबाट तत्कालका लागि हटाइएको छ । कोषको अध्यक्षसमेत रहेकी कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीको निर्देशनमा कोषले साहलाई शुक्रबार चिडियाखाना प्रमुखको पदबाट हटाएर केन्द्रीय कार्यालयमा तानेको हो।

बालकुमारीमा गोली हानेर लागुऔषध कारोबारी पक्राउ

लागुऔषध कारोबार तथा आपूर्तिमा संलग्न गिरोहमाथि निगरानी गर्ने क्रममा लागुऔषध नियन्त्रण ब्युरो, कोटेश्वरको टोलीले खैरो हेरोइनसहित तीनजनालाई पक्राउ गरेको छ। ब्युरोका अनुसार शुक्रबार काठमाडौं महानगरपालिका–३२, बालकुमारी पुलमुनि भारतको बासमतियाबाट काठमाडौं उपत्यकासम्म खैरो हेरोइन ल्याएर बिक्री/वितरण गरिरहेको सूचनाका आधारमा प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिन खोजेको थियो। पक्राउ गर्न जाँदा आरोपीहरूले प्रहरीमाथि आक्रमण गर्दै भाग्ने प्रयास गरेपछि प्रहरीले चेतावनीस्वरूप दुई राउन्ड हवाई फायर गरेको जनाएको छ।

प्रहरीका अनुसार चेतावनीपछि पनि नरोकी भागिरहेका पर्सा पटेर्वा सुगौली गाउँपालिका–४ का ३९ वर्षीय किशोरप्रसाद ओझैयाको दाहिने खुट्टाको घुँडामुनि एक राउन्ड गोली प्रहार गरी नियन्त्रणमा लिइएको हो। गोली लागेर घाइते भएका ओझैयाको राष्ट्रिय ट्रमा सेन्टरमा उपचार भइरहेको छ।

रास्वपाले बनायाे महाधिवेशन निर्वाचन आचारसंहिता, प्यानल र गुटबन्दीमा पूर्ण रोक

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय निर्वाचन आयोगले पार्टीको राष्ट्रिय महाधिवेशन निर्वाचनलाई स्वच्छ, निष्पक्ष, भयरहित, पारदर्शी तथा मर्यादित बनाउन ‘राष्ट्रिय महाधिवेशन निर्वाचन आचारसंहिता, २०८३’ जारी गरेको छ। पार्टीको विधान, राष्ट्रिय महाधिवेशन कार्यविधि तथा निर्वाचन कार्यविधिले दिएको अधिकार प्रयोग गर्दै जारी गरिएको आचारसंहिताले उम्मेदवार, प्रतिनिधि तथा निर्वाचनसँग सम्बन्धित सबै पक्षलाई बाध्यकारी हुने जनाएको छ।

आचारसंहिताअनुसार उम्मेदवारी निर्वाचन आयोगबाट प्रमाणित भएपछि मात्र प्रचार–प्रसार गर्न पाइनेछ। निर्वाचनलाई पूर्ण रूपमा व्यक्तिगत प्रतिस्पर्धामा आधारित बनाइएको भन्दै कुनै पनि प्रकारको प्यानल, गठबन्धन, संयुक्त सूची वा गुटगत आधारमा प्रचार–प्रसार गर्न रोक लगाइएको छ।

राप्रपाको केन्द्रीय महाधिवेशन मंसिरमा हुने

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय महाधिवेशन आगामी २०८३ साल मंसिर २६, २७ र २८ गते काठमाडौंमा आयोजना हुने भएको छ।

असार ५ र ६ गते काठमाडौंमा बसेको पार्टीको केन्द्रीय कार्यसमितिको बैठकले महाधिवेशनको मिति तय गरेको हो। महाधिवेशनलाई सफल बनाउन पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनको अध्यक्षतामा मूल आयोजक समिति गठन गरिएको छ।

गुनासा सुन्न गृह मन्त्रालयले सुरु गर्यो कल सेन्टर

गृह मन्त्रालयले गुनासा सुन्न कल सेन्टर सुरु गरेकाे छ। मन्त्रालयले आफ्नो कार्यक्षेत्रसँग सम्बन्धित गुनासो, उजुरी तथा सुझाव संकलन गरी सेवा प्रवाहलाई थप प्रभावकारी, पारदर्शी र चुस्त बनाउन ‘हेलो गृह कल सेन्टर’ स्थापना गरेको हाे। 

मन्त्रालयका सहसचिव तथा प्रवक्ता आनन्द काफ्लेद्वारा जारी सूचनाअनुसार गुनासो व्यवस्थापन शाखाअन्तर्गत सञ्चालनमा ल्याइएको उक्त कल सेन्टरमार्फत नागरिकले गृह मन्त्रालयसँग सम्बन्धित विषयमा गुनासो, उजुरी तथा सुझाव पठाउन सक्नेछन्।

बालबालिका ऐन किन कार्यान्वयन नगरेको भन्दै कोशी प्रदेश सरकारलाई उच्च अदालतको कारण देखाउ आदेश

उच्च अदालत विराटनगरले कोशी प्रदेश सरकारलाई बालबालिका ऐन कार्यान्वनय  नभएको कारण देखाउन आदेश गरेको छ। अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) कोशी प्रदेश कार्यालयले प्रदेश बालबालिका ऐन कार्यान्वयन गराउन माग गर्दै दर्ता गराएको रिटमा  उच्च अदालत विराटनगरले शुक्रबार मुख्यमन्त्री तथा मन्त्रीपरिषको कार्यालयलाई कारण देखाउन आदेश गरेको हो ।  

१२ काे नतिजा प्रकाशनमा हतार गरिएको होइन, प्रक्रियागत सुधारले मात्रै छिटो आएको हो : शिक्षामन्त्री पोखरेल

शिक्षामन्त्री सस्मित पोखरेलले यस वर्षको कक्षा १२ को परीक्षाको नतिजा प्रकाशन प्रक्रियाबारे उठेका प्रश्नहरूको जवाफ दिँदै नतिजा छिटो प्रकाशित गर्नका लागि कुनै पनि आवश्यक प्रक्रिया नहटाइएको स्पष्ट पारेका छन्। शनिबार सामाजिक सञ्जालमार्फत मन्त्री पोखरेलले विगतमा उत्तरपुस्तिका परीक्षणपश्चात समपरीक्षणका लागि सबै सामग्री काठमाडौं ल्याउनुपर्ने व्यवस्था रहेकामा यस वर्ष सम्बन्धित स्थानमै समपरीक्षण गर्न सकिने व्यवस्था मिलाइएकाले समय बचत भएको बताए। यसले काठमाडौं ल्याउनुपर्ने बाध्यता हटेको उनको भनाइ छ।

कृषि उपजको उत्पादनमा सुधार नभएको महालेखाको निष्कर्ष

पछिल्लो एक दशकमा वितरण गरिएको झन्डै दुई खर्ब रुपैयाँ कृषि अनुदानको प्रभावकारिता, दुरुपयोग र वास्तविक पहुँचबारे सरकारले विस्तृत छानबिन सुरु गरेको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले आर्थिक वर्ष ०७२/७३ यता वितरण भएको एक खर्ब ९७ अर्ब ७३ करोड रुपैयाँ कृषि अनुदानको सूक्ष्म अध्ययन तथा अनुसन्धान गर्न पाँचसदस्यीय उच्चस्तरीय समिति गठन गरेको हो ।

१२ वर्ष महासचिव चलाएका विश्व अर्याल बने पेट्रोलियम डिलर्सको नयाँ अध्यक्ष

पेट्रोलपम्प व्यवसायीको छाता संस्था पेट्रोलियम डिलर्स राष्ट्रिय एसोसिएसनको अध्यक्षमा विश्व अर्याल निर्वाचित भएका छन्। शनिबार साँझ सम्पन्न निर्वाचनमा उनले हेटौँडाका पम्प व्यवसायी उत्सव इटेनीलाई पराजित गरी अध्यक्ष निर्वाचित भएका हुन्।

अर्यालले २४२ मत ल्याएर विजयी हुँदा इटेनीले ११३ मत ल्याए। अध्यक्ष निर्वाचित अर्याल यसअघिको कार्यसमितिमा महासचिव थिए। उनीसँग लगातार तीन कार्यालय गरेर १२ वर्ष महासचिवका रूपमा काम गरेको अनुभव छ।

सुझावित समाचार