प्रेस स्वतन्त्रता र नागरिक अधिकारको पक्षमा शुक्रबार काठमाडौंको माइतीघरमा र्याली भएको छ । नेपाल पत्रकार महासंघको आयोजना तथा शान्ति र लोकतन्त्रका लागि पेसागत सञ्जाल (पापड)को ऐक्यबद्धतामा भएको र्याली माइतीघरबाट बबरमहलसम्म पुगेको थियो ।
नागरिक अधिकार, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता तथा सूचनाको हकमा संकुचन भएको भन्दै आयोजित र्यालीमा विभिन्न पेसागत संघसंगठनको सहभागिता थियो । र्यालीमा नेपाल पत्रकार महासंघ, नेपाल बार एसोसिएसन, नेपाल चिकित्सक संघ, नेपाल प्राध्यापक संघ, नेपाल शिक्षक महासंघ तथा नेपाल इन्जिनियर्स एसोसिएसनलगायत पेसागत संस्थाका प्रतिनिधि थिए ।
सुशासनको नाममा संस्थागत सन्तुलन कमजोर बनाउने, न्यायपालिकाको स्वतन्त्रता र निष्पक्षतामा असर पार्ने, संसद्को प्रभावकारी भूमिकालाई खुम्च्याउने तथा जवाफदेहिताबाट पन्छिन खोज्ने प्रवृत्ति बढेको भन्दै पापडले गत बुधबार विज्ञप्ति जारी गरेको थियो ।