सजाय छल्न नाम नै परिवर्तन, १३ वर्षपछि कानुनको फन्दामा

शुक्रबार, ५ असार, २०८३
डिजिटल संस्करण

एउटा व्यक्तिले अपराध लुकाउन कतिसम्म गर्छ भन्ने प्रमाणको उदाहरण बनेका छन्, दमक– ८ का दिप्सन चौधरी। उनी अपराध लुकाउन भारतमा भासिएनन्, मात्रै आफ्नो नाम नै परिवर्तन गरे। १३ वर्षअघि एक व्यक्तिको हत्या गर्दा हत्यामा संलग्न ती व्यक्तिको नाम दिवस चौधरी थियो। पछि नाम नै परिवर्तन गरेर दिप्सन चौधरी बनाए। हत्यामा संलग्न हुँदा उनीसँग जन्मदर्तासमेत थिएन। नागरिकता बनाउने उमेर पुगेको थिएन।

दिप्सनसहित पाँचजनाले ०७० भदौमा मोरङ कटहरी घर भई साबिक दमक– १३ (हाल दमक– ८) मा बस्ने महमद अवासको हत्या गरेका थिए। ११ भदौ ०७० मा महमदमाथि दिप्सनसहितको समूहले गुन्डागर्दी गर्दै कुटपिट गर्याे। त्यसको १० दिनपछि अर्थात् २१ भदौ ०७० मा महमदको मृत्यु भयो। त्यसवेला दिवस चौधरीसहित पाँचजनाको नाममा इलाका प्रहरी कार्यालय दमकमा जाहेरी पर्याे। उनीबाहेक सबै पक्राउ परे। तर, उनी भने भागेर भारत पुगे। १० वर्ष भारतमै काम गरे। त्यसबिचमा उनी ०७३ मंसिरमा सुटुक्क नेपाल आए। १५ मंसिर ०७३ मा जन्मदर्ता बनाए भने १९ मंसिरमै दिप्सन चौधरीको नाममा नागरिकतासमेत बनाए।

यसरी नाम परिवर्तन गरेर नागरिकता बनाउनु उनको एउटै उद्देश्य थियो, अपराधको कानुनी कारबाही छल्नु। नाम नै परिवर्तन गरेपछि प्रहरीले पक्राउ गर्दैन भनेर तीन वर्षअघि निर्धक्क भएर नेपाल फर्किए। उनी दमकमै बस्न थाले।

१९ चैत ०७९ मा जिल्ला अदालत झापाले दिवस चौधरीको नाममा १० वर्ष कैद सजाय सुनाएको थियो। उच्च अदालत विराटनगर, इलाम इजालसले समेत त्यही फैसला सदर गर्याे। तर, उनको नागरिकता र जन्मदर्ताको नाम भने दिप्सन थियो। उनी हत्यामा संलग्न हुँदा उमेर १५ वर्ष मात्रै थियो। तर, अहिले उनी २८ वर्ष भए। इलाका प्रहरी कार्यालय दमकले फैसला कार्यान्वयनका सिलसिलामा उनलाई १९ जेठमा पक्राउ गरी जिल्ला अदालत झापामा बुझाएको थियो। उनी अहिले जिल्ला कारागार झापामा छन्।

इलाका प्रहरी कार्यालय दमक स्रोतका अनुसार उनले यसरी नाम परिवर्तन गरेर पक्राउ पर्नबाट जोगिन खोजेका हुन्। ‘हामीले निगरानी गरिरहेका थियौँ। दिवस र दिप्सन एउटै हो भन्ने भएपछि हामीले पक्राउ गरेर अदालतमा बुझायौँ,’ इलाका प्रहरी कार्यालय दमक स्रोत भन्छ, ‘घटनाको १३ वर्षपछि पक्राउ पर्नुले कानुनविपरीत काम गर्ने जोकोहीलाई कानुनले छाड्दैन भन्ने एउटा प्रमाण पनि बनेको छ, यो घटना।’

सुझावित समाचार