सर्वोच्च अदालतले औद्योगिक क्षेत्रभित्रको भाडा वृद्धिको विवाद सम्बन्धमा आफ्नो एक वर्षअघिको फैसला पुनरवलोकन नहुने आदेश दिएको छ । यससँगै सरकारले औद्योगिक क्षेत्रभित्र भूतप्रभावी हुने गरी भाडा वृद्धि गर्न नपाउने भएको छ ।
सर्वोच्चका न्यायाधीशहरू विनोद शर्मा, सुनीलकुमार पोखरेल र नित्यान्द पाण्डेको इजलासले बिहीबार यसअघि सर्वोच्चले दिएको फैसलामा पुनरवलोकन नगर्ने अन्तिम आदेश दिएको हो । औद्योगिक क्षेत्र व्यवस्थान लिमिटेडले ०७५ मा औद्योगिक क्षेत्रभित्रको भाडा सात सय प्रतिशतसम्मले वृद्धि गरेको थियो । साउन ०७६ देखि लागू हुने भनिएको उक्त भाडा वृद्धिलाई उद्योगीको विरोधपछि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको निर्देशनपछि स्थगन गरिएको थियो । पछि असार ०७९ मा व्यवस्थापनले ०७५ देखि नै लागू हुने गरी पुनः भाडा वृद्धि गर्ने निर्णय गर्यो । त्यसका विरुद्ध उद्योगीहरू सर्वोच्च गएका थिए ।
सर्वोच्च अदालतले १२ चैतमा असार ०७९ सम्म पुरानै भाडादर कायम गर्न र त्यसपछि मात्रै नयाँ भाडादर लिनुपर्ने फैसला गरेको थियो । तर, व्यवस्थापन लिमिटेडको २० वैशाख ०८२ मा सर्वोच्चको फैसला पुनरवलोकनका लागि निवेदन दियो । व्यवस्थापन पुनरवलोकनमा गएपछि औद्योगिक क्षेत्र उद्योग महासंघले पनि फैसला पुनरवलोकनका लागि १२ चैत ०८२ मा निवेदन दियो । सर्वोच्चको बिहीबारको इजलासले व्यवस्थापन र उद्योगी दुवै पक्षको निवेदनअनुसार ‘परमादेशका लागि अनुमति नहुने’ अन्तिम फैसला गरेको हो । सर्वोच्चको बिहीबारको आदेशपछि अब औद्योगिक क्षेत्रभित्र भूतप्रभावी भाडावृद्धि लागू नहुने महासंघका पूर्वअध्यक्ष देवराज तामाङले बताए । सर्वोच्चको अन्तिम फैसला औपचारिक रूपमा व्यवस्थापन लिमिटेडमा आइनपुगेको महाप्रबन्धक पदम ओलीले बताए ।
उद्योगलाई हतोत्साही नगराउन निजी क्षेत्रको माग
निजी क्षेत्रका प्रतिनिधिमूलक संस्थाहरू नेपाल उद्योग वाणिज्य महासंघ र नेपाल उद्योग परिसंघले उत्पादमूलक क्षेत्रलाई प्रोत्साहन र सहजीकरण गर्न सरकारसँग माग गरेका छन् । औद्योगिक क्षेत्रभित्रको भाडा वृद्धि विवादका सम्बन्धमा बिहीबार छुट्टाछुट्टै विज्ञप्ति निकाल्दै उनीहरूले उद्योगी र उद्योगलाई हतोत्साही बनाउने काम नगर्न आग्रह गरेका हुन् । व्यवस्थापनले २५ जेठमा बक्यौता बुझाउन सातदिने सूचना प्रकाशित गर्दै कारबाही गर्ने चेतावनी दिएको थियो । बुधबारदेखि नै बक्यौता रहेका उद्योगको लाइन काट्नसमेत थालिएको थियो ।
औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडले औद्योगिक क्षेत्रहरूमा स्थापित करिब ७ सय उद्योगमाथि हालै प्रशासनिक बल प्रयोग गरी विद्युत् लाइन काट्ने र उद्योगीलाई धरपकड गर्ने तयारी गरेको भन्दै महासंघले आफ्नो गम्भीर ध्यानाकर्षण भएको उल्लेख गरेको छ । परिसंघले समग्र अर्थतन्त्रलाई चलायमान बनाउन उद्योगहरूलाई प्रोत्साहन र संरक्षण गर्नुपर्ने अवस्थामा उद्योगहरू निर्बाध सञ्चालन हुने गरी सहजीकरण गर्न अनुरोध गरेको छ ।