डेढ महिनादेखि नेतृत्वविहीन ६ स्वास्थ्य विज्ञान प्रतिष्ठान

उपकुलपतिका लागि ८६ दाबेदार, सर्टलिस्टको प्रक्रियामै अझ १५ दिन लाग्ने

शुक्रबार, ५ असार, २०८३
डिजिटल संस्करण

योग्यता र अनुभवका आधारमा नियुक्ति गर्ने दाबी

  • यी हुन् नेतृत्वविहीन ६ प्रतिष्ठान : चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स), पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान, बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान 

सरकारले ल्याएको अध्यादेशसँगै पदमुक्त भएका ६ स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपकुलपति नियुक्तिमा ढिलासुस्ती देखिएको छ । स्वास्थ्य मन्त्रालयले आवेदन दिएकाहरूको नामावली १९ जेठमै सार्वजनिक गरे पनि छनोट प्रक्रियामा ढिलाइ भएको हो ।

मन्त्रालयले आवेदन दिएका ११३ मध्येबाट ८६ जनाको संक्षिप्त सूची मंगलबार सार्वजनिक गरेको थियो । अन्यको आवेदन अस्वीकृत गरिएको छ । हाल उपकुलपतिविहीन रहेका प्रतिष्ठानहरू चिकित्सा शिक्षा तथा स्वास्थ्य सेवाका विशिष्टीकृत स्वास्थ्य संस्था हुन् । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स), पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान, बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपकुलपति नियुक्ति हुन नसकेको हो ।

यी प्रतिष्ठानहरूसँग मेडिकल शिक्षा मात्रै नभएर बिरामीको उपचार गर्ने जिम्मेवारीसमेत जोडिएको छ । सरकारले यसअघि भएका नियुक्त खारेज गर्ने गरी अध्यादेश, २०८३ जारी गरेपछि प्रतिष्ठानका पदाधिकारीले राजीनामा दिएका थिए । तर, करिब डेढ महिनादेखि ती संस्था नेतृत्वविहीन छन् ।

स्वास्थ्य मन्त्रालयका अनुसार अझै छनोट प्रक्रियामा १५ दिनहाराहारी समय लाग्छ । स्वास्थ्यमन्त्री निशा मेहताको संयोजकत्वमा छनोट गर्न थालिए पनि उनले विज्ञ कमिटी गठन गरेकी छिन् । तर, उक्त विज्ञ कमिटीलाई कसरी छनोट गर्ने, कुन मितिमा प्रस्तुतीकरण र कन्सेप्ट पेपर प्रस्तुत गर्न लगाउने भन्नेबारेमा स्पष्टता छैन । ‘कमिटीमा त राखियो, तर कुन मितिमा छनोट गर्ने भनेर स्पष्ट भएन,’ विज्ञ कमिटीका एक सदस्यले भने, ‘स्वास्थ्यमन्त्रीज्यू नै अलमल हुनुभएको हो कि कुनै निर्देशन कुरिरहनुभएको छ भन्ने थाहा भएन । हामीलाई यति दिनभित्र काम सकौँ, यो–यो आधारमा छनोट गरौँ भनेर स्पष्ट पारिदिए काम अघि बढ्थ्यो, तर त्यसो हुन सकिरहेको छैन ।’

१६ जेठमै ६ वटै स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपकुलपतिका लागि आवेदन फारम संकलन गरिएको थियो । उम्मेदवारहरूको नामावली १९ जेठमा सार्वजनिक गरिएको थियो । त्यसपछि भने छनोट प्रक्रिया सुस्तायो । यसको मुख्य कारण प्राविधिक तयारी तथा आवेदनमाथि मूल्यांकन गर्नु रहेको मन्त्रालयका सहप्रवक्ता डा. समीर अधिकारीले बताए । उनका अनुसार तोकिएका विधि र मापदण्डअनुसार कमिटीलाई काम गर्न भनिएको छ । जसअन्तर्गत प्रारम्भिक अध्ययन, प्राविधिक परीक्षण र कागजातको मूल्यांकन पर्छ । मन्त्रालयले सबै आवेदन अनलाइनमार्फत नै माग गरेको थियो ।

‘मन्त्रीज्यूको संयोजकत्वमा छनोट कमिटी बनेको थियो, उहाँले पनि विज्ञसहितको छनोट समिति बनाएर छनोट प्रक्रिया अघि बढाउनुभएको छ,’ मन्त्रालयका सहप्रवक्ता डा. अधिकारीले भने, ‘आएका आवेदनहरूको मूल्यांकनको काम विज्ञ टोलीले गरिरहेको छ, अब उहाँहरूको प्रस्तुतीकरण, अन्तर्वार्ता, कन्सेप्ट पेसरलगायतका आधारमा विज्ञ टोलीले छनोट गर्छ, सोहीअनुसार तीनजनाको नाम सर्टलिस्ट गरेर कुलपति तथा प्रधानमन्त्रीज्यूलाई कमिटीले पठाउनेछ ।’

उनका अनुसार प्रतिष्ठानहरूमा उपकुलपति नहुँदा कतिपय काममा समस्या पनि भइरहेको छ । आर्थिक वर्षको अन्तिम क्षण भएकाले आर्थिक विषयका काममा समेत बाधा पुगेको प्रतिष्ठानहरूले स्वास्थ्य मन्त्रालयलाई जानकारी गराइरहेका छन् । अबको १५ दिनभित्र उपकुलपतिको सर्टलिस्ट तयार पार्ने छनोट समितिका एक सदस्यले बताए ।

योग्यता र अनुभवका आधारमा नियुक्ति गर्ने दाबी 
यसपटक सरकारले उपकुलपति नियुक्ति प्रक्रियामा राजनीतिक प्रभावभन्दा पनि योग्यता, अनुभव र कार्यक्षमतालाई हेरेर नियुक्ति गरिने दाबी गरिरहेको छ । हुन त विगतका वर्षमा पनि सर्च कमिटी बनाएर तीनजनाको नाम सिफारिस गरिन्थ्यो । अहिले पनि उही तरिका नै अपनाइनेछ । तर, विज्ञ टिमलाई कुनै प्रभावमा नपरी स्वतन्त्र रूपमा छनोट गर्न प्रधानमन्त्री कार्यालयले निर्देशन दिएको छ ।

‘हामीलाई कुनै दबाब त छैन, तर योग्य, सक्षम र खारिएको व्यक्ति चाहिन्छ, सबै प्रतिष्ठानतर्फको आवेदन सूची हेर्दा हामीले खोजेअनुसारको विज्ञता भएकाहरूको संख्या कम छ,’ समितिका एक सदस्यले भने, प्रतिष्ठानमा बढी योग्य र प्रतिष्ठित व्यक्ति चाहिन्छ, किनभने त्यहाँ ठुला अस्पताल जोडिएका छन् ।’

सबैभन्दा बढी आवेदन न्याम्समा
६ प्रतिष्ठानको नेतृत्वका लागि ११३ जनाले आवेदन दिएका थिए । त्यसमध्ये २७ को आवेदन अस्वीकृत भएको छ । स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा. अधिकारीका अनुसार स्वीकृत भएकामा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका लागि १६, चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स)का लागि २२, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका लागि १२, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका लागि १५, बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका लागि १४ र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका लागि सातजनाको आवेदन संक्षिप्त सूचीमा राखिएको छ । सबैको आवेदन स्वीकृत भए पनि प्रस्तुतीकरणका लागि मिति तय गरिएको छैन ।

यी योग्यता र क्षमता भएकालाई गरिन्छ छनोट 
उपकुलपति छनोट कार्यविधिअनुसार शैक्षिक योग्यता, अनुभव, अनुसन्धान योगदान, नेतृत्व तथा प्रशासनिक र व्यवस्थापकीय क्षमताका आधारमा छनोट गर्नुपर्छ । योग्यताक्रमलाई आधार मानेर सिफारिस गर्नुपर्छ । समितिले आफ्नो काम सकाएर प्रत्येक स्वास्थ्य प्रतिष्ठानको उपकुलपतिका लागि बढीमा तीन–तीनजनाको दरले प्रधानमन्त्रीलाई नाम बुझाउनेछ । तीमध्ये एकलाई प्रधानमन्त्रीले छनोट गर्न सक्नेछन् । कार्यविधिले प्रतिष्ठानको उपकुलपति बन्न चिकित्साशास्त्रको कुनै पनि विधामा मान्यताप्राप्त शिक्षण संस्थाबाट कम्तीमा स्नातकोत्तर तह उत्तीर्ण गरेको, कुनै स्वास्थ्य विज्ञान प्रतिष्ठान, विश्वविद्यालय वा शिक्षण अस्पतालमा १० वर्ष काम गरेको, शिक्षण अस्पतालमा प्राध्यापक तथा स्वास्थ्य सेवाको ११औँ तहभन्दा माथि रहेर १० वर्ष काम गरेको व्यक्ति उपकुलपति हुन योग्य हुन्छन् । आवेदकहरूले प्रतिष्ठान सुधारको अवधारणापत्र, जर्नलमा प्रकाशित दुई लेख र अन्य स्वास्थ्य अनुसन्धानसम्बन्धी चार लेख वा किताब प्रकाशन गरेको हुनुपर्नेछ । 
 

सुझावित समाचार