कामना सेवा विकास बैंक लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत शाखा कार्यालय बुटवलमार्फत बुटवल माध्यमिक विद्यालयलाई स्कुल ब्याग वितरण गरेको छ । बैंकको बुटवल क्षेत्र प्रमुख हेमन्तबाबु आचार्यले उक्त विद्यालयमा अध्ययनरत ७० जना गरिब तथा विपन्न समुदायका बालबालिकालाई स्कुल ब्याग वितरण गरेका हुन् ।
आचार्यले प्रारम्भिक तहमा अध्ययनरत बालबालिकाको शैक्षिक आवश्यकतालाई मध्यनजर गर्दै स्कुल ब्याग सहयोग गरिएको बताए । उनले विद्यालय जाने उमेरका बालबालिकालाई स्कुल ब्याग केवल सामग्री बोक्ने साधन मात्र नभई उनीहरूमा विद्यालयप्रतिको आकर्षण, आत्मविश्वास र जिम्मेवारीबोध अभिवृद्धि गर्ने माध्यमसमेत भएको उल्लेख गरे ।
कार्यक्रममा विद्यालयका प्रधानाध्यापक होमबहादुर रायमाझीले सहयोगका लागि बैंकलाई धन्यवाद दिए । यस्तो सहयोगले विद्यार्थीमा विद्यालयप्रतिको उत्साह बढाउनुका साथै अभिभावकलाई समेत राहत पुग्ने उनको विश्वास थियो । कार्यक्रममा बैंकका कर्मचारी, विद्यालयका प्रधानाध्यापक, शिक्षक तथा अभिभावकको सहभागिता थियो ।