खुकुरी देखाएर युवतीलाई यातना दिइरहेको भिडियो सार्वजनिक भएपछि दाङ तुलसीपुरका एक युवक पक्राउ परेका छन् । मंगलबार भिडियो सार्वजनिक भएपछि प्रहरीले खोजी गर्दा उनी घरबाटै लागुऔषधसहित पक्राउ परेका हुन् ।
तीन महिनाअघि खिचिएको भिडियो मंगलबार सामाजिक सञ्जालमा सार्वजनिक गरिएपछि तुलसीपुर उपमहानगरपालिका– २, भमकेनिवासी २४ वर्षीय रमेश ठाडामगरलाई पक्राउ गरिएको हो ।
इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक होमबहादुर पराजुलीका अनुसार मगरको घरबाट प्रेगामयाक्स एक ट्याब्लेट, ट्रोहमो ४२ ट्याब्लेट, एन्टिकोप दुई ट्याब्लेट र निट्राजोहम पाँच ट्याब्लेट औषधिसहित पक्राउ गरिएको हो ।
उनीहरूबिच आन्तरिक विवादका कारण ती युवकले खुकुरी देखाएर युवतीलाई यातना दिएको खुलेको छ । उनीहरूबिच सुरुमा सामान्य चिनजान भएको र पछि युवकको स्वभाव मन नपरेपछि युवती सम्पर्कमा नआउँदा हतियार देखाएर कुटपिट गरी यातना दिएको युवतीले बयान दिएकी छिन् ।
घटना तीन महिनाअघिको भए पनि मंगलबार मात्रै भिडियो सार्वजनिक गरिएको थियो । युवकलाई प्रहरीले लागुऔषध दुर्व्यसनीविरुद्ध अनुसन्धान गर्ने जनाएको छ ।