हर्मुज पुनः खोल्नु सबैको हितमा छ

बुधबार, ३ असार, २०८३
डिजिटल संस्करण
  • हर्मुज जलमार्ग पुनः खोल्ने सम्झौता घोषणा गरिएअनुसार कार्यान्वयन भएमा यसको सकारात्मक प्रभाव खाडीभन्दा टाढाका देशमा महसुस गरिनेछ

वासिंटन र तेहरानबिच युद्ध अन्त्य गर्ने र हर्मुजको जलमार्ग पुनः खोल्ने सम्झौता यदि घोषणा गरिएअनुसार कार्यान्वयन गरियो भने यसको सकारात्मक प्रभाव खाडीभन्दा धेरै टाढाका देशमा महसुस गरिनेछ । अमेरिका–इरान सम्झौताको शान्त लाभार्थी देशमध्ये बंगलादेश पनि एक हो, जो सय दिनभन्दा बढी समयदेखि ऊर्जा संकटको चपेटामा पर्दै आएको छ । ऊर्जा संकटका कारण पछिल्ला तीन महिनामा बंगलादेशका उद्योगलगायत क्षेत्र निकै प्रभावित छन् । यद्यपि, सरकारले समस्या समाधानका लागि देशमा उपलब्ध स्रोत साधनलाई अत्यधिक परिचालन गरेको बताउँदै आएको छ ।

फेब्रुअरीमा अमेरिकी र इजरायली सेनाले इरानमा आक्रमण गरेपछि हजारौँको मृत्यु भएको र विश्वव्यापी ऊर्जा बजारमा कम्पन ल्याएको द्वन्द्व अन्त्यका लागि आइतबार गरिएको बहुचर्चित सम्झौता सबैभन्दा महत्वपूर्ण कूटनीतिक उपलब्धि हो । ढाकाको विदेश मन्त्रालयले सम्झौतालाई न्यानो स्वागत गरेको छ । ‘क्षेत्रीय शान्ति, आपूर्ति शृंखला र सहकार्यको प्रारम्भिक पुनर्स्थापना’का लागि मन्त्रालयले गरेको अपेक्षाले ढाकाले विगतमा सामना गरेको ऊर्जा समस्या कति कष्टप्रद थियो भनेर स्पष्ट पारेको छ ।

बंगलादेशको विद्युत् क्षेत्र आयातित तरल प्राकृतिक ग्यासमा अत्यधिक निर्भर छ, जुन प्रायः हर्मुजको जलमार्ग हुँदै भित्रिन्छ । ग्यासको आयात इरानमाथि अमेरिका र इजरायलको हमला भएदेखि नै प्रभावकारी रूपमा बन्द छ । त्यसपछि देशमा ऊर्जा आयातको उच्च लागत, तनावपूर्ण भण्डार र निष्क्रिय विद्युत् प्लान्टको महँगो लागत देखियो, जसका कारण पहिले नै कमजोर अर्थतन्त्रमा थप क्षति पुग्यो ।

अमेरिका–इरान शान्ति सम्झौताको घोषणाप्रति विश्व बजारले तुरुन्तै प्रतिक्रिया दियो । सोमबार ‘ब्रेन्ट क्रुड’ (कच्चा तेल) को मूल्य ४.४ प्रतिशतले घटेर प्रतिब्यारेल ८५ डलरभन्दा तल झरेको थियो । युद्ध सुरु भएपछि यो लगभग १२० डलरको उच्चतम बिन्दुमा पुगेको थियो । सहमतिअनुसार ६० दिने युद्धविराम विस्तारको पहिलो ३० दिनमा हर्मुज जलमार्ग बिस्तारै खोलियो भने बंगलादेशको आयात बिल कम हुनेछ र बंगलादेशको मुद्रा टाकामा पनि दबाब कम हुनेछ । आयातमा अत्यधिक निर्भर अर्थतन्त्रका लागि यी साना लाभ होइनन् ।

यो सम्झौताले दीर्घकालीन प्रभाव पनि बोकेको छ । अप्रिलको सुरुमा प्रारम्भिक युद्धविराम भएदेखि हप्तौँसम्म चलेको कठिन वार्तापछि भएको सम्झौतामा शुक्रबार स्विट्जरल्यान्डमा दुई पक्षले हस्ताक्षर गर्ने तयारी छ । यद्यपि, समझदारी पत्र (एमओयू) केवल सुरुवात हो, यसको कार्या{न्वयन महत्वपूर्ण पक्ष हो । आइतबार बेरुतमा इजरायलको आक्रमण (जसलाई लिएर राष्ट्रपति डोनाल्ड ट्रम्पले निन्दा गरे) ले सावधानीपूर्वक निर्माण गरिएका कूटनीतिक प्रक्रियालाई पनि कति चाँडो अस्थिर बनाउन सक्छ भन्ने कुरा देखाउँछ । युद्धका क्रममा हर्मुजमा बिछ्याइएका बारुदी सुरुङ र विस्फोटक पदार्थ हटाउन इरानको तत्परता वा अनुपालन र आणविक ढाँचाको स्थायित्व सबै परीक्षण गर्न बाँकी नै छ । राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकाले अप्रिलमा इरानी बन्दरगाहभित्र र बाहिर जाने जहाजमा लगाएको आफ्नो नौसेना नाकाबन्दी हटाउने प्रतिबद्धता जनाएका छन् । बंगलादेशको विदेश मन्त्रालयले सम्झौता ‘सद्भावनाका साथ लागू हुने र टिकाउ एवं दिगो साबित हुनेछ’ भन्ने पूर्ण रूपमा आशा गरेको छ ।

बंगलादेशका लागि अझ महत्वपूर्ण काम गर्नुपर्ने समय आएको छ । तुलनात्मक रूपमा मूल्य घट्ने भएकाले ऊर्जा अधिकारीले एलएनजी खरिदमा यसअघि स्विकारिएका सर्त बन्द गर्नुपर्छ । हामीले यो कुरा बिर्सनुहुँदैन कि बजारहरू ढुवानी मार्ग पुनः खुल्नुभन्दा छिटो परिवर्तन हुन्छन् । तत्कालका लागि संकट अन्त्य हुने संकेत देखिए पनि हामीले विगत सय दिनको पाठलाई बिर्सनुहुँदैन ।

एउटै समुद्री अवरोधमा परेको अर्थतन्त्रका लागि विविध आपूर्ति शृंखला, द्रुत घरेलु ग्यास अन्वेषण र एलएनजी आयातको विकल्पका रूपमा गम्भीर नवीकरणीय ऊर्जा कार्यक्रम र इन्धन आपूर्तिलाई सम्भावित अर्को द्वन्द्वबाट जोगाउन आवश्यक छ । यसका लागि भविष्यका झट्काको सामना गर्न कम जोखिममा पर्ने ऊर्जा अर्थतन्त्र निर्माण गर्नुपर्छ ।

(द डेली स्टारको १६ जुनको सम्पादकीय)
 

See More On

सुझावित समाचार