परराष्ट्रमन्त्री खनालद्वारा चिनियाँ कम्युनिस्ट पार्टीका शीर्ष नेतासँग भेटवार्ता

मंगलबार, २ असार, २०८३
डिजिटल संस्करण

परराष्ट्रमन्त्री शिशिर खनालले चीन भ्रमणका क्रममा मंगलबार चिनियाँ जनराजनीतिक परामर्श सम्मेलन (सिपिपिसिसी) राष्ट्रिय समितिका अध्यक्ष वाङ हुनिङसँग भेटवार्ता गरेका छन्। उनी सत्तारुढ चिनियाँ कम्युनिस्ट पार्टीमा महासचिव एवं राष्ट्रपति सी जिनपिङपछि चौथो वरीयताका स्थायी समिति सदस्य हुन्।  

भेटपछि सामाजिक सञ्जाल एक्समा परराष्ट्रमन्त्री खनालले भने, ‘आज बिहान बेइजिङमा सिपिपिसिसीका अध्यक्ष वाङ हुनिङसँग भेट गर्न पाउँदा खुसी लागेको छ। हाम्रो छलफल विकास सहकार्य, व्यापार, लगानी, पर्यटन, राजनीतिक आदान–प्रदान तथा जनता–जनताबिचको सम्बन्धमा केन्द्रित रह्यो।’

भेटवार्तामा नेपाल–चीन सम्बन्धका विभिन्न पक्षहरूबारे विस्तृत छलफल भएको थियो। परराष्ट्रमन्त्री खनालले दुई देशबिचको सम्बन्ध थप मजबुत बनाउने विषयमा चिनियाँ पक्षको प्रतिबद्धताको पनि सराहना गरेका छन्। उनले भने, ‘दुवै देशबिचको दीर्घकालीन मैत्री सम्बन्धलाई अझ गहिरो बनाउने उहाँको दृढ प्रतिबद्धताको म कदर गर्दछु।’ परराष्ट्रमन्त्री खनालले हिजो चिनियाँ विदेशमन्त्री वाङ यीसँग भेटवार्ता गरेका थिए ।
 

सुझावित समाचार