साजगोठेरी सामुदायिक वनको रकम हिनामिना, अध्यक्षसहित तीनविरुद्ध भ्रष्टाचार मुद्दा दायर

सोमबार, १ असार, २०८३
डिजिटल संस्करण

सुर्खेतको भेरीगंगा नगरपालिका– १३ स्थित साजगोठेरी सामुदायिक वनको रकम हिनामिना गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तीनजनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ। वन उपभोक्ता समूहका तत्कालीन अध्यक्ष लोकबहादुर महतारा, सचिव मानकुमारी पौड्याल र कोषाध्यक्ष दलबहादुर बुढाविरुद्ध अख्तियारले सोमबार विशेष अदालतमा मुद्दा दायर गरेको हो।

उनीहरूले आपसी मिलेमतोमा काठ बिक्री, चिरानी खर्च, वनहेरालुको पारिश्रमिक, भ्रमण खर्च र घरभाडालगायतका शीर्षकमा झुट्टा बिल भर्पाई बनाई सात लाख १५ हजार ९१६ रुपैयाँ सार्वजनिक सम्पत्तिको दुरुपयोग गरेको अख्तियारको ठहर छ।

चिरान गरेको १,००० क्यु.फिट काठमा ९८१.२४ क्यु.फिट काठ न्यूनतम दररेटमा बिक्री गर्दा हुने आम्दानीमा ९५ हजार ११८  रुपैयाँ, काठ चिरानी खर्चमा तीन लाख ६६ हजार ९१६ रुपैयाँ, वनहेरालु पारिश्रमिकमा ९० हजार रुपैयाँ र घरभाडामा ४४ हजार रुपैयाँ भ्रष्टाचार भएको आरोपपत्रमा उल्लेख छ।

साथै सामुदायिक वन उपभोक्ता समितिको विधान संशोधन गर्न काठमाडौं जाँदा विनाआधार महताराले एक लाख २० हजार रुपैयाँ बुझी उक्त रकम कुन शीर्षकमा खर्च गरेको हो भन्ने उल्लेखसमेत गर्न नसकेको आरोपपत्रमा उल्लेख छ। 

सुझावित समाचार