बिग्रिएको हाइस अटोले तानेर लैजाँदै गर्दा दुर्घटना, एक महिलाको मृत्यु, अर्की एक घाइते

आइतबार, ३१ जेठ, २०८३
डिजिटल संस्करण

सर्लाहीको बागमतीमा बिग्रिएको हाइसको ठक्करबाट एक महिलाको मृत्यु भएको छ भने अर्की एक महिला गम्भीर घाइते भएकी छिन्। आइतबार बिहान बागमती नगरपालिका– ९, निर्माण चोकस्थित भित्री सडकखण्डमा बागमती प्रदेश ०३००१ ज ०७७६ नम्बरको इभी हाइसले दुई महिलालाई ठक्कर दिएको हो।

गाडीको ठक्करबाट बागमती नगरपालिका– ९ निवासी ५५ वर्षकी जयकुमारी देवीको मृत्यु भएको हो भने वडा नम्बर १० बस्ने ४० वर्षकी पुनमदेवी यादव गम्भीर घाइते भएकी प्रहरीले जनाएको हो।

बिग्रिएको उक्त हाइसलाई प्रदेश २–०२–००१ ह १८७९ नम्बरको अटोले तानेर मर्मतका लागि बरहथवा निर्माण चोकतर्फ लैजाँदै गर्दा पैदल हिँड्दै गरेका उनीहरूलाई हाइसले ठक्कर दिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक देवप्रसाद गौतमले जानकारी दिए। प्रहरीका अनुसार दुर्घटनापछि घाइते दुवैजनालाई उपचारका लागि वीरगन्ज पठाइएको थियो।

उपचारका लागि लैजाँदै गर्दा जयकुमारीको प्रादेशिक अस्पताल कलैया बारा पुगेपछि मृत्यु भएको हो। अर्की घाइते पुनमदेवीको भने कलैयास्थित राजलक्ष्मी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ। मृतक जयादेवीको शव परीक्षणका लागि प्रादेशिक अस्पताल बारामा राखिएको छ।

घटनामा संलग्न दुवै सवारी र चालक हरिवन नगरपालिका– ७ बस्ने ४० वर्षका देवेन्द्र ठाकुर र अटोचालक बरहथवा नगरपालिका– १३ बस्ने ३३ वर्षका विकासकुमार झालाई प्रहरी कार्यालय बरहथवाको हिरासतमा राखेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको हो।
 

सुझावित समाचार