गुहेश्वरी मर्चेन्ट बैंकिङ एन्ड फाइनान्सले आफ्नो २४औँ वार्षिकोत्सव विभिन्न सामाजिक तथा वित्तीय उत्तरदायित्वमूलक कार्यक्रम आयोजना गरी मनाएको छ।
संस्थाले २४ वर्ष पूरा गरी २५औँ वर्षमा प्रवेश गरेको अवसरमा ललितपुरको बुंमतीस्थित अपांग सेवा संघलाई आगामी वर्षका लागि खाद्यान्न सहयोगलाई निरन्तरता दिने सम्झौता गरेको जनाएको छ। संस्थाले विगत आठ वर्षदेखि उक्त संस्थालाई वार्षिक रूपमा खाद्यान्न सामग्री उपलब्ध गराउँदै आएको छ।
वार्षिकोत्सवको अवसरमा नेपाल रेडक्रस सोसाइटी केन्द्रीय रक्तसञ्चार सेवा, प्रदर्शनीमार्ग, भृकुटीमण्डपको प्राविधिक सहयोगमा रक्तदान कार्यक्रम आयोजना गरिएको थियो। साथै, गुहेश्वरी डेन्टल बहुविशेषज्ञ क्लिनिकको सहकार्यमा निःशुल्क दन्त स्वास्थ्य शिविरसमेत सञ्चालन गरिएको संस्थाले जनाएको छ।
संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत वित्तीय साक्षरता तथा सामाजिक गतिविधिहरूमा सक्रिय सहभागिता जनाउँदै आएको संस्थाले आगामी दिनहरूमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेको छ। हाल संस्थाले देशभर २३ वटा शाखा कार्यालय तथा ४ वटा विस्तारित काउन्टरमार्फत सेवा प्रदान गर्दै आएको छ।