थकाली खाना, हिजो र आज

शनिबार, ३० जेठ, २०८३
डिजिटल संस्करण

थकाली भान्साघरमा थकाली संस्कृतिको झल्को दिने गरी ग्राहक बस्ने कुनै उपयुक्त एक कक्षको भित्ता आधा सेतो र आधा रातो रंगले पोतिएका हुन्छन् । भित्ताको माथिल्लो एक भागमा ग्राहकले देख्ने गरी वा हेर्न मिल्ने गरी थकाली जातिका चार इष्टदेवताहरू र नरिझेव देवताको फोटो टाँसिएको हुन्छ । देवताहरूको फोटो टाँसिएको तलतिरको भुइँमा अँखु बत्ती सजाएको, भित्ताको र्याकमा परम्परागत थकाली भाँडाकुँडा राखिन्छ । सो कक्षको उपयुक्त स्थानमा थकाली चुलो र त्यसमा पकाउने भाँडा सजाएको भुइँमा ऊनी गलैँचा बिच्छाएको हुनुपर्छ । यो मौलिक थकाली भान्साघरको दृश्य हो ।

यसरी सुरु भयो थकाली खाना 
थकाली समुदायको गढ मानिने मुस्ताङको थाकखोलाबाट थकाली खानाको विकास भयो । व्यापारमा निपूर्ण थकाली समुदाय नुनको व्यापार गर्दागर्दै करिब विसं.१९९० सालतिर जाडो छल्न बेँसी झर्न थाले । ६ महिना खेतीकिसानी गर्ने थकाली समुदायले जाडो बढेसँगै मौसममा देखिने प्रतिकूलताका कारण छ महिना साना होटल (भट्टी पसल) सञ्चालन गर्न थाले । सुरुवाती चरणमा थकाली समुदायको म्याग्दी र जोमसोमतिर जाडो छल्न बसाइँसराइ हुन्थ्यो । म्याग्दी खोला हुँदै गुल्मी, बागलुङ, पोखरा, बुटवल पुग्न थालेको देखिन्छ ।

थकाली समुदायले सुरुवाती दिनमा विशेषगरी बेलायत र भारतीय सेनाका पेन्सन क्याम्पनजिक छाप्रो बनाएर जाँडरक्सी, भात पकाएर बेच्न थालेका थिए । साना होटेल चलाउँदै जाने क्रममा ०३० सालदेखि पर्यटन क्षेत्रको विकास हुनथाल्यो । मुस्ताङको लोमान्थाङ दरबार, मुक्तिनाथ, नीलगिरि हिमाल, धौलागिरि हिमाल, तिलिचो पिक, जोमसोममा पर्यटक जाने क्रम सुरु भयो । त्यतिवेलै थकाली समुदायले अहिलेको होम स्टेजस्तै संरचना बनाएर काम गर्न थाले । ती घरमा खानबस्नेको व्यवस्था हुनथाल्यो ।

भट्टीको विकसित रूप नै थकाली भान्साघर हो । ०५० को दशकतिर थकाली समुदायका धेरै युवा वैदेशिक रोजगारीका लागि जापान जान थाले । ती युवा फर्केपछि बेरोजगार हुन थाले । सबैले एउटा पेसा गर्नुपर्छ भन्ने भयो । त्यो टोलीमध्ये धेरैले थकाली भान्साघर सञ्चालन गरेर थकाली खाना बिक्री गर्न थाले ।

०६० सालदेखि थकाली भान्साघरको क्षेत्रमा व्यापकता आयो । त्यतिवेलै नेपालको पहिलो व्यवस्थित थकाली भान्छाघरको रूपमा टुक्चे किचन थकाली भान्छाघर दरबारमार्गमा खुल्यो । त्यसपछि बिस्तारै अरू ठाउँमा विस्तार हुनथाल्यो । थकाली समुदायमा ढुकुटी प्रथाअनुसार एकअर्कालाई सहयोग गर्ने प्रचलन छ । त्यो सहयोग पनि भान्छाघरमै लगानी हुनथाल्यो । घरबाहिर पनि पाहुना खुवाउने प्रचलन बढेसँगै भान्छाघर अझै बलियो भएर उदायो । धेरै पहिलेदेखि खाना बिक्री हुने गरे पनि ब्रान्ड बन्न सकेको थिएन । पछिल्लो समय भने थकाली खाना ब्रान्डको रूपमा स्थापित हुनथालेको छ ।

थकाली समुदायले फागुपूर्णिमाका दिन तोरन्ल अर्थात् पितृ चढाउने पर्व मनाउँछन् । सो दिन थकाली समुदायले आफ्ना दिवंगत पितृलाई खुसी राख्न चोखो पानी चढाउने र मिठामिठा खानेकुराका परिकार बनाएर चढाउने गर्छन् । पूर्णिमाको अघिल्लो दिनदेखि पूर्णिमाको भोलिपल्ट तीन दिनसम्म मध्यरातमा उठेर पितृको नाममा प्रसाद चढाउने चलन छ । पितृको नाममा खानेकुरा चढाउँदा पितृ खुसी हुने र पितृको उपहार हुने विश्वास गरिन्छ ।

मुस्ताङको तल्लो क्षेत्र जोमसोमदेखि घाँसासम्म देश विदेशमा रहेका थकाली समुदायले धार्मिक तथा सांस्कृतिक पर्व तोरन्ल मनाउने गर्छन् । यहीवेला छोरीज्वाइँ, भान्जाभान्जीलाई सत्कारस्वरूप ८४ ब्यञ्जन बनाउएर खुलाउने प्रचलन छ । त्यही पर्वले नै थकालीको खानाको परिकारमा विविधता ल्यायो । शाकाहारी थकाली सेटमा ताजा र स्वादिष्ट चामलको भात वा फापरको पीठोको ढिँडो, मास वा सिमीको दाल, हरियो तरकारीको करी, हरियो सागसब्जी समावेश हुन्छ । गोलभेडासँग टिमुर वा मौसमअनुसार उपलब्ध हुने अन्य कुनै लोकल वस्तुको अचार र गाँजर, मुला वा काँक्रोको सलाद पनि समावेश हुन्छ ।

थकाली खानामा हुने परिकार कन्छेम्पा, क्होकेन, टहुङ्ख कार्टहुङ, मुस्ताङ आलु, प्ह्यो (उवाको भुटेको सातु), सकुटी (खसी, च्याँग्रा, भेडा वा याकको), टिमुर आलुको वा अन्डाको तरकारी, जिम्बु आलुको तरकारी, फिन आलु/मुलाको तरकारी, थकाली सेलरोटी समावेश हुन्छन् । यसैगरी, मुर्का रोटी, थकारी पुरी रोटी, खट्टे/सिरम्ला, बफ्याएको भात, फाँडो, टिमुर वा रहरीको छोप, छ्याङ, झ्वाइँखट्टेलगायत परिकार पनि समावेश हुन्छन् ।

थकाली खानामा दाल बाक्लो हुनुपर्छ । मास वा सिमीको दाल पकाउने पनि विधि हुन्छ । गैरथकालीले बनाएका खानामा मासको दाललाई घोटेर पकाउने, अदुवा, लसुनले झान्ने गर्छन् । तर, दाल स्वादिलो बन्नका लागि मुस्ताङकै जिम्मु प्रयोग हुनुपर्छ ।

थकाली खाना हो कि होइन भन्ने खाना पस्कने तरिकाबाटै पत्तो लाग्छ । थकाली खानामा सिमीको दाल र फापरको पिठो धेरै प्रयोग हुन्छ । यी सामग्री मुस्ताङमै पनि महँगो पर्ने हुनाले यतै किन्न थालिएको छ । थकाली खानामा अनिवार्य प्रयोग हुने टिमुर म्याग्दीका विभिन्न गाउँबाट ल्याइन्छ । टिमुरको छोपले खानालाई पचाउन सहयोग हुने भएकाले खानामा अनिवार्य प्रयोग हुन्छ । सिमीको दालका लागि जिम्मु अनिवार्य प्रयोग हुन्छ । लसुन, अदुवा, प्याजजस्ता जडीबुटीजन्य सामग्रीको प्रयोग गरिन्छ । भांगोको छोप हालेर बनाएको अचारले पनि थकाली खानाको पहिचान दिन्छ । जसले खानालाई स्वादिलो बनाउँछ ।

थकाली खानामा व्यापकता आउनुको प्रमुख कारण स्वाद नै हो । स्वादलाई कायम राख्ने मुख्य भूमिका थकाली समुदायका महिलाले गर्छन् । त्यसैले प्रायजसो थकाली भान्साघरको भान्सा महिलाले नै सम्हालेका हुन्छन् । केही थकाली भान्साघरको भान्सा पुरुषले पनि हेर्छन् । तर, महिलाले हेरेकोजति गुणस्तर, स्वाद भने पाउन सकिँदैन । महिलाहरूको भान्सामा उपस्थितिले स्वादमा एकरुपता आउँछ । कहिलेकाहीँ महिलाले छोड्नेबित्तिकै स्वादमा फरकपन आइहाल्छ । प्रमाणपत्र लिएका, तारे होटेलमा काम गरेर पोख्त भएका सेफले पनि उनीहरूले बनाएको जतिको स्वाद पस्किन सक्दैनन् । सुरुवातदेखि नै महिलाले निगरानी गरेका प्रायः भान्छाघर अझै पनि अस्तित्वमै छन् ।

काठमाडौंमा करिब ९० वटा मात्र थकाली समुदायले सञ्चालनमा ल्याएका थकाली भान्साघर छ । त्यो बाहेक विभिन्न ठाउँमा थकाली भान्साघर भनेर सञ्चालनमा छन् । ती सबै गैरथकाली समुदायले सञ्चालन गरेका भान्सा घर हुन् । त्यहाँ वास्तविक थकाली भान्साघरको स्वाद नपाएपछि प्रश्न उठ्न थालेका छन् । किनभने जसरी थकाली समुदायले खाना स्वादिलो बनाउन गुणस्तरमा ध्यान दिएका हुन्छन् । त्यो काम अन्य समुदायबाट भएको देखिँदैन ।

थकाली खाना ब्रान्डिङको कारण मौलिकता गुमे पनि प्रचार–प्रसार भएको छ । थकाली समुदायका केही व्यक्ति ‘हाम्रो काम हामी आफैँले गर्नुपर्छ अरूले गर्नुहुँदैन,’ भन्छन् । तर, हाम्रो मातहतभित्र रहेर अरूलाई पनि काम गर्न दिने हो भने मौलिकता बचाउँदै भान्साघरमा अझै व्यापकता ल्याउन सकिन्छ ।

थकाली खानाको पहिचान जोगाउन ठाउँ–ठाउँमा तालिम केन्द्र खोलेर पकाउने तालिम दिनैपर्छ । कहाँबाट कस्ता सामान जुटाउने भन्नेबारे जानकारी दिनैपर्छ । सिक्ने र सिकाउने प्रक्रियामा कमी भएकाले थकाली खानाको मौलिकपनमा ह्रास आउने हो कि भन्ने डर छ ।

सुझावित समाचार