पछिल्लो दुई विश्वकपमा चार–चारवटा रेड कार्ड खेलाडीले पाएका थिए । सन् २०१८ को रसिया र २०२२ मा कतारले आयोजना गरेको विश्वकपमा कमै खेलाडीले रेड कार्ड पाए । २३औँ संस्करणको पहिलो खेलमै खराब इतिहास बन्यो । आयोजक मेक्सिकोले दक्षिण अफ्रिकाको सामना गर्दा तीनजना खेलाडीले रेड कार्ड पाए । यस्तो घटना २० वर्षपछि पहिलोपटक भएको हो । सन् २००६ को जर्मनीले आयोजना गरेको विश्वकपमा कुल २८ खेलाडीले रेड कार्ड पाएका थिए । यसपटक फिफाले रेफ्रीलाई सर्वाधिक बलियो बनाएको छ ।
फिफाका रेफ्री प्रमुख कोलिनाको नेतृत्वमा रहेका रेफ्रीहरूलाई गोल गर्ने स्पष्ट अवसर रोकेको अवस्थामा रेड कार्ड दिने व्यवस्था थियो । विश्वकपको पहिलो खेलपछि नै यो नियम पालना नहुने देखिन्छ । यो खेलसँगै ३९ दिनसम्म चल्ने विश्वकपमा रेड र पहेँलो कार्डको वर्षा हुने छनक देखाएको छ । यसपटक खेलाडीले लगातार दोस्रो पहेँलो कार्ड पाउँदा दोस्रो चरणमा गणना नहुने भएको छ । अघिल्ला विश्वकपमा यस्तो घटना हुँदा स्टार खेलाडीहरूले नकआउट चरण गुमाएका थिए ।
२०२६ को विश्वकपमा रेड कार्ड पाउने खेलाडीले अर्को एक खेल खेल्न पाउनेछैनन् । उसले एक खेलको मात्र प्रतिबन्ध भोग्नुपर्नेछ । रेड कार्ड पाउने वा दुईवटा पहेँलो कार्ड खाएर मैदान बाहिरिने दुवैका हकमा लागू हुनेछ । तर, फिफाले गल्ती गम्भीर भए खेलाडीलाई थप खेलमा प्रतिबन्ध गर्न सक्छ ।
१. पोर्चुगल १–० नेदरल्यान्ड्स (२००६) : विश्वकप इतिहासमा सन् २००६ को पोर्चुगल र नेदरल्यान्ड्सबिचको उद्घाटन खेल सर्वाधिक ‘रफ’का रूपमा लिने गरिन्छ । जर्मनीले आयोजना गरेको विश्वकपमा यी दुई राष्ट्रबिच प्रतिस्पर्धा हुँदा कुल २० कार्ड देखाइएका थिए । जसमा चार रेड तथा १६ पहेँलो कार्ड खेलाडीले पाए । रेड कार्ड पाउनेमा कोस्टिन्हा, खालिड बाउलाहोज, डेको तथा गिओभानी भान थिए । तत्कालीन फिफा अध्यक्ष सेप ब्लाटरले ठट्टा गर्दै प्रतिस्पर्धामा रेफ्रीलाई पनि कार्ड देखाउनुपर्ने बताए ।
२. ब्राजिल १–१ चेकोस्लोभाकिया (१९३८) : सन् १९३८ को दोस्रो संस्करणको विश्वकप इटालीले आयोजना गरेको थियो । यस विश्वकपमा ब्राजिल र चेकोस्लोभाकियाबिच भएको थियो । खेल १–१ को बराबरीमा सकियो । यो खेलमा पहिलोपटक विश्वकप इतिहासमै तीनजना खेलाडी रेड कार्ड पाउँदै मैदानबाट बाहिरिए । जेजे प्रोकोपियो, मार्टिम तथा जान रिहाले रेड कार्ड पाएका थिए ।
३. हंगेरी ४–२ ब्राजिल (१९५४) : सन् १९५४ को विश्वकपको क्वार्टरफाइनल खेल तनाव नै भयो । सेमिफाइनल प्रवेशको खेलमा हंगेरीले ब्राजिलको सामना गरेको थियो । खेलमा हंगेरीले ब्राजिललाई ४–२ ले पाखा लगायो । खेलको नतिजाभन्दा पनि रेड कार्डको बढी चर्चा भयो । प्रतिस्पर्धामा जोसेफ बोसिक, निल्टन सान्तोष तथा हुम्ब्रेटोले रेड कार्ड पाउँदै मैदानबाट बाहिरिएका थिए । हंगेरीसँग हार्ने लगभग पक्का भएपछि ब्राजिलले निकै रफ खेल खेलेको थियो । त्यसवेला ब्राजिलले आफ्नो फोहोरी खेलका कारण छवि गुमाएको थियो ।
४. दक्षिण अफ्रिका १–० डेनमार्क (१९९८) : सन् १९९८ को विश्वकपमा दक्षिण अफ्रिकाले समूह चरणमा डेनमार्कको सामना गरेको थियो । दक्षिण अफ्रिकाले उत्कृष्ट खेल प्रदर्शन गरी डेनमार्कलाई १–० ले हराएको थियो । यो खेललाई कोलम्बियन रेफ्री जोहन जैरोले सञ्चालन गरेका थिए ।
उनले खेल नियन्त्रणमा राख्न तीन रेड कार्ड तथा सात पहेँलो कार्ड देखाएका थिए । सात पहेँलोमध्ये चारवटा कार्ड खेलाडीले समय खेर फालेको भनेर रेफ्री जोहनले कार्ड देखाएका थिए । यसपटक पनि फिफा अध्यक्ष ब्लाटरले खेलमा उत्कृष्ट नियन्त्रण गरेको भनी रेफ्रीलाई नोबेल प्राइज दिनुपर्ने संज्ञा दिए । दक्षिण अफ्रिकाका गोलरक्षकले रेफ्रीका कारण खेलमा दुवै पक्षले नियन्त्रण गुमाएको दाबीसम्म गरे ।
५. इटाली १–१ अमेरिका (२००६) : इटालीविरुद्ध प्रतिस्पर्धामा अमेरिकाले नौ खेलाडीमा सीमित भएर प्रतिस्पर्धा गरेको थियो । रेफ्रीले अनावश्यक रूपमा अमेरिकाविरुद्ध दुईवटा रेड कार्ड देखाउँदा पनि इटालीले खेल जित्न सकेन । सो खेलमा रेफ्रीले तीनवटा रेड कार्ड खेलाडीलाई देखाएका थिए । थप एक रेड कार्ड इटालीको नाममा रह्यो । डेनियल डे रोसी, पाब्लो मास्ट्रोनी तथा एडिए पोपले रेड कार्ड पाएका थिए । डेनियल रोसीले अमेरिकाका बार्लानविरुद्ध कुहिनाले सिधै प्रहार गरेका थिए ।
६. क्रोएसिया २–२ अस्ट्रेलिया (२००६) : जर्मनीले आयोजना गरेको विश्वकपमा रेफ्री ग्राहम पाउलले अस्ट्रेलिया र क्रोएसियाबिचको खेल सञ्चालन गर्न निकै कठिन बनेको थियो । खेलाडीले एक–आपसमा घम्साघम्सी गर्न थालेपछि उनले विनासंकोच कार्ड देखाउँदै गए । उनले तीन खेलाडीलाई सिधै रेड कार्ड दर्शन गराए । डारिओ सिमिक, व्रेट इभेर्टन तथा जोसिप सिमुनिकलाई रेड कार्ड देखाउँदै मैदानबाट बाहिर पठाए । क्रोएसियाका जोसिपले प्रतियोगितामा तीनवटा पहेँलो कार्ड पाएका थिए ।
७. मेक्सिको २–० दक्षिण अफ्रिका (२०२६) : २३औँ संस्करणको फिफा विश्वकप सुरुवातमै विवादास्पद बन्यो । मेक्सिकोले दक्षिण अफ्रिकाविरुद्ध प्रतिस्पर्धा गरेको थियो । मेक्सिकोले खेलमा बाजी मार्दै स्पष्ट तीन अंक बटुल्यो । यस खेलमा ब्राजिलियन अफिसियल विल्टन साम्पाओले तीनवटा रेड कार्ड देखाए । विश्वकपको उद्घाटन खेलमा पहिलोपटक तीनवटा रेड कार्ड देखाइएको यो नै पहिलो हो । याया सिथोले, थेम्बा वाने तथा सेसार मोन्टसले रेड कार्ड पाएका हुन् ।
(एजेन्सीको सहयोगमा)