- रोपाइँका वेला पर्याप्त मल व्यवस्था गर्न सरकारसँग सांसदहरूको माग, सात प्रदेशका गोदाममा साढे १९ लाख बोरा मल मौज्दात रहेको कृषि मन्त्रालयको दाबी
शुक्रबारको प्रतिनिधिसभा बैठकमार्फत सांसदहरूले धान रोपाइँका लागि किसानको मागअनुसार रासायनिक मल आपूर्ति गर्न सरकारको ध्यानाकर्षण गराएका छन् । बैठकमा बोल्दै राप्रपा सांसद ताहिर अलि भाटले पर्याप्त मल आपूर्ति सुनिश्चित गर्न माग राखे । ‘अहिले रोपाइँको समय भइरहेको छ । तर, कैयौँ जिल्लामा डिएपी मल थोरै पुगिराखेको छ,’ उनले भने, ‘डिएपी मल पुगेन, युरिया मल पुगेन भने किसानले धेरै गुनासो गरिरहेका छन् । म आफैँ संसद्को कृषि समितिमा छु, हरेकचोटि कुरा उठाउँदा पनि कृषि मन्त्रालयले कान नसुनेको जस्तो गरेको छ ।’
यसपटक सीमाक्षेत्रमा कडाइ भइरहेका कारण तस्करीमार्फत आएको मल प्रयोग गर्न पनि किसानले कठिनाइ भोगिरहेको उनले बताए । त्यस्तै, एमाले सांसद राजेन्द्रकुमार राईले पनि धान रोप्ने वेला भइसक्दा किसानले मल नपाएको बताए । ‘अहिले खेत रोप्ने वेला भयो, तर मल छैन । मल लिन कहाँ जाने हो ?’ उनले सरकारलाई प्रश्न गर्दै भने । किसानले मागेअनुसार मल कहिलेबाट वितरण हुने भन्ने कुरा सरकारले जवाफ दिनुपर्ने उनको भनाइ थियो ।
राप्रपा सांसद खुश्बु ओलीले किसानको नाममा वितरण भइरहेको अनुदानमा भ्रष्टाचार भएकाले छानबिन हुनुपर्ने बताइन् । ‘राज्यले बर्सेनि अनुदान दिइरहे पनि उत्पादन सुधार भएको छैन । सरकारले अनुदान वितरण भएको तथ्यांक देखाउँछ, तर कृषि उत्पादन बढेको तथ्यांक देखाउन सक्दैन,’ उनले भनिन् ।
सात प्रदेशका गोदाममा कति छ युरिया र डिएपी मौज्दात ?
कृषि सामग्री कम्पनी लिमिटेडले देशभरका गोदाममा नौ करोड ८२ लाख ३५ हजार चार सय ५० किलो रासायनिक मल मौज्दात रहेको जानकारी दिएको छ । कम्पनीले ५० किलो दरका बोरामा मल उपलब्ध गराउँदै आएको छ । त्यसैले गोदाममा १९ लाख १९ लाख ६४ हजार बोरा मल रहेको कृषि, वन तथा पर्यावरण मन्त्रालयले जनाएको छ ।
मन्त्रालयले गोदामबाट जिम्मेवार सहकारी र स्थानीय तहले समयमै मल नउठाएको पनि दाबी गरेको छ । मन्त्रालयका अनुसार कोशी प्रदेशका शाखा कार्यालयमा दुई लाख ३९ हजार ९० बोरा युरिया र ४१ हजार आठ सय ५२ बोरा डिएपी मौज्दात छ । त्यस्तै, पोटास ३२ लाख ४८ हजार आठ सय ५० केजी मौज्दात रहेको कम्पनीको तथ्यांक छ ।
मधेश प्रदेशका शाखा कार्यालयमा ६ लाख २२ हजार ६ सय २४ बोरा युरिया र दुई लाख २९ हजार एक सय २४ बोरा डिएपी मौज्दात रहेको मन्त्रालयले जानकारी दिएको छ । बागमतीमा ८१ हजार आठ सय ६६ बोरा युरिया र ११ हजार नौ सय ८३ बोरा डिएपी, गण्डकीमा आठ हजार एक सय ३२ बोरा युरिया र दुई हजार ६ सय १६ बोरा डिएपी, लुम्बिनीमा तीन लाख सात सय १७ बोरा युरिया र ९२ हजार आठ सय ७६ बोरा डिएपी, कर्णालीमा चार हजार दुई सय ४५ बोरा युरिया र एक हजार चार सय ४३ बोरा डिएपी तथा सुदूरपश्चिममा ४९ हजार ८२ बोरा युरिया र पाँच हजार आठ सय ६५ बोरा डिएपी मौज्दात रहेको मन्त्रालयले जनाएको छ ।
कृषि सामग्री कम्पनी लिमिटेडका प्रबन्ध सञ्चालक विष्णुप्रसाद पोखरेलले रासायनिक मलको उपलब्धतामा ठुलो समस्या नरहेको बताए । ‘अहिले रोपाइँको सिजन नभएकाले मलको माग हुन सकेको छैन,’ उनले भने, ‘गोदाममा रहेको मल बिस्तारै पालिकाको समन्वयमा सहकारीतर्फ परिचालन भइरहेको छ ।’ उनले रोपाइँका लागि युरिया मल पर्याप्त रहेको र डिएपी केही कम परिमाण मौज्दात रहेको बताए ।