नयाँ कमला पुलको माग गर्दै मधेश प्रदेश सभाअगाडि टायर बालेर प्रदर्शन

शुक्रबार, २९ जेठ, २०८३
डिजिटल संस्करण

मधेश प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि ल्याएको नीति तथा कार्यक्रममा नयाँ कमला पुलको विषय समावेश नगरेपछि प्रदेश सभाअगाडि आन्दोलन गरिएको छ ।

नीति तथा कार्यक्रममा समावेश नभएपछि आगामी आर्थिक वर्ष ०८३/८४ को बजेटमा नयाँ कमला पुल निर्माणका लागि बजेट विनियोजन गर्नुपर्ने माग गर्दै स्थानीयले दबाबमूलक आन्दोलन गरेका हुन् । सिराहा र धनुषाका स्थानीयले मधेश प्रदेश सभाअगाडि टायर बालेरसमेत प्रदर्शन गरेका छन् ।

हुलाकी राजमार्गअन्तर्गत सिराहा र धनुषा जिल्लालाई जोड्ने कमला पुल निर्माणमा बजेट विनियोजन हुनुपर्ने माग गर्दै दुवै जिल्लाका स्थानीयले प्रदेश सभा सदस्य तथा मधेश सरकारलाई दबाब दिँदै आन्दोलन गर्दै आएका छन् ।

प्रदर्शनका क्रममा उनीहरूले ‘झुटा आश्वासन चाहिँदैन, मनोमानी चल्दैन’, ‘नयाँ कमला पुल निर्माण गर्न बजेट विनियोजन गर’ जस्ता नारा लगाएका थिए ।

आन्दोलनमा सहभागी इन्जिनियर प्रवीण यादवले कमला पुल निर्माण गर्ने विषयमा प्रदेश सरकारले लिखित सम्झौतासमेत गरिसकेको भन्दै त्यसको कार्यान्वयन हुनुपर्ने बताए । आन्दोलनकारीहरूले मुख्यमन्त्री, अर्थमन्त्री तथा भौतिक पूर्वाधारमन्त्रीलाई बजेट विनियोजनका लागि ध्यानाकर्षण गराइसकेको जनाएका छन् ।

डाइभर्सन बगाउँदा डुंगाको सहारा

कमला नदीमा बनाइएको अस्थायी डाइभर्सन बगाएको छ । डाइभर्सन बगाएपछि नदी वारपार गर्न स्थानीयलाई डुंगा (बोट) को सहारा लिनुपर्ने बाध्यता भएको छ ।

कमला नदीमा पानीको बहाव बढेसँगै भासिएर पुनः निर्माण भइरहेको कमला पुलको छेउमा दुईवटा बोट सञ्चालनमा आएका छन् । सिराहा र धनुषाका स्थानीय अहिले जोखिमपूर्ण यात्रा गर्न बाध्य भएका छन् ।

सुझावित समाचार