जलवायु संकट बढेसँगै के गर्नुपर्छ भारतले ?

बिहिबार, २८ जेठ, २०८३
डिजिटल संस्करण
  • वैज्ञानिकका विचारमा आर्द्रता र गर्मी यही रूपमा बढ्दै गए सन् २०४० सम्ममा विनाशको परिदृश्य वास्तविकतामा परिणत हुनेछ

प्रिमनसुन सुरु भए पनि भारतका अधिकांश क्षेत्र सुक्खा छन् । देशका धेरैजसो नदीको सतह ह्वात्तै घटेको छ र ससाना खोला पनि सुकेका छन् । सहरका अधिकांश मानिसले पिउने पानीको अभाव झेलिरहेका छन् । देशकै राजधानी नयाँदिल्ली पनि यसको अपवाद रहेन । यो ‘सुपर एल निनो’को वर्ष हो । एल निनो गतिविधि धेरै वर्षको अन्तरालमा एकपटक देखिन्छ, जतिवेला विश्वको सबैभन्दा ठुलो महासागर, प्रशान्त महासागरको सतहको तापक्रम दुई–तीन डिग्री सेल्सियसभन्दा माथि बढ्छ । यसले समुद्रको सतहको हावालाई तातो बनाउँछ र हावाले आफ्नो दिशा परिवर्तन गर्छ । फलस्वरूप, दक्षिण अमेरिकामा अत्यधिक वर्षा र बाढी आउँछ भने अस्ट्रेलिया, इन्डोनेसिया र दक्षिण एसियाले चरम खडेरीको सामना गर्छन् ।

यस वर्ष सुपर एल निनोका कारण भारतमा सामान्यभन्दा कम मनसुनी वर्षा हुने चिन्ता छ । मौसमविद्को अनुमान छ कि वर्षाको तीव्रता पनि सामान्य हुनेछ । अगस्ट र सेप्टेम्बरमा वर्षाबाट केही हदसम्म राहत मिल्नेछ, तर त्यतिन्जेल रोपाइँको मौसम सकिनेछ । हर्मुजको जलमार्ग बन्द भएपछि हामी पहिले नै गम्भीर आर्थिक जोखिमको सामना गरिरहेका छौँ । म यस विषयमा पछिल्ला स्तम्भमा छलफल गर्नेछु । आज, म हामीले सामना गरिरहेका जलवायु–संकटले प्रेरित चुनौतीमा ध्यान केन्द्रित गर्दै छु । सुपर एल निनो हामीले अनुभव गरिरहेको न्यानो प्रणालीको एउटा सानो हिस्सा मात्र हो । वास्तविकता के हो भने एल निनोविना (एलनिनो गतिविधि नहुँदा) पनि हाम्रा सहर डरलाग्दो सुक्खा भट्टीमा परिणत भइरहेका छन् । हालै प्रकाशित एक रिपोर्टले स्तब्ध पार्ने निष्कर्ष निकालेको छ । विश्वका सय सबैभन्दा ताता सहरमध्ये ९७ सहर भारतमा छन् । यसको परिणाम भयानक हुन सक्छ । सर्वसाधारण नागरिक सबैभन्दा बढी प्रताडित हुनेछन् ।

गंगा मैदानका अधिकांश सहरमा तापक्रम अचानक ४५ डिग्रीभन्दा माथि जान थालेको होइन । सरकारले सर्वसाधारणलाई अनावश्यक रूपमा खुला ठाउँमा ननिस्कन अपिल गरेको छ । तर, यो असल नियतले जारी अपिल पालना गर्ने क्षमता कति जनासँग छ ? भारतको गैरकृषि श्रमशक्तिको उन्नाइस प्रतिशत अझै पनि असंगठित क्षेत्रमा कार्यरत छ । त्यस्तै, जनसंख्याको ५२ प्रतिशत कृषिमा संलग्न छ । यी ती नागरिक हुन्, जसले आफ्नो हातमुख जोड्न गर्मीको पर्वाह नगरी काम गर्नुपर्ने बाध्यता छ । तथ्यांकले सुझाव दिन्छ कि विगत पाँच वर्षमा गर्मीसँग सम्बन्धित समस्याका कारण तीन हजारभन्दा बढी मानिसको मृत्यु भएको छ । मध्य भारत, बुन्देलखण्ड, राजस्थान र उत्तरका अन्य सुक्खा क्षेत्रका साथै दक्षिण भारतको खडेरी प्रभावित भागमा एउटा प्रवृत्ति देखिन्छ, पानीको अभावका कारण मानिस अस्थायी वा स्थायी रूपमा बसाइँ सरेका छन्, जलवायु परिवर्तनले उनीहरूलाई पहिल्यै एक ठाउँबाट अर्को ठाउँमा जान बाध्य पारेको थियो । 

धेरै मौसमविद् विश्वास गर्छन् कि यदि अवस्थालाई तुरुन्तै नियन्त्रणमा लिइएन भने केही क्षेत्रमा उच्च ‘वेट बल्ब टेम्प्रेचर’ (पसिना बग्दा वाष्पीकरणको माध्यमबाट शरीर चिसो हुने प्रक्रिया) का घटना बढ्न सक्छन् । यो गर्मी र आर्द्रताको संयोजन हो, जसले मानव शरीर विज्ञानलाई समेत ओझेलमा पारेको छ । यसबाट प्रभावित मानिसको दुईदेखि ६ घण्टाको अवधिमा मृत्यु हुन सक्छ । हरेक वर्ष गर्मी बढ्दै जाँदा गंगा–यमुना मैदान र तटीय क्षेत्रमा जलवायु–प्रेरित मौसमी सामूहिक बसाइँसराइको चिन्ता बढेको छ । वैज्ञानिकको एक समूहको विचारमा यदि आर्द्रता र गर्मी बढ्दै गयो भने २०४० सम्ममा विनाशको परिदृश्य वास्तविकतामा परिणत हुनेछ ।

मौसमको तस्बिर एकतर्फी प्रकोप होइन । तापक्रम बढिरहेको छ, हामी जाडोमा रेकर्ड तोड्ने न्यूनतम तापक्रम देखिरहेका छौँ र अत्यधिक वर्षाले विनाश निम्त्याइरहेको छ । यस्तो अवस्थामा हामीले के गर्नुपर्छ ? हामी चीन र अन्य देशलाई हेर्न सक्छौँ । तिनले जलवायु चरम सीमाको प्रतिकूल प्रभावलाई नियन्त्रण गर्न प्राकृतिक र आधुनिक वैज्ञानिक हस्तक्षेप र आविष्कार प्रयोग गरेका छन् । म हाम्रा पुरानो परम्परा उल्लेख गर्न चाहन्छु । बृहदारण्यक उपनिषद्मा एउटा अंश छ, जसको नेपाली अनुवाद यसरी गरिएको छ, ‘हाम्रो लागि बहने हावा स्फुर्तीदायी र रमाइलो हुनुपर्छ । हाम्रा जलस्रोत र नदीहरूले हामीलाई अमृतजस्तै मिठो र स्वच्छ पानी प्रदान गर्नुपर्छ । पृथ्वीमा रहेका सबै औषधि, जडीबुटी र वनस्पति जीवनदायी र पौष्टिक हुनुपर्छ । हाम्रा रातहरू शान्त हुनुपर्छ र बिहानहरू ऊर्जा र प्रफुल्लताले भरिएको हुनुपर्छ । पृथ्वीको माटो उर्वर र प्रशस्त हुनुपर्छ । हामीलाई पालनपोषण गर्ने ब्रह्माण्ड र आकाश हाम्रा पिताजस्तै उदार हुनुपर्छ ।’ हाम्रा पुर्खाले कहिल्यै प्रकृतिलाई अतिक्रमण गर्न खोजेनन् । बरु, तिनले प्रकृतिको निरन्तर अनुग्रह र कृपा प्राप्त गर्न सन्तुलन खोज्न अथक प्रयास गरे । हामीले यसलाई अनुसरण गर्न किन बिर्सेका छौँ ?

हिन्दुस्तान टाइम्सबाट
(शेखर हिन्दुस्तान टाइम्सका प्रधान सम्पादक हुन्)

सुझावित समाचार