विश्वकप २०२६ : उद्घाटन खेलमा मेक्सिकोले दक्षिण अफ्रिकाको सामना गर्ने

बिहिबार, २८ जेठ, २०८३
डिजिटल संस्करण

२३औँ विश्वकपको उद्घाटन खेलमा सहआयोजक मेक्सिकोले बिहीबार मध्यराति दक्षिण अफ्रिकाविरुद्ध प्रतिस्पर्धा गर्नेछ । समूह ‘ए’को पहिलो खेलमा दक्षिण अफ्रिकाको तुलनामा मेक्सिको बलियो देखिन्छ ।

चार दशकपछि पहिलोपटक विश्वकप आयोजना गर्न लागेको मेक्सिको चार वर्षअघिको कतार विश्वकपमा समूह चरणबाटै बाहिरिएको थियो । सन् १९९४ देखि २०१८ सम्म मेक्सिकोको लगातार सातपटक अन्तिम १६ को यात्रा कतार विश्वकपमा टुंगिएको थियो ।

यसपटक मेक्सिको नयाँ अध्याय सुरु गर्न चाहन्छ । मेक्सिको सन् १९७० र १९८६ को संस्करणको क्वार्टरफाइनलसम्म पुगेको थियो । त्यसपछि मेक्सिको प्रिक्वार्टरफाइनलबाटै बाहिरिँदै आएको छ । घरेलु टोलीको आशा गरेको खेलाडी १७ वर्षे गिल्बर्टो मोरा हुन् । मेक्सिकोबाट सबभन्दा कम उमेरको खेलाडीका रूपमा उनले १६ वर्षको उमेरमा डेब्यु गरेका थिए ।

दक्षिण अफ्रिका
सन् २०१० मा दक्षिण अफ्रिकाले पहिलोपटक विश्वकप आयोजना गरेको थियो । त्यो संस्करणपछि दक्षिण अफ्रिका विश्वकपको मैदानमा फर्किएको यो नै पहिलोपटक हो । १६ वर्षअघि फ्रान्समाथि २–१ को स्तब्ध नतिजा निकालेको दक्षिण अफ्रिका पनि विश्वकपमा समूह चरणबाट माथि उठ्न सकेको थिएन । विश्वकप इतिहासमा त्यतिवेला दक्षिण अफ्रिका समूह चरणबाटै बाहिरिने पहिलो आयोजक बनेको थियो ।

सन् १९९८ र २००२ मा विश्वकपमा दक्षिण अफ्रिका नकआउटअगाडि नै बाहिरिएको थियो । अफ्रिकी महादेशमा नाइजेरियालाई पछि पार्दै दक्षिण अफ्रिकाले विश्वकपको टिकट काटेको थियो । विश्वकपमा पहिलोपटक नकआउट चरण पुग्ने लक्ष्य दक्षिण अफ्रिकको हुनेछ । दक्षिण अफ्रिकाको मुख्य प्रशिक्षक बेल्जियमका ह्युगो ब्रुस हुन् । 

सुझावित समाचार