बर्दियामा प्रकृति पथ प्रदर्शकहरूलाई उच्चस्तरीय तालिम दिइएको छ। ठाकुरद्वारामा रहेको राष्ट्रिय प्रकृति संरक्षण कोषको आयोजनामा प्रकृति पथ प्रदर्शकहरूलाई तालिम दिइएको हो।
बर्दिया राष्ट्रिय निकुञ्ज र बाँके राष्ट्रिय निकुञ्जमा प्रकृति पथ प्रदर्शकको काम गर्दै आएको १८ जनालाई तालिम दिइएको राष्ट्रिय प्रकृति संरक्षण कोषले जनाएको छ। तालिमको आयोजना बर्दिया राष्ट्रिय निकुञ्ज र कोषले गरेका हुन्। तालिममा बाँके राष्ट्रिय निकुञ्ज र प्रकृति पथ प्रदर्शक संघको सहकार्य तथा नेपाल पर्यटन बोर्डको सहयोग थियो।
बर्दिया राष्ट्रिय निकुञ्जका संरक्षण अधिकृत सरोजमणि पौडेलले प्रकृति पथ प्रदर्शकको काम गर्ने प्रकृति पथ प्रदर्शकहरू सक्षम र योग्य हुनुपर्ने बताए। उनले भने, ‘निकुञ्ज घुम्न आउने पर्यटक विभिन्न देशबाट आउने भएको हुँदा निकुञ्ज घुमाउँदा प्रकृति पथ प्रदर्शकले कानुनको बारेमा समेत बताउनुपर्छ। निकुञ्जभित्र गर्न हुने र नहुने कामको बारेमा बताएर सचेत बनाउने दायित्व पनि प्रकृति पथ प्रदर्शकको हुन्छ।’
नेपाल पर्यटन बोर्ड दिगो पर्यटन परियोजनाका राष्ट्रिय परियोजना संयोजक खड्कबिक्रम शाहले पर्यटन क्षेत्रको विकासका लागि बोर्डले निरन्तर रूपमा काम गर्दै आएको बताए। उनले भने, ‘पर्यटन बोर्डको कार्यक्षेत्र बर्दिया पनि भएको हुँदा आगामी दिनमा पनि पर्यटन गतिविधि बढाउनका लागि स्थानीय तह र सरोकारवाला निकायसँग सहकार्य गरेर काम गर्नेछौँ।’
प्रकृति पथ प्रदर्शकहरूले पनि पर्यटकसँग गर्ने व्यवहार र आफ्नो योग्यता क्षमताको निरन्तर रूपमा विकास गर्न आवश्यक रहेको परियोजना संयोजक शाहले बताए।
राष्ट्रिय प्रकृति संरक्षण कोषका प्रमुख अजित तुम्बाहाङफेले तालिममा सिकेको ज्ञान र सीपलाई व्यवहारमा लागू गर्दै स्वरोजगार आत्मनिर्भर बन्नुपर्ने बताए। तालिममा सहभागी प्रकृति पथ प्रदर्शक रन्जु महतराले तालिम अवधीमा वन्यजन्तु तथा वनस्पतिको बारेमा सिकेको बताइन्। अर्का सहभागी अनित थारूले तालिममा निकुञ्ज घुम्न आउने पर्यटकलाई कसरी सत्कार गर्ने र स्थानीय कला संस्कृतिको प्रवर्द्धन र प्रचारप्रसार कसरी गर्ने भन्ने सिक्ने अवसर पाएको बताए।
तालिममा फोटोग्राफी, पर्यटन, निकुञ्ज जाँदा अपनाउनुपर्ने सुरक्षाका उपाय, वन्यजन्तु, चराचुरुंगी, उभयचर सरीसृप, डल्फिन, वनस्पतिलगायत विषयको बारेमा सिकाइएको थियो।