ज्योति विकास बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत आर्थिक वर्ष ०८२/८३ मा देशका विभिन्न ग्रामीण तथा दुर्गम क्षेत्रका ११ वटा स्वास्थ्य केन्द्रलाई बेबी वार्मर (न्यानो नानी) मेसिन प्रदान गरेको छ।
नवजात शिशुहरूको शारीरिक तापक्रम सन्तुलित राख्दै हाइपोथर्मिया (अल्पताप)को जोखिम न्यूनीकरण गर्न महत्त्वपूर्ण भूमिका खेल्ने यी जीवनरक्षक उपकरणहरू आधारभूत स्वास्थ्य सेवा तथा आवश्यक चिकित्सा पूर्वाधारको अभाव रहेका क्षेत्रलाई प्राथमिकतामा राखी वितरण गरिएको बैंकले जनाएको छ।
सुरक्षित प्रसूति सेवाको पहुँच दुर्गम क्षेत्रसम्म विस्तार गर्ने उद्देश्यसहित बैंकले आफ्ना शाखा नभएका स्थानहरूमा समेत यस्ता अत्यावश्यक स्वास्थ्य उपकरण उपलब्ध गराउँदै आएको छ। विशेषगरी अस्पताल तथा विशेषज्ञ स्वास्थ्य सेवाको सहज पहुँच नभएका र नवजात शिशुहरूलाई आवश्यक उपचार सुविधा अभाव भएका क्षेत्रहरूलाई प्राथमिकतामा राखेर सहयोग गरिएको बैंकको भनाइ छ।
उपकरण हस्तान्तरण कार्यक्रममा सम्बन्धित स्वास्थ्य चौकीका पदाधिकारी, स्थानीय सरोकारवाला तथा विभिन्न क्षेत्रका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो। सो अवसरमा अस्पतालका चिकित्सक, नर्स तथा स्वास्थ्यकर्मीहरूलाई विज्ञमार्फत बेबी वार्मर सञ्चालनसम्बन्धी विशेष तालिमसमेत प्रदान गरिएको थियो।
यस आर्थिक वर्ष बैंकले पाँचथरको एकतिन हेल्थ पोस्ट, खोटाङको जनसेवा नगर अस्पताल, अछामको भाटाकाटिया हेल्थ पोस्ट, संखुवासभाको नुम प्राथमिक हेल्थ केयर सेन्टर र सिसुवाखोला हेल्थ पोस्ट, बझाङको कालुखेती हेल्थ पोस्ट र मष्टा हेल्थ पोस्ट, बाजुराको पुर्भुता आधारभूत स्वास्थ्य सेवा केन्द्र, पाल्पाको ज्यामिरे हेल्थ पोस्ट, रोल्पाको लिवाङ हेल्थ पोस्ट तथा मकवानपुरको आमभञ्ज्याङ हेल्थ पोस्टलाई बेबी वार्मर मेसिन उपलब्ध गराएको हो।
यस परियोजनामार्फत ज्योति विकास बैंकले हालसम्म देशभर ७३ वटा बेबी वार्मर मेसिन प्रदान गरिसकेको जनाएको छ। बैंकका अनुसार यसअघि वितरण गरिएका उपकरणमार्फत हरेक वर्ष करिब दुई हजार सात सयभन्दा बढी नवजात शिशुले सेवा प्राप्त गर्दै आएका छन् भने हालसम्म करिब १३ हजार पाँच सयभन्दा बढी शिशु प्रत्यक्ष रूपमा लाभान्वित भएका छन्।
‘स्वास्थ्यप्रद जनशक्ति नै राष्ट्र निर्माणको मेरुदण्ड हो’ भन्ने मान्यतालाई आत्मसात् गर्दै बैंकले नवजात शिशुको अकाल मृत्यु न्यूनीकरण तथा जीवन रक्षा गर्ने उद्देश्यका साथ यस्ता कार्यक्रमलाई निरन्तरता दिँदै आएको जनाएको छ।