संयुक्त अरब इमिरेट्सको वायुसेवा कम्पनी फ्लाई दुबईले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा आउँदो २३ सेप्टेम्बरदेखि दैनिक व्यावसायिक अन्तर्राष्ट्रिय उडान भर्ने भएको छ । कम्पनीले सुरुमा एक महिना पोखरामा उडान भर्ने भएको हो । उडान सुरु गर्नका लागि फ्लाई दुबईका जोखिम व्यवस्थापन हेर्ने उपाध्यक्ष एड्रियन लुकास नेतृत्वको एक टोली एक साताअघि पोखरा आएको थियो । पोखरा आएको प्राविधिक टोलीले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको विस्तृत स्थलगत निरीक्षणसँगै विमानस्थलका अधिकारीहरू र विमानस्थलको प्राविधिक पक्षसँगै उडान सञ्चालन लागि छलफल गरेको थियो।
लुकास नेतृत्वको टोलीले विमानस्थलको प्राविधिक टोलीसँग लामो छलफलसँगै धावनमार्ग, विमानस्थलको सुरक्षा प्रणाली, प्राविधिक पूर्वाधार, उडान सञ्चालनका विविध पक्षहरूबारे स्थलगत जानकारी लिएपछि पोखरामा उडान भर्ने निर्णय गरेको थियो । सोही निर्णयपछि उडानको अनुमति पाएको पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले जानकारी दिए।
मेयर आचार्यले सबैको लामो प्रयासपछि फ्लाई दुबईले उडान सुरु गर्न लागेको जानकारी दिए। फ्लाई दुबईले सुरुमा एक महिनाका लागि उडान भर्नका लागि अनुमति लिएकोमा यसलाई दिगो रूपमा लैजान पर्यटन व्यवसायी, पोखरेली र कास्कीसँगै आसपासमा बसोबास गर्नेहरू, स्वदेश तथा विदेशमा रहेका नेपालीहरूलाई पोखरा–दुबई रुटबाट यात्रा गरी सुरुको एकमहिने उडानलाई सफल बनाउन आग्रह गरे।
आचार्यले यो एउटा उडान थपिने विषय मात्र नभएर पोखरालाई अन्तर्राष्ट्रिय पहिचान, पर्यटन प्रवर्द्धन, आर्थिक गतिविधिको विस्तारसँगै काठमाडौंकेन्द्रित हवाई चापलाई विकेन्द्रीकरण गर्ने ऐतिहासिक अवसरसमेत रहेको बताए । दुबईसँग प्रत्यक्ष हवाई सम्पर्क स्थापनापछि मध्यपूर्व, युरोप, अफ्रिकालगायतका तीन सयभन्दा धेरै सहरसँग पोखराको पहुँच पुग्ने आचार्यले बताए।
फ्लाई दुबईले पोखरामा उडान भर्ने भएपछि पोखराका पर्यटन व्यवसायीहरूसमेत उत्साहित भएका छन्। पोखरा पर्यटन परिषद्का पूर्वअध्यक्ष पोमनारायण श्रेष्ठले लामो प्रयासपछि फ्लाई दुबईले उडान सुरु गर्न लागेकाले यसलाई सफल बनाउन सबैको साथ सहयोग आवश्यक रहेको बताए। उडानले पोखराको मात्र नभएर आसपास र छिमेकी जिल्लालाई फाइदा पुने बताए। सँगै मध्यपूर्वका देशहरूसँगै विश्वका अन्य देशबाट सिधै पर्यटकहरू पोखरा आउने र यसले गर्दा यस क्षेत्रको आर्थिक क्षेत्र चलायमान हुने श्रेष्ठले बताए।
नेपाल एसाेसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाटा) गण्डकीका अध्यक्ष किशोर दाहालले पोखरासँगै आसपासको क्षेत्र मात्र नभएर समग्र देशका लागि खुसीको खबर रहेको बताए। पोखरालाई विश्वबजारसँग सिधा जोड्नका लागि सुरु हुन लागेको उडानले सहयोग गर्ने बताउँदै उडानले पोखरा आउने विदेशी पर्यटकको संख्यासमेत बढ्ने दाहालको भनाइ छ। नेपाल आउने कतिपय विदेशी पर्यटकले सिधै पोखरा आउने चाहना राखे पनि नपाएको अवस्थामा उडानले सिधै पोखरा आउने विदेशी पर्यटकलाई आकर्षित गर्ने र त्यस्ता पर्यटकको आगमनसमेत बढ्ने उनको भनाइ छ ।
फ्लाई दुबई विश्वकै प्रतिष्ठित वायुसेवा कम्पनी इमिरेट्सको भगिनी एयरलाइन्स हो। फ्लाई दुबईले पोखराबाट उडान सुरु गर्नासाथ पोखराको कनेक्टिभिटी सिधै इमिरेट्सको विश्व सञ्जालसँग जोडिने र यस्ले पोखरा विश्वका तीन सयभन्दा बढी प्रमुख सहरहरूसँग सिधा जोडिनेछ। उडानले युरोप, अमेरिका र अफ्रिकाका पर्यटकहरू दुबई हुँदै सिधै सहज रूपमा पोखरा आउन सक्ने र गण्डकी प्रदेशका नागरिकहरूलाई वैदेशिक रोजगारी, व्यवसाय र भ्रमणका लागि काठमाडौं धाउनुपर्ने बाध्यतासमेत अन्त्य हुने दाहालले बताए ।