एक सातादेखि प्रादेशिक जिल्ला अस्पताल उदयपुरमा एक्स–रे सेवा बन्द, बिरामी निजी अस्पताल धाउन बाध्य

बुधबार, २७ जेठ, २०८३
डिजिटल संस्करण

प्रादेशिक जिल्ला अस्पताल उदयपुरमा एक सातादेखि एक्स–रे सेवा बन्द हुँदा उपचारका लागि आएका बिरामी तथा सेवाग्राही समस्यामा परेका छन् । अस्पतालमा एक्स–रे सेवा उपलब्ध नहुँदा दुर्घटना तथा हाडजोर्नीसम्बन्धी समस्या भएका बिरामी निजी अस्पताल वा जिल्लाबाहिरका स्वास्थ्य संस्थामा जान बाध्य भएका हुन् । 

जिल्लाकै प्रमुख सरकारी स्वास्थ्य संस्था मानिने प्रादेशिक जिल्ला अस्पतालमा एक्स–रे सेवा अवरुद्ध भएपछि दैनिक उपचारका लागि आउने सेवाग्राही प्रत्यक्ष प्रभावित भएका हुन् । अस्पताल प्रशासनका अनुसार एक्स–रे मेसिनमा प्राविधिक समस्या आएपछि सेवा बन्द भएको हो ।

अस्पताल पुगेका गाईघाटका स्थानीय रामकुमार राई आफ्नो छोराको हात भाँचिएपछि उपचारका लागि अस्पताल पुगेका थिए । तर, एक्स–रे सेवा बन्द रहेको जानकारी पाएपछि उनी थप उपचारका लागि विराटनगर जानुपर्ने अवस्थामा पुगेको गुनासो गरे । ‘छोराको हात भाँचिएर अस्पताल आएको थिएँ । यहाँ एक्स–रे सेवा बन्द रहेछ । अब विराटनगर हिँडेको हुँ,’ उनले भने ।

यस्तै, अर्का सेवाग्राही रामुनन्द सदाले पनि अस्पतालमा एक्स–रे सेवा उपलब्ध नभएकाले निजी अस्पतालमा जानुपरेको गुनासो गरे । उनले सरकारी अस्पतालमा आवश्यक सेवा नपाउँदा आर्थिक भार बढेको बताए । ‘डाक्टरले एक्स–रे गर्न भनेपछि अस्पताल आएँ, तर सेवा बन्द रहेछ । बाध्य भएर निजी अस्पताल जानुपर्यो,’ उनले भने । 

अस्पतालका म्यानेजर जयप्रकाश चौधरीले एक सातादेखि एक्स–रे सेवा बन्द रहेको पुष्टि गरे । उनका अनुसार मेसिनमा आएको समस्या समाधानका लागि सम्बन्धित निकायसँग निरन्तर समन्वय भइरहेको छ । ‘हामीले मर्मतका लागि पटक–पटक सम्बन्धित पक्षलाई जानकारी गराइरहेका छौँ । सरकारी प्रक्रिया र प्राविधिक कारणले ढिलाइ भएको हुन सक्छ,’ उनले भने । 

प्रादेशिक जिल्ला अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट (मेसु) मुकेश झाले एक्स–रे मेसिन मर्मत प्रक्रियामा रहेको जानकारी दिए । उनले सेवा पुनः सञ्चालनका लागि आवश्यक काम भइरहेको र छिट्टै समस्या समाधान हुने बताए । ‘हाल एक्स–रे सेवा बन्द छ । मर्मतको प्रक्रिया अगाडि बढिरहेको छ । सकेसम्म चाँडो सेवा सञ्चालन गर्ने प्रयासमा छौँ,’ उनले भने । 

जिल्ला समन्वय समिति उदयपुरका प्रमुख तथा जिल्ला अस्पताल उदयपुरका  विकास समितिका अध्यक्ष गौरबहादुर विश्वकर्माले एक्स–रे सेवा पुनः सञ्चालनका लागि विकास समितिले आवश्यक निर्णय गरिसकेको बताए । उनका अनुसार मेसिनमा आएको वास्तविक समस्या पहिचान गर्न समय लागेका कारण मर्मत कार्यमा ढिलाइ भएको हो । ‘समितिको बैठकबाट तत्काल मर्मत गर्ने निर्णय भइसकेको छ । के बिग्रिएको हो भन्ने प्राविधिक विषय पहिचान गर्न समय लाग्यो । मर्मतका लागि आवश्यक केही सामान बाहिरबाट ल्याउनुपर्ने भएकाले पनि ढिलाइ भएको हुन सक्छ,’ अध्यक्ष विश्वकर्माले भने ।

प्रादेशिक जिल्ला अस्पताल उदयपुर जिल्लाका सर्वसाधारणका लागि प्रमुख सरकारी स्वास्थ्य सेवा केन्द्र हो । यहाँ दैनिक सयौँ बिरामी उपचारका लागि आउने गर्छन् । यस्ता आधारभूत स्वास्थ्य सेवा लामो समयसम्म अवरुद्ध हुँदा विशेष गरी आर्थिक अवस्था कमजोर भएका नागरिक बढी प्रभावित हुने गरेका छन् ।
 

सुझावित समाचार