कोरियन प्रविधिमा आधारित ‘ओरा’ ब्रान्डको कस्मेटिक नेपालमै उत्पादन

मंगलबार, २६ जेठ, २०८३
डिजिटल संस्करण

गैरआवासीय नेपाली संघका पूर्वअध्यक्ष विनोद कुँवरले कोरियन उद्यमीसँग मिलेर कोरियन प्रविधिमा आधारित ‘ओरा’ ब्रान्डका कस्मेटिक सामग्रीहरू नेपालमै उत्पादन थालेका छन्।

ललितपुरको इमाडोलस्थित उद्योगबाट उत्पादित सामग्री बजारमा समेत आइसकेको छ। मंगलबार ललितपुरमा एक कार्यक्रम गरी कुँवरले दिएको जानकारीअनुसार प्रारम्भमा एनआरएन र कोरियन उद्यमीको संयुक्त ३५ करोड लगानीमा उद्योग सञ्चालन भइरहेको छ।

कोरियन प्रविधि, अनुसन्धान, उत्पादन मापदण्ड तथा नेपाली उद्यमशीलताको समिश्रणबाट स्थापना भएको कम्पनीले ओरा ब्रान्डमार्फत नेपाली बजारमा गुणस्तरीय स्किन केयर तथा कस्मेटिक्स उत्पादन उपलब्ध गराउँदै आएको छ।

‘विदेशमा बसेर आर्जन गरेको अनुभव, सीप र पुँजीलाई नेपालमै लगानी गर्नु आफ्नो दायित्व भएको बुझेको छु,’ उनले भने, ‘कस्मेटिक सामग्रीका अलवा नुडल्स उत्पादनमा पनि हामी सक्रिय छौँ।’ स्वदेशमै अन्तर्राष्ट्रिय गुणस्तरका कस्मेटिक उत्पादन गर्न सक्ने सन्देश दिएर ओरा ब्रान्डको सुरुवात गरेको उनले बताए।

कार्यक्रममा ब्रान्ड एम्बेस्डर रहेकी नायिका भूमिका लिम्बूले ओराको उत्पादन गुणस्तरीय र स्किनको सुरक्षा गर्न मद्दत मिल्ने जिकिर गरिन्।

सुझावित समाचार