इथियोपियाको आमनिर्वाचनले बढाउन सक्छ अस्थिरता

मंगलबार, २६ जेठ, २०८३
डिजिटल संस्करण
  • वर्तमान प्रधानमन्त्री अबीले जित्ने निश्चितजस्तो देखिएको निर्वाचनले इथियोपियामा बढ्दो राजनीतिक दरारलाई थप बढाउन सक्छ 

सोमबार इथियोपियामा सम्पन्न आमनिर्वाचनले सत्तारुढ प्रधानमन्त्री अबी अहमदलाई थप पाँच वर्ष शासनमा कायम राख्ने लगभग निश्चित देखिन्छ । तर, अबीको जितले देशमा बढ्दो राजनीतिक दरारलाई भने थप बढाउन सक्छ, जसले कालान्तरमा अफ्रिकाको दोस्रो सबैभन्दा बढी जनसंख्या भएको राष्ट्रलाई अस्थिर बनाउने खतरा छ ।

इथियोपियाको निर्वाचन आयोगले ‘प्रतिकूल परिस्थिति’ र हिंसात्मक अवरोधका कारण दर्जनौँ निर्वाचन क्षेत्रमा मतदान हुन नसक्ने बताएको थियो । यसमा धेरै क्षेत्र सन् २०२० देखि २०२२ सम्म विनाशकारी गृहयुद्धको केन्द्र रहेको टिग्रे प्रदेशको उत्तरी क्षेत्रमा रहे । यस क्षेत्रमा संघीय सरकार र ‘टिग्रे पिपुल्स लिबरेसन फ्रन्ट (टिपिएलएफ)’ बिच पुनः युद्ध भड्किन थालेकाले त्यहाँ ठुलो आन्तरिक विस्थापन सुरु भइसकेको छ ।

मतदाता अन्य प्रदेशमा पनि प्रभावित भए । अम्हारा प्रदेशमा फानो मिलिसियाले मच्चाएको हिंसा प्रभावित क्षेत्र र प्रधानमन्त्री अबीको गृह प्रदेश ओरोमियाका केही भागमा मतदान हुन सकेन । ओरोमियामा संघीय, क्षेत्रीय र पृथकतावादी शक्तिबिच लडाइँ चलिरहेको छ । ओरोमिया प्रदेशको एउटा कृषि समुदायमा चुनावको दिनसमेत सैन्य आक्रमण भएको थियो, जसमा दर्जनौँ नागरिक मारिएका थिए ।

सन् २०२१ मा भएको अघिल्लो आमनिर्वाचनमा लगभग ९४ प्रतिशत संसदीय सिट जित्ने अबीको ‘प्रोस्पेरिटी पार्टी’ले बलियो आर्थिक वृद्धि हासिल गर्यो । यो आर्थिक वृद्धि सरकारले चालेका विभिन्न आर्थिक सुधार (जस्तै– विदेशी मुद्रा नियन्त्रणलाई खुकुलो बनाउने र इथियोपियाको मुद्रा (बिर)लाई चलायमान बनाउने) को प्रतिफल हो । त्यसमाथि यसै कालमा देशले रेकर्ड परिमाणमा सुन र कफी निर्यात गर्न सक्यो । अधिकारीका अनुसार आर्थिक वर्ष ०२५/२६ मा देशको अर्थतन्त्र १०.२ प्रतिशतले बढ्ने अपेक्षा गरिएको छ, जुन यो महादेशको अधिकांश भेगको तुलनामा बढी हो ।

आर्थिक प्रगतिका बाबजुद प्रधानमन्त्री अबीको नेतृत्वमा इथियोपिया कमजोर बन्दै गएको छ । टिग्रेमा भएको गृहयुद्ध अन्त्य गर्न सन् २०२२ मा सम्पन्न ‘प्रिटोरिया सम्झौता’ भंग हुने संघारमा छ । छिमेकी इरिट्रियासँग नयाँ युद्धका संकेत देखिएका छन् । सन् २०१९ मा पहिलोपटक पदभार ग्रहण गरेको एक वर्षभित्रै अबीले इरिट्रियासँग २० वर्षे युद्ध अन्त्य गर्न वार्ताको नेतृत्व गरेको सम्मानमा नोबेल शान्ति पुरस्कार जितेका थिए । 

तर, नोबेल शान्ति पुरस्कार पाएको एक वर्षपछि नै उनले टिग्रेमा क्षेत्रीय सरकारको नेतृत्व गरिरहेको ‘टिग्रे पिपुल्स लिबरेसन फ्रन्ट (टिपिएलएफ)’विरुद्ध युद्ध सुरु गरे । त्यस युद्धमा इरिट्रियाले इथियोपियाको संघीय फौजलाई सघाएको थियो । तर, युद्ध अन्त्यपछि पनि पश्चिमी टिग्रेका सीमावर्ती क्षेत्रबाट इरिट्रियाले आफ्ना सेना फिर्ता लिन अस्वीकार गरेपछि तनाव सुरु भयो । त्यसमाथि आफ्नो भूपरिवेष्ठित देशलाई लाल सागरसम्म पहुँच दिलाउने प्रधानमन्त्री अबीको प्रयासले इरिट्रियालाई प्रभावित गर्दा तनाव झन् चुलिएको छ ।

पुनः निर्वाचित भएपछि देशलाई समुद्री पहुँच दिलाउने अबीको महŒवाकांक्षालाई अगाडि बढाउने बाटो खुल्नेछ । समुद्रसँगको पहुँचलाई उनी इथियोपियाको ‘अस्तित्वगत’ अनिवार्यताका रूपमा वर्णन गर्छन् । यस प्रयासमा इथियोपियाले उग्रता देखाएपछि छिमेकी इरिट्रिया, सोमालिया र इजिप्टबिच एकखालको प्रतिरोधी गठबन्धन बनेको छ । ‘ग्रान्ड इथियोपियन रेनसाँ ड्याम’ नामक बाँधलाई लिएर इजिप्टको अदिस अबाबासँग पहिल्यैदेखि गुनासो छ । 

अप्रिलमा टिपिएलएफले आफूलाई विगतमा हटाइएको टिग्रे प्रदेशको सरकार पुनः नियन्त्रणमा लिने घोषणा गरेसँगै प्रभावकारी रूपमा ‘प्रिटोरिया सम्झौता’ समाप्त भएको छ । टिपिएलएफभित्रका केही गुट सुरुदेखि नै त्यो सम्झौतासँग असन्तुष्ट थिए । संघीय सरकारले टिग्रेमा गृहयुद्धपछि गठित अन्तरिम शासन प्रबन्धलाई उसको सहमतिविना लम्ब्याएको टिपिएलएफको आरोप छ । 

गत मंगलबार मात्रै सो समूहले अहिलेको प्रदेश सरकारलाई प्रतिस्थापन गर्ने गरी सरकार र न्यायिक नियुक्तिको शृंखला घोषणा गर्यो । योसँगै प्रदेशमा प्रभावकारी रूपमा दुई प्रतिद्वन्द्वी मन्त्रिपरिषद् गठन भएको छ । यी सबैका बाबजुद प्रधानमन्त्री अबी नेतृत्वको प्रोस्पेरिटी पार्टीले ४० भन्दा बढी विपक्षी दलविरुद्ध भारी जित हासिल गर्ने प्रक्षेपण सुरुदेखि नै थियो । विपक्षीहरू खण्डित हुँदा अबीको पार्टीलाई फाइदा हुँदै छ । 

अबीको कार्यकालमा इथियोपियामा लोकतान्त्रिक क्षय भएको अनुभव गरिन्छ । ‘ह्युमन राइट्स वाच’का अनुसार इथियोपियाको संघीय सरकारले गत पाँच वर्षको अवधिमा स्वतन्त्र मिडियालाई नियन्त्रण गर्ने प्रयास गर्यो । पत्रकारलाई पक्राउ गर्ने र डरधम्की दिने क्रम बढेको छ । यसले गर्दा अभिव्यक्ति स्वतन्त्रतामा गम्भीर क्षय भएको छ । तर, अबी यी आलोचना सुन्न तयार छैनन् । 

आफ्नो गृहनगरमा मत खसालेपछि प्रतिक्रिया दिने क्रममा अबीले यस्तै विचार व्यक्त गरे, ‘आफूहरूको राज्य निर्माण गर्न र लोकतान्त्रिक प्रणाली स्थापना गर्न कसैको सल्लाह वा व्याख्यान आवश्यक नभएको इथियोपियाली जनताले प्रदर्शन गरेका छन् । आगामी पाँच वर्षको अवधिमा इथियोपियामा थप धेरै ऐतिहासिक मोड देखिनेछन् ।’

तर, एक मतदाताले भनेझैँ, ‘आम इथियोपियाली नागरिकले यस मतदानमा धेरै ध्यान दिइरहेका छैनन् । किनभने, सबै कुरा पहिले नै निर्णय भइसकेको छ । सबै कुरा पहिले नै जोडघटाउ भइसकेको छ । परिणाम के हुन्छ भन्ने अहिले नै थाहा भइसकेको छ । त्यसैले केही पनि परिवर्तन हुनेवाला छैन ।’ इथियोपियाको चुनावको अन्तिम नतिजा भने जुन ११ मा आउँदै छ । 

फरेन पोलिसीबाट

(मल्टिमिडिया पत्रकार ग्वाडामोसी ‘फरेन पोलिसी’ म्यागजिनकी अफ्रिका मामिला प्रमुख हुन्)

सुझावित समाचार