एसियन छनोटमा अपराजित रहँदै नेपाल च्याम्पियन

मंगलबार, २६ जेठ, २०८३
डिजिटल संस्करण
एसियन छनोटमा अपराजित रहँदै नेपाल च्याम्पियन

ट्रफीका साथ नेपाली पुरुष क्रिकेट टोली ।

  • नेपाल लगातार चार खेलमा अपराजित रहँदा कप्तान दीपेन्द्रसिंह ऐरीले टी–२० आई फर्म्याटमा सय खेल पूरा गरे 

नेपाली पुरुष क्रिकेट टोली २०औँ एसियन खेलकुदअन्तर्गत छनोट प्रतियोगितामा अपराजित रहँदै च्याम्पियन बनेको छ । सिंगापुरमा सोमबार भएको फाइनल स्पर्धामा नेपालले चिरपरिचित प्रतिद्वन्द्वी हङकङलाई डकवर्थ लेविस नियमअनुसार १९ रनले हराउँदै च्याम्पियन ट्रफी हात पारेको हो । हङकङले २० ओभरमा सात विकेट गुमाउँदै १८८ रनको बलियो योगफल बनाएको थियो । 

प्रत्युत्तरमा नेपालले ११.३ ओभरमा ११४ रन बनाएको थियो । वर्षा प्रभावित बनाएको फाइनलमा नेपाल डिएलएस पद्धतिमा अगाडि रहँदै च्याम्पियन भएको हो । ७ राष्ट्र सम्मिलिन छनोट प्रतियोगितामा नेपाल मात्र अपराजित टिम बन्यो । समूह ‘ए’मा नेपालले चीनविरुद्ध २२१ तथा मलेसियाविरुद्ध १६७ रनले जित निकालेको थियो । दुवै खेलमा ओपनर कुशल भुर्तेलले शतक बनाएका थिए । यसैगरी, सेमिफाइनलमा नेपालले ओमानविरुद्ध ८ विकेटको सहज जित निकालेको थियो । तीन खेलमा सहज जित निकालेको नेपालले हङकङविरुद्ध विकेट निकाल्न संघर्ष गर्नुपर्यो । यद्यपि, नेपालले खेल आफ्नै पक्षमा पार्दै जित निकालेको छ । 

प्रतियोगिताबाट नेपाल, हङकङ, मलेसिया र ओमानले जापानमा हुने एसियाली खेलकुदमा स्थान पक्का गरिसकेका छन् । एसियन क्रिकेट काउन्सिलले सेमिफाइनलिस्ट सबै एसियाली खेलकुदमा छनोट हुने प्रावधान बनाएको थियो । तेस्रो स्थानको खेलमा मलेसियाले ओमानलाई पराजित गरेको थियो । यी चार टोलीले आयोजक जापानसँगै भारत, पाकिस्तान, श्रीलंका, अफगानिस्तान र बंगलादेशसँग प्रतियोगिता खेल्नेछन् । 

कप्तान दीपेन्द्रको कीर्तिमानी खेल 
छनोट प्रतियोगितामा नेपालका कप्तान दीपेन्द्रसिंह ऐरीले हङकङसँगको खेलमा व्यक्तिगत रेकर्ड बनाएको छ । उनले यस खेलसँगै टी–२० आईमा सय खेल खेल्ने रेकर्ड बनाए । उनले सन् २०१८ जुलाई २९ मा नेदरल्यान्ड्सविरुद्ध लड्स मैदानमा पहिलो टी–२० आई खेलेका थिए । 

दीपेन्द्रले ८६ इनिङ्समा २१ पटक नटआउट रहँदै दुई हजार २ सय २० र बनाएका छन् । उनले करिअरमा उत्कृष्ट इनिङ्स ११० रन हो । यस टी–२० आई फर्म्याटमा उनले १ शतक तथा १२ अर्धशतकीय इनिङ्स खेलेका छन् । उनले अहिलेसम्म १५९ चौका र ९३ छक्का प्रहार गरेका छन् । बलिङतर्फ उनले टी–२० आईमा ७३ इनिङ्समा ६२ विकेट हात पारेका छन् । दीपेन्द्रपछि नेपालका लागि सोमपाल कामीले ९२ खेल खेलेका छन् । 

शेरले लिए चार विकेट
नेपालका लागि शेर मल्लले एक्लै चार विकेट लिएका थिए । उनले चार ओभरमा ३२ रन बनाए । करण केसीले दुई विकेट लिँदा सन्दीप लामिछाने एक विकेटमा सीमित भए । चार ओभर बलिङ गरेका कप्तान दीपेन्द्रसिंह ऐरी र सोमपाल कामी भने विकेटविहीन भएका थिए । लक्ष्य पछ्याएको इनिङ्समा भुर्तेलले आठ चौका र तीन छक्का हिर्काएका थिए । उनी इहसान खानको ओभरमा यासिम मुर्तजाबाट क्याच भए । पूर्वकप्तान रोहित पौडेलले २४ बलमा अविजित ३५ रनको योगदान दिए । दीपेन्द्रसिंह ९ रनमा अविजित रहँदा वर्षा भएको थियो । ओपनर आसिफ शेष डकआउट भए । कुशलले तेस्रो विकेटका लागि रोहितसँग ६३ रनको साझेदारी गरेका थिए । 

हङकङको इनिङ्समा दुई अर्धशतक
पहिलो इनिङ्समा हङकङका दुई खेलाडीले अर्धशतक बनाएपछि बलियो स्कोर बनाएको हो । अंशुमन रथले सर्वाधिक ८० रन बनाए । उनले ४५ बलमा समान ६ चौका र छक्का प्रहार गरेका छन् । शतकतर्फ बढेका उनलाई शेर मल्लले लोकेश बमबाट क्याच गराएका थिए । सहिद वासिफले २४ बलमा ५५ रन बनाए । सात चौका र तीन छक्का हिर्काएका उनलाई शेर मल्लले बोल्ड गरेका थिए । त्यसबाहेक शिव माथुरले २१ बलमा २६ रन बनाए । यसअघि ओपनर निजाकत खान दुई तथा तेस्रो नम्बर क्रिजमा आएका बाबर हायत डकआउट भएपछि हङकङ दबाबमा आएको थियो । तेस्रो विकेटका लागि माथुर र अंशुमनबिच ३७ बलका लागि ४८ रनको साझेदारी भयो । वासिफ र अंशुमनले ३९ बलमा ८४ रन जोडेका थिए । 

भुर्तेल सर्वोत्कृष्ट खेलाडी 
२०औँ एसियन खेलकुद छनोटमा नेपालका ओपनर कुशल भुर्तेल सर्वोत्कृष्ट खेलाडी बनेका छन् । म्यान अफ दी सिरिज हुने क्रममा उनले चार खेलमा उत्कृष्ट प्रदर्शन गरेका थिए । यसक्रममा उनले लगातार दुई शतक र १ अर्धशतकसहित ३४० रन बनाए । उनी प्रतियोगितामा सबैभन्दा धेरै रन बनाउने खेलाडीसमेत हुन् । 

उनले चीनविरुद्धको पहिलो खेलमा ४३ बलमा १२९ रन बनाएका थिए । सो खेलमा उनले एकै ओभरमा ६ छक्कासमेत प्रहार गरे । यसैगरी, मलेसियासँगको दोस्रो खेलमा ५४ बलमा उनले १२६ रन बनाए । लगातार दुई शतक प्रहार गर्ने पहिलो नेपाली खेलाडी तथा समग्रमा विश्वकै नवौँ खेलाडी हुन् । उनले ओमानविरुद्धको सेमिफाइनलमा २० रन बनाएका थिए । हङकङसँगको फाइनलमा उनले ४० बलमा ६५ रन बनाएर जितको आधार तय गरेका थिए । 
 

सुझावित समाचार