रास्वपा महाधिवेशन : विचार, नेतृत्व र भविष्यको मार्गचित्र

मंगलबार, २६ जेठ, २०८३
डिजिटल संस्करण
  • पार्टीका अधिवेशनमार्फत रास्वपाले राजनीति कुनै सीमित समूहको विशेषाधिकार होइन, जनसेवाको माध्यम हो भन्ने मान्यतालाई संस्थागत गर्दै छ

सन् २०१६ को जुलाई २७ मा भएको डेमोक्य्राटिक नेसनल कन्भेन्सनको भाषणमा अमेरिकी पूर्वराष्ट्रपति बाराक ओबामाले भनेका थिए– ‘लोकतन्त्र दर्शक भएर हेर्ने खेल होइन (डेमोक्रेसी इज नट अ इस्पेक्टेटर स्पोर्टस), यसको सफलताका लागि प्रत्येक सदस्यको सक्रिय सहभागिता आवश्यक हुन्छ ।’ आमनेपाली जनताले आशा, भरोसा र विश्वास राखेर दुईतिहाइ मत दिएका लोकप्रिय दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को वडा, पालिका र जिल्ला अधिवेशन सम्पन्न गरी ऐतिहासिक प्रदेश तथा राष्ट्रिय महाधिवेशन सुरु हुन गइरहेको छ । कुनै पनि पार्टी तथा पार्टीसँग सम्बन्धित सरकारको सफलताका लागि यस्ता नियमित अधिवेशन महत्वपूर्ण घटना हुने गर्छन् । बराक ओबामाले भनेजस्तै पार्टीका प्रत्येक सदस्य र रास्वपालाई माया गर्ने आमजनसमुदायको सक्रिय सहभागिताले नै आगामी दिनमा जीवन्त गतिशील लोकतान्त्रिक पार्टीमार्फत मुलुकमा सकारात्मक नतिजा दिनेछ ।

नेपालमा राजनीतिक व्यवस्था पटक–पटक परिवर्तन भए, तापनि नेपाली जनताले अपेक्षित प्रतिफल हासिल गरेको अनुभूति गर्न सकेनन् । जसका कारण जनतामा निहित राष्ट्रिय सार्वभौमिकतालाई आत्मसात् गर्दै नेपाल राष्ट्रको हितलाई सर्वोपरी मानी जनउत्तरदायी, जनसहभागितामूलक, लोकतान्त्रिक शासन व्यवस्था प्रवर्द्धन गर्नु जरुरी छ । साथै, नेपालको संविधानले परिकल्पना गरेअनुसार दिगो शान्ति, सुशासन, विकास र समृद्विको आकांक्षा पूरा गर्नु पनि त्यति नै आवश्यक छ । त्यसका लागि नेपाली जनताले महसुस गर्ने गरी जीवनस्तरमा सुधार ल्याउने प्रतिबद्धतासाथ रास्वपाको विधिवत् गठन ०७९ असार १७ गते भएको हो । पार्टी स्थापना भएको करिब साँढे पाँच महिनामै संघीय निर्वाचनमा होमिनुपर्यो । र, छोटो समयमै रास्वपा मुलुकको चौथो ठुलो दल बन्न पुग्यो । त्यसैले, नेपाली जनता र अन्य राजनीतिक ‘स्टेकहोल्डर’माझ रास्वपा भित्री नजरमा पनि पर्न गयो । 

सोही कार्यकालमै रास्वपाले दुईवटा उप–निर्वाचनको सामना गर्नुपर्यो । एउटा निर्वाचन क्षेत्रमा अत्यधिक मतले विजय र बाँकी दुई निर्वाचन क्षेत्रमा सम्मानजनक मत प्राप्त गरी जनमतको हिसाबले रेखीय वृद्धिमा उकालो लागेको देखियो । पुराना स्थापित राजनीतिक दलले त्यो रेखीय वृद्धि निकट भविष्यमा खतराको घण्टी बन्न सक्ने महसुस गरी पार्टीलाई नेतृत्वविहीन बनाउने उद्देश्यले राजनीतिक प्रतिशोध साँधी पार्टी सभापति रवि लामिछानेलाई सहकारी ठगी र सम्पत्ति शुद्धीकरण मुद्दामा फसाउने काम गरियो । पार्टी नेतृत्व तथा कार्यकर्ता त्यो राजनीतिक प्रतिशोधविरुद्ध शान्तिपूर्ण तर प्रभावकारी आन्दोलनमा लाग्नुपरेका कारण समयमै पार्टी अधिवेशनमार्फत विचारको विकास र विस्तारतर्फ ध्यान दिन सकिएन । अधिवेशनको मिति तोके पनि संक्रमणकालीन संकटमा समय सार्नुपर्ने अवस्था आयो र संयुक्त सरकार बने पनि राजनीतिक उतारचाढाव कायमै रह्यो । राजनीतिक प्रतोशोधको निरन्तरता तथा पुराना राजनीतिक दलका नेताको दम्भ, घमण्ड, कुशासन र भ्रष्टाचारका कारण गत २३ र २४ भदौको ऐतिहासिक जेन–जी आन्दोलनपछि संसद् विघटन भयो । अन्तरिम सरकार गठन भयो । निर्वाचनको मिति तोकियो । संघीय निर्वाचनमा जनताले रास्वपालाई दुईतिहाइनजिक जनमत प्रदान गरे । निर्वाचनपछि गठित शक्तिशाली सरकारले जनतामाझ आशा र भरोसा प्रवाह गर्ने कार्य गरिराखेको छ ।

रास्वपा अहिले स्थानीय तहअन्तर्गतका ६ हजार ७४३ वडा तथा ७५३ पालिकामा अधिवेशन सम्पन्न गरी प्रदेश अधिवेशन र राष्ट्रिय महाधिवेशनमा जुटेको छ । पार्टी विधानले साधारण, सक्रिय र मानार्थ गरी तीन प्रकारका सदस्य रहने व्यवस्था गरेको छ । हाल डिजिटल प्रविधिबाट लाखौँ नागरिकले पार्टीको साधारण सदस्यता लिइरहेका छन् । पार्टीको विधानबमोजिम जिल्ला र स्थानीय तहमा जम्मा ११ सदस्यीय कार्यसमिति व्यवस्थाका कारण चुस्त र छरितो संगठन तथा विभिन्न विभाग गठन गरी राजनीतिक संगठानात्मक कार्य अगाडि बढाउनुपर्ने दायित्व पार्टी नेतृत्वदेखि सम्पूर्ण नेता तथा कार्यकर्ताको काँधमा आइपरेको छ । सबै जिल्ला र स्थानीय तहमा एक लाख १० हजारभन्दा बढी व्यक्ति समावेश गरी कार्य समिति र विभिन्न विभाग (अधिवेशन प्रतिनिधिसहित) गठन भएका छन् । ती समिति र विभागले तल्लो तहमा राजनीतिक जागरण तथा आगामी स्थानीय तह र प्रदेशको निर्वाचन तयारी गर्नुपर्नेछ । साथै, अहिले स्थानीय तह र प्रदेशमा रास्वपाको सरकार नभएका कारण पुराना दलले काम अघि बढाउन नदिने र संघीय सरकारको कामलाई असफल बनाउने प्रयत्न भइरहेको देखिन्छ । त्यसैकारण रास्वपाले ‘फास्ट ट्र्याकमा अधिवेशन सम्पन्न गरी आगामी स्थानीय तह र प्रदेशको निर्वाचनमा विजय हासिल गर्नु छ । त्यससँगै सु–शासन र विकासको कामलाई पनि तीव्रता दिनुपर्ने भएकाले सम्पूर्ण निर्वाचित समितिले आमनागरिकलाई साथमा लिई राष्ट्र निर्माणको अभियानमा होमिनुपर्ने दायित्व छ ।

रास्वपाले आफ्नो पार्टीको सिद्धान्त सबै नेपालीको समतामूलक उन्नतिप्रति कटिबद्ध सामाजिक न्यायसहितको उदार अर्थतन्त्रमा विश्वास गर्ने बहुलवादी लोकतान्त्रिक पार्टीका रूपमा प्रस्ट पार्दापार्दै पनि सिद्धान्त र विचार नभएको पार्टीका रूपमा पुराना दल र केही बुद्धिजीवीद्वारा गलत भाष्य निर्माण गरियो । यद्यपि, रास्वपा र नेपाली जनताले सो गलत भाष्यलाई व्यवहारद्वारा खण्डित गरिसके । कुनै पनि महाधिवेशन प्रतिनिधिले आफ्नो धरणा, सुझाव र आलोचना प्रस्तुत गर्ने, नेतृत्व र कार्यकर्ताबिच विचार आदानप्रदान गर्ने, दलको वैचारिक दिशा र लक्ष्य स्पष्ट पार्ने थलो भएकाले महाधिवेशन केवल नेतृत्व चयन प्रक्रिया मात्र नभई विचार, नीति र कार्यक्रमलाई परिस्कृत गर्ने अवसर पनि हो । 

मदन भण्डारीको एउटा चर्चित भनाइ छ– ‘कार्यक्रम पार्टीले सार्वजनिक रूपमा फहाराएको आफ्नो लक्ष्यको झन्डा हो ।’ तसर्थ, राष्ट्रिय स्वतन्त्र पार्टीको दर्शन, सिद्धान्त र नीति रणनीति तथा जेन–जी आन्दोलनको उद्देश्य, मर्म र भावनाअनुरूप सु–शासन र विकासको १०० बुँदे वाचापत्र निर्माण गरी हाल सरकारमार्फत कार्यान्वयन भइरहेकाले आमनागरिकमा आशाको दियो बलिरहेको छ । राष्ट्रिय स्वतन्त्र पार्टीको अभूतपूर्ण विजयमा वैदेशिक रोजगारमा गएका ‘माइग्रेन्ट्स’ र डायस्पोराको ठुलो भूमिका छ । मुलुक निर्माणका लागि उनीहरूको योगदान र सहभागिता तथा आफ्नो सरकारमार्फत मुलुकको विकासमा सहभागिता गराउन नीति रणनीति र कार्यक्रमलाई संस्थागत गराउनु पनि पार्टीमा गहन जिम्मेवारी आएको छ । पार्टी ठुलो हुँदा गुटबन्दी र विकृत पनि सँगै आउने हुनाले पार्टीको उद्देश्य र नीतिबमोजिम योग्य, सक्षम र सूचना प्रविधि युग सुहाउँदो नीतिको विकास र नेतृत्व चयन गर्नुपर्नेछ । यो पार्टी आफैँमा नयाँ भएकाले नयाँ र पुरानो भन्ने तथा संकुचित आवाज पनि पार्टीको नीति र नेतृत्वले हटाउनुपर्नेछ तथा पार्टीको उद्देश्य र नीतिअनुसार योग्यता र क्षमतामा आधारित पार्टी भएकाले यसलाई अझ परिस्कृत बनाउनुपर्नेछ । यद्यपि, यसलाई मध्यनजर गर्दै पार्टीका विभिन्न तहको अधिवेशनमार्फत रास्वपाले राजनीति कुनै सीमित समूहको विशेषाधिकार होइन, जनसेवाको माध्यम हो भन्ने मान्यतालाई स्थापित गर्ने अभियान सञ्चालन गरिरहेको छ ।

मुलुक चलाउनका लागि प्रधानमन्त्री ‘ड्राइभिङ सिट’मा बस्ने हो भने पार्टीले ‘स्टेयरिङ’ नसमाई दिशा दिने हो । दृढ नेतृत्व कौशल भएका प्रधानमन्त्री बालेन्द्र शाहबाट आज सुशासन र विकासलाई अगाडि बढाउन मुलुकको नेतृत्व गरिएको छ भने पार्टी सभापति रवि लामिछानेले नीति/रणनीतिअनुसार पार्टी र देशलाई प्रस्ट दिशा दिनुभएको छ । आजको गतिशील संसार कूटनीतिले चलेको छ र पार्टी सभापतिको छिमेकी मुलुक भारतको भ्रमणले आर्थिक र विकास कूटनीतिमा महत्वपूर्ण भूमिका खेल्ने भएकाले पार्टी र सरकारको सम्बन्ध नङ र मासुको जस्तै हुने आमनागरिकको विश्वास छ ।  आज पनि देशमा बेरोजगारी, युवाको पलायन, शिक्षा र स्वास्थ्यको गुणस्तरमा कमी, आर्थिक मन्दी, सार्वजनिक निकायप्रतिको घट्दो विश्वास, नीतिगत अस्थिरता तथा भ्रष्टाचारका चुनौती जहाँको त्यहीँ छन् । यी समस्या समाधानका लागि इमानदार, सक्षम र जवाफदेही राजनीतिक नेतृत्वको आवश्यकता अझ बढी खड्किरहेको छ । आगामी अर्थ–राजनीतिलाई सही दिशा प्रदान गर्नका लागि निकट भविष्यमै हुन लागिरहेको महाधिवेशन जनताको आशा र सपनालाई संस्थागत गर्ने अवसरमा परिणत हुने विश्वास पार्टी पंक्ति र आमनागरिकले गरेका छन् । आगामी दिनमा हुन गइरहेको यो ऐतिहासिक महाधिवेशनको सफलताले रास्वपा नेपालको भाग्य र भविष्य निर्माण गर्ने, विचार, संगठन, नेतृत्व र भविष्यको मार्गचित्र कोर्ने तथा कार्यान्वयन गर्न सक्ने एक सबल लोकतान्त्रिक पार्टीका रूपमा इतिहासमा दर्ज हुने अपेक्षा पनि आमनागरिकले गरेका छन् ।

(कार्की रास्वपाको दोलखा जिल्लाका वडा तथा पालिका अधिवेशन समन्वय संयोजक हुन्) 

सुझावित समाचार