नेपाल स्केटिङ तथा स्केटबोर्डिङ संघको आयोजनामा काठमाडौंको हाँडीगाउँस्थित यमबुद्ध स्केटपार्कमा नवौँ राष्ट्रिय स्केटबोर्ड प्रतियोगिता हुने भएको छ। सोमबार त्रिपुरेश्वरस्थित खेलकुद पत्रकार मञ्च (एनएसजेएफ)मा पत्रकार सम्मेलन गर्दै प्रतियोगिता जेठ ३० र ३१ गते आयोजना हुने संघका अध्यक्ष अच्युत खनालले जानकारी गराए।
प्रतियोगितामा देशभरबाट करिब ४ सय खेलाडी सहभागी हुने महासचिव सत्य थापाले जानकारी गराए। उनका अनुसार प्रतियोगितामा २५० पुरुष र १५० महिला खेलाडीले प्रतिस्पर्धा गर्नेछन्। जिल्ला र प्रदेशका खेलाडीले खुला प्रतिस्पर्धा गर्ने उनले बताए। जहाँ राष्ट्रियस्तरका खेलाडीले पनि प्रतिस्पर्धा गर्न पाउनेछन्।
जापानमा हुने २०औँ एसियन गेम्स खेल्ने खेलाडीले समेत प्रतियोगितामा सहभागिता जनाउनेछन्। संघका अनुसार गजेन्द्र बर्देवा, शरदकुमार राई, वसन्त राई र खुसी विक सर्ट लिस्टमा छन्। यसबाट दुई खेलाडीले जापान एसियन गेम्स खेल्नेछन्।
दुईदिने प्रतियोगिताको पहिलो दिन छनोट चरणका खेल हुनेछन्। दोस्रो दिन फाइनल प्रतिस्पर्धा आयोजना गरिनेछ। प्रतियोगितामा सिनियर पुरुष तथा महिला दुवैतर्फ विजेताले समान ३० हजार, उपविजेताले २० हजार र तेस्रो हुनेले १५ हजार रुपैयाँ पाउनेछन्।
यस्तै, जुनियर पुरुष तथा महिला दुवैतर्फ प्रथम हुनेले १५ हजार, दोस्रोले १० हजार र तेस्रोले ५ हजार रुपैयाँ नगद पुरस्कार पाउनेछन्। प्रतियोगिताको कुल बजेट २१ लाख रुपैयाँ रहेको अध्यक्ष खनालले जानकारी दिए।