अत्यधिक गर्मी बढेपछि कोहलपुर नगर क्षेत्रभित्रका विद्यालय तीन दिन बन्द गरिएको छ । कोहलपुर नगरपालिकाले सूचना जारी गरी २५–२७ जेठसम्म सम्पूर्ण विद्यालय बन्द गर्ने निर्णय गरेको हो । उच्च तापक्रमका कारण विद्यार्थीको स्वास्थ्यमा प्रतिकूल असर पर्न सक्ने जोखिमलाई मध्यनजर गर्दै नगरपालिकाले यो निर्णय गरेको शिक्षा तथा खेलकुद शाखा प्रमुख रविलाल मिजारले जानकारी दिए ।
‘अत्यधिक गर्मीले बालबालिकाको पठनपाठनमा समस्या देखिएपछि नगरभित्र सञ्चालित सामुदायिक, संस्थागत तथा धार्मिक विद्यालयमा तीन दिन बिदा दिने निर्णय गरिएको छ,’ उनले भने । मौसमको अवस्था तत्काल सुधार हुने सम्भावना नदेखिएको र तापक्रम लगातार बढ्दो क्रममा रहेकाले विद्यार्थीको सुरक्षालाई प्राथमिकतामा राखेर बिदा दिएको उनले बताए ।
हालका लागि तीन दिन विद्यालय बन्द रहने भए पनि परिस्थितिअनुसार आगामी दिनमा बिदा थप गरिने उनले बताए । अत्यधिक गर्मीका कारण बाँकेका सहर, बजार र गाउँमा दिउँसोको समयमा सडकहरू सुनसान देखिन थालेका छन् ।