नेपाल र चीनको व्यापारिक सम्बन्ध विस्तार गर्न १३बुँदे प्रतिबद्धतापत्र सार्वजनिक गर्दै ‘पर्यटन विकास तथा प्रवर्द्धनसम्बन्धी अन्तर्क्रिया कार्यक्रम’ सम्पन्न भएको छ । संखुवासभाको धर्मदेवी नगरपालिकाको केन्द्र मुढेबजारमा आइतबार सम्पन्न भएको अन्तर्क्रियामा चिनियाँ दूतावासका डेपुटी चिफ अफ मिसन छोउ पानको सहभागिता रहेको थियो ।
कोशी करिडोरका पर्यटकबीय गन्तव्य, सम्पदाको विकास, प्रवर्द्धन र विस्तारका लागि तीनै तहका सरकारसँग समन्वय गरी अघि बढ्ने, पर्यटन विकास गर्न सूक्ष्म सम्भाव्यता अध्ययन गर्ने, सबै पालिकाले पर्यटन क्षेत्रको विकास र प्रवर्द्धनका लागि बजेटसहित उच्च प्राथमिकतामा राख्ने, पर्यटन सूचना केन्द्र स्थापना गर्ने, प्रमुख पर्यटकीय गन्तव्य, संस्कृति, आकर्षण, स्थानीय उत्पादन र परिकारहरूको प्रवर्द्धन र प्रचारप्रसार गर्ने, कृषि, वन पैदावर, जडीबुटी, पशुपालनलगायत विकास र प्रवर्द्धन गर्ने, होटेल रेस्टुरेन्ट र होमस्टेको प्रवर्द्धन र विकास गर्ने, हस्पिटालिटीसम्बन्धी आवश्यक प्रशिक्षण र तालिमजस्ता कार्य स्थानीय तहदेखि नै गर्ने, डिजिटल माध्यमबाट व्यापक प्रचारप्रसारमा लाग्नेलगायतका १३ बुँदे प्रतिबद्धतापत्र सार्वजनिक गरेको खाँदबारी सेवा समाजका उपाध्यक्ष जीवनाथ पोखरेलले बताए । उनले छिमेकी शक्तिशाली मित्रराष्ट्र चीनको १ प्रतिशत मात्रै नागरिक संखुवासभा भ्रमणमा आउने हो भने पर्यटन क्षेत्रमा ठुलो योगदान पुग्ने उनले ।
चिनियाँ नागरिकहरूलाई कोशी करिडोरभित्र पर्ने पर्यटकीय गन्तव्यसम्म ल्याउने र यहाँको पर्यटन विकासका साथै व्यापारिक सम्बन्ध विस्तार गर्न सकिने तथा आम्दानीको स्रोत बनाउन सकिने भएकाले बहस र अन्तर्क्रिया गरिएको पोखरेलको भनाइ छ । चिनियाँ राजदूतावासका डेपुटी चिफ अफ मिसन छोउ पानले नेपालसँग व्यापारिक सम्बन्ध विस्तार गर्न चाहेको बताएका थिए ।