भारतको औपचारिक भ्रमणमा गएका परराष्ट्रमन्त्री शिशिर खनाल समकक्षी डा. जयशंकरसँग दुई देशका सबै मुद्दामा सघन छलफल गरेर आइतबार स्वदेश फर्केका छन् । खनालले समकक्षी जयशंकर तथा भारतीय प्रधानमन्त्रीका राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभालसँग बेग्लाबेग्लै छलफल गरेका थिए । स्वदेश फर्केपछि पत्रकारहरूसँग कुराकानी गर्दै परराष्ट्रमन्त्री खनालले भ्रमणमा उपलब्धिमूलक छलफल भएको बताए ।
‘नेपाल–भारत द्विपक्षीय सम्बन्धका सम्पूर्ण पक्षहरूमा हाम्रो व्यापक तथा उपलब्धिमूलक छलफल भयो,’ समकक्षी जयशंकरसँग शनिबार भएको वार्ताबारे खनालले भने, ‘वार्तामा व्यापार तथा आर्थिक सहकार्य, कनेक्टिभिटी, ऊर्जा साझेदारी, जलस्रोत व्यवस्थापन र खेलकुदलगायत जनस्तरीय सम्बन्ध अभिवृद्धिजस्ता विषयहरूमा ठोस छलफल भयो । दुवै पक्षले द्विपक्षीय सम्बन्धलाई थप सुदृढ बनाउने प्रतिबद्धता व्यक्त गरेका छौँ ।’
परराष्ट्रमन्त्री खनालले द्विपक्षीय परियोजना तथा सहकार्यका पहलहरूको प्रगतिको समीक्षा गर्नुका साथै तिनलाई थप प्रभावकारी बनाउने उपायहरूबारे छलफल गरेको पनि बताए । ‘छलफल र उच्चस्तरीय भेटघाटले नेपाल–भारतबिचको कूटनीतिक र आर्थिक सहकार्य नयाँ उचाइमा पुर्याउनुका साथै आगामी दिनमा आपसी हितका क्षेत्रहरूमा परिणाममुखी सहकार्य अघि बढाउन बलियो आधार तयार भएको छ,’ परराष्ट्रमन्त्री खनालले भने, ‘हाम्रो सन्तुलित, स्वतन्त्र र बहुआयामिक परराष्ट्र नीतिलाई थप सशक्त ढंगले अभिव्यक्त गर्ने अवसर प्राप्त भएको छ । व्यापार तथा लगानी विस्तार गर्ने, ऊर्जा सहकार्य सुदृढ गर्ने, पर्यटन प्रवर्द्धन गर्ने तथा कनेक्टिभिटी र जनस्तरको सम्बन्ध अझ सशक्त बनाउने विषयहरूमा ठोस आधार तयार पारेको छ ।’
मन्त्री खनालले क्षेत्रीय स्थायित्व, आपूर्ति शृंखला सुरक्षा तथा ऊर्जा साझेदारीजस्ता समसामयिक अन्तर्राष्ट्रिय मुद्दाहरूमा समेत कुराकानी भएको बताएका छन् । विगतमा भारतीय विदेश मन्त्रालय वा हैदराबाद हाउसमा हुने गरेको भए पनि यसपटक दुई देशका परराष्ट्रमन्त्रीहरूको औपचारिक वार्ता ताजमानसिंह होटेलमा भएको थियो । सोही होटेलमा परराष्ट्रमन्त्री खनाललाई बस्ने व्यवस्था थियो ।
‘परराष्ट्रमन्त्री बसेकै होटेलमा भारतीय विदेश मन्त्रालयको पूरै संयन्त्र गएको थियो र औपचारिक वार्तादेखि रात्रिभोजसमेत त्यहीँ भयो । करिब तीन घण्टा दुई परराष्ट्रमन्त्रीहरू सँगै बसेर छलफल गर्ने वातावरण भयो,’ वार्ताबारे जानकार एक कूटनीतिक अधिकारीले भने, ‘भारतीय विदेश मन्त्रीले नयाँ सरकारसँग सहकार्यका विषयमा जुन तत्परता देखाए, यसले परराष्ट्रमन्त्रीदेखि हामी सबैलाई उत्साही बनाएको छ । करिब दश वर्षपछि भारतको सोच, बोली र व्यवहारमा बदलाव आएको स्पष्ट सन्देश हामीले पाएका छौँ ।’
शुक्रबार साँझ उनले भारतीय प्रधानमन्त्रीका राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभालसँग सुक्षा, सीमाबारे छलफल भएको पनि उनले बताए । ‘नेपाल र भारतका साझा सुरक्षा चासो, सीमा व्यवस्थापन तथा दुई देशबिचको रणनीतिक साझेदारीका विभिन्न पक्षहरूमा विचार आदान–प्रदान भयो,’ उनले भने । परराष्ट्रमन्त्री खनालले भारतमा नयाँ सरकारप्रति उत्साह आफूले पाएको बताए । ‘नेपालले स्थिर सरकार पाएकाले यसमार्फत नेपाल–भारतबिच सहयोगका परियोजनालगायतका विषयमा ढुक्क भएर काम गर्न सकिन्छ भन्ने विश्वास मैले पाएँ ।’
उनले आफ्नो भ्रमणमार्फत दुई देशबिच उच्चस्तरीय औपचारिक भ्रमणको सुरुवात भएको पनि बताए । ‘अबका केही महिनामा यताबाट पनि उताबाट पनि उच्चस्तरीय भ्रमणहरूको अपेक्षा राख्न सक्छौँ,’ खनालले भने । भारतीय विदेशमन्त्री जयशंकरलाई उनले निमन्त्रणा दिइसकेका छन् । उनले दुई महिनामा काठमाडौं भ्रमण गर्ने नेपालको विश्वास छ ।
‘बेलायतसँग मध्यस्थता होइन दस्ताबेज खोज्दै छौँ’परराष्ट्रमन्त्री खनालले एक्सेस अफ डकुमेन्टका सन्दर्भमा नेपालले बेलायतसँग चासो राखेको भए पनि नेपाल–भारत सीमामा बेलायतको मध्यस्थताका पक्षमा नेपाल नरहेको स्पष्ट पारेका छन् ।
उनले नेपालको राष्ट्रिय अभिलेखालयमा भएका दस्ताबेज अध्ययनका क्रममा केही सक्कल कपीहरू नभएको उनको भनाइ थियो । ‘नेपालमा केही विषयको सक्कलै प्रमाणित कपी नभएकोजस्तो देखिन्छ । विभिन्न कालखण्डमा सिंहदरबारमा आगो लागेको कारणले हुन सक्छ,’ उनले भने, ‘कतिपय हामीसँग नभएका दस्ताबेजहरू वा भएका दस्ताबेजहरूलाई थप सहयोग गर्ने दस्ताबेजहरू, सन् १८१६ मा सुगौली सन्धि हुने वेलाका इस्ट इन्डिया कम्पनीका मानिसहरूले अध्ययन गरेका, लेखेका विषय, व्यक्तिगत नोटबुकहरू पनि ऐतिहासिक प्रमाणका रूपमा प्रयोग गर्न सकिन्छ । हाम्रो बेलायतसँग मित्रवत् सम्बन्ध छ र एक्सेस अफ डकुमेन्टका हिसाबले आवश्यक परेका वेला बेलायतका संग्रहालय, लाइब्रेरी, नेसनल आर्काइभहरूमा दस्ताबेज खोज्ने विषय हो ।’
परराष्ट्रमन्त्री खनालले यो विषय आइतबार दिल्लीस्थित नेपाली दूतावासमा भारतीय पत्रकारहरूसँग पनि भनेका थिए । ‘धेरैजसो सीमा विवादहरू नेपाल र बेलायतबिच लामो ऐतिहासिक विरासतका हिस्सा हुन्, विशेष गरी नेपाल–भारतको वर्तमान सीमा १८१६ को सुगौली सन्धिबाट आउँछ,’ उनले भने, ‘हाम्रा प्रधानमन्त्रीले प्रस्ट रूपमा जोड दिएझैँ, हामी वार्ताको टेबलमा बस्छौँ, वार्ता र कूटनीतिक संयन्त्रका माध्यमबाट समाधान हुनेछ ।’ उनले ऐतिहासिक प्रमाणका सन्दर्भमा बेलायत सरकारसँग भएका दस्ताबेजमा पहुँचको विषयमा नेपालले चासो राखेको सुनाए । उनले थपे, ‘हामी बेलायतका पुस्तकालय वा संग्रहालयहरूमा हुन सक्ने केही दस्ताबेजहरूमा पहुँच हुन सक्छ कि भनेर हेर्न मात्र चाहन्छौँ । यसको अर्थ हामीले मध्यस्थता मागेका हौँ भन्ने होइन, त्यो प्रधानमन्त्रीको आशय होइन ।’
भारतीय पत्रकारलाई भने– लिपुलेक नेपालको लिपुलेक पास भएर भारत र चीनबिच पछिल्लोपटक कैलाश मानसरोवरमा भारतीय तीर्थयात्री जाने सहमति कार्यान्वयनप्रति नेपालले दुवै देशलाई कूटनीतिक नोट पठाएको र त्यो भूभाग नेपालको रहेको परराष्ट्रमन्त्रीले स्पष्ट पारेका छन् । ‘हामीले भारत र चीन दुवैलाई औपचारिक कूटनीतिक माध्यमबाट हाम्रो धारणा व्यक्त गरिसकेका छौँ । त्यसैले यस दृष्टिकोणबाटै हामीले दुवै देशलाई स्पष्ट रूपमा त्यो भूमि हाम्रो हो भनेका छौँ,’ नयाँदिल्लीस्थित नेपाली राजदूतावासमा आयोजित पत्रकार सम्मेलनमा उनले भने ।
कैलाश मानसरोवर यात्रामा नेपालको चासो नभएको, तर भारत र चीनबिच लिपुलेक र कालापानी क्षेत्रबारे भएको नयाँ सम्झौताप्रति मात्रै रहेको उनले बताए । ‘हामीले धेरै लामो समयदेखि ती भूमिहरू हाम्रा हुन् भनेर आफ्नो दाबी प्रस्तुत गर्दै आएका छौँ । र, हाम्रो सहमतिविना दुई देशले आफैँ सम्झौता गर्न सक्दैनन् । यो कुरा हामीले दुवै देशलाई कूटनीतिक नोटहरूसहित निकै प्रस्ट रूपमा जानकारी गराएका छौँ,’ परराष्ट्रमन्त्री खनालले भने । उनले गोर्खाभर्तीबारे भारतीय समकक्षीसँग छलफल नभएको बताए । ‘सरकारलाई जहिले आवश्यक लाग्छ, अन्य विषयहरूजस्तै यो विषयमा पनि हामी वार्ताको टेबुलमा बस्नेछौँ, बस्नुपर्छ,’ भारतीय पत्रकारहरूको प्रश्नमा उनले भने ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा परराष्ट्रमन्त्री शिशिर खनालले भने– छलफल र उच्चस्तरीय भेटघाटले नेपाल–भारतबिचको कूटनीतिक र आर्थिक सहकार्य नयाँ उचाइमा पुर्याउनुका साथै आगामी दिनमा आपसी हितका क्षेत्रहरूमा परिणाममुखी सहकार्य अघि बढाउन बलियो आधार तयार भएको छ । व्यापार तथा लगानी विस्तार गर्ने, ऊर्जा सहकार्य सुदृढ गर्ने, पर्यटन प्रवर्द्धन गर्ने तथा कनेक्टिभिटी र जनस्तरको सम्बन्ध अझ सशक्त बनाउने विषयहरूमा ठोस आधार तयार पारेको छ ।