संघ शिक्षा वर्गको समापन, भोलि दीक्षान्त

आइतबार, २४ जेठ, २०८३
डिजिटल संस्करण

हिन्दू स्वयंसेवक संघ नेपालद्वारा आयोजित १५ दिने ‘संघ शिक्षा वर्ग–२०८३’को समापन समारोह सम्पन्न भएको छ। जेठ ९ गते विशेष उद्घाटन सत्रसँगै सुरु भएको यस प्रशिक्षण वर्गमा देशभरिबाट स्वयंसेवक कार्यकर्ताहरूको उत्साहजनक सहभागिता थियो।

संस्कार, अनुशासन र राष्ट्रभक्तिको भावना जागृत गराउने उद्देश्यका साथ सञ्चालित १५ दिने विशेष प्रशिक्षणले नयाँ ऊर्जा थपेको सहभागी स्वयंसेवकहरूको भनाइ छ।

समापन समारोहका प्रमुख अतिथि एवं पूर्वप्रहरी महानिरीक्षक अच्युतकृष्ण खरेलले वर्गबाट प्रशिक्षित विद्यार्थीहरूलाई आफूले लिएको ज्ञानलाई मन, वचन र कर्मले व्यवहारमा उतार्न आह्वान गरे। व्यक्ति, समाज र राष्ट्र धर्मनिरपेक्ष हुन नसक्ने भन्दै उनले सबैले आफ्नो धर्म निर्वाह गर्नैपर्ने, धर्मबाट च्यूत हुन नहुने बताए।

यसैगरी, समारोहको प्रमुख वक्ताका रूपमा हिन्दू स्वयंसेवक संघ नेपालका राष्ट्रिय प्रचारक वेद प्रकाशले संस्कारित युवाहरूले सेवाका माध्यमबाट समाजलाई संगठित गर्ने छन् भन्ने अपेक्षा हिन्दू समाजले राखेको उल्लेख गर्दै संघले समाजको यही अपेक्षालाई पूरा गर्न तत्परताका साथ लागिपरेको बताए।

धुलिखेलस्थित सञ्जीवनी माध्यमिक विद्यालयमा शनिबार आयोजित उक्त समापन समारोहको अध्यक्षता वरिष्ठ समाजसेवी तथा संघ शिक्षा वर्गका माननीय सर्वाधिकारी वसन्तकुमार श्रेष्ठले गरेका थिए।

समापन कार्यक्रमको आरम्भमा शिक्षार्थीहरूले आफूले सिकेको घोष, नियुद्ध, दण्ड, योग आदि कौशल प्रदर्शन गरेका थिए। १५ दिनसम्म सञ्चालित यस वर्गअन्तर्गत जेठ १६ गते धुलिखेल नगरका आमाहरूको हातबाट ‘मातृभोजन’ ग्रहण गरिएको थियो भने जेठ २० गते पारम्परिक घोषको तालमा धुलिखेल नगरको परिक्रमा गर्दै आकर्षक पथ सञ्चालनसमेत आयोजना गरिएको थियो।

यो कार्यक्रमलाई व्यवस्थित रूपमा सम्पन्न गर्न माकजु समाज कल्याण संघका महासचिव एवं वरिष्ठ समाजसेवी तथा शैक्षिक व्यक्तित्व चुनियालाल माकजु श्रेष्ठले वर्ग संयोजकको भूमिका निर्वाह गरेका थिए। साथै, धुलिखेल समाज नेपालका महासचिव एवं माकजु समाज कल्याण संघका उपाध्यक्ष गयानाथ माकजु श्रेष्ठले यस संघ शिक्षा वर्गको प्रमुख संरक्षकका रूपमा विशेष योगदान पुर्याएका थिए।

सुझावित समाचार