रास्वपा उदयपुरको जिल्ला सभापतिमा कार्की र बस्नेत भिड्दै

सहमतिकाे प्रयास सफल हुन नसकेपछि नेतृत्व चयनका लागि आज दिउँसो मतदान

आइतबार, २४ जेठ, २०८३
डिजिटल संस्करण

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) उदयपुरको प्रथम जिल्ला अधिवेशनअन्तर्गत जिल्ला सभापति पदका लागि संस्थापक तथा निवर्तमान सभापति चित्रकुमार कार्की र जनक बस्नेतबिच प्रतिस्पर्धा हुने भएको छ । सहमतिकाे प्रयास सफल हुन नसकेपछि नेतृत्व चयनका लागि आज दिउँसो मतदान हुने निर्वाचन समितिले जनाएको छ ।

निर्वाचन समितिका प्रमुख नारायण घिमिरेका अनुसार जिल्ला सभापति पदमा कार्की र बस्नेतले उम्मेदवारी दर्ता गराएका छन् । यसैगरी जिल्ला उपसभापति पदका लागि कृष्णाकुमारी घिमिरे, दिनेश कार्की र किरण राउत चुनावी मैदानमा छन् ।

जिल्ला सचिव पदमा जनार्दनकुमार कार्की, भुवन खतिवडा र सूर्यबहादुर तामाङको उम्मेदवारी परेको छ भने सहसचिव पदका लागि हुकुममणि पाण्डे र सूर्यकुमार राई प्रतिस्पर्धामा छन् ।

पाँच सदस्यीय जिल्ला सदस्य पदमा ११ जनाको उम्मेदवारी परेको निर्वाचन समितिले जनाएको छ । सदस्य पदका आकांक्षीहरूमा सुनिताकुमारी चौधरी, दीपा श्रेष्ठ, बब्लु गुप्ता, गुरुदेव कार्की, शर्मिला थापा, तेजमान विश्वकर्मा, झरना गहतराज, हेमकुमारी चौधरी, अम्बरबहादुर तामाङ, कौशिला कार्की र पवित्रा भट्टराईलगायत रहेका छन् ।

निर्वाचन समितिका प्रमुख घिमिरेका अनुसार जिल्लामा झन्डै पाँच सय प्रतिनिधिले मतदान गर्नेछन् । उनले भने, ‘मतदाताको संख्यामा केही विवाद छ । त्यो विवाद समाधान गरेर आज आइतबार दिउँसो २ बजे मतदान सुरु गर्नेछौँ ।’

गाईघाटमा भइरहेको अधिवेशनलाई लिएर पार्टीभित्र नेतृत्व चयनबारे व्यापक चासो देखिएको छ । विशेषगरी निवर्तमान सभापति कार्कीलाई पुनः नेतृत्वमा ल्याउन पार्टीका केही नेता तथा कार्यकर्ताले सार्वजनिक रूपमा आग्रह गरिरहेका छन् । कार्की रास्वपा उदयपुरका संस्थापक जिल्ला सभापति हुन् । 

कार्की पक्षधरहरूले उनको नेतृत्वमा उदयपुरमा रास्वपाको संगठन शून्य अवस्थाबाट विस्तार भई हजारौँ सदस्यसम्म पुगेको दाबी गरेका छन्। उनीहरूले प्रतिनिधिसभा निर्वाचनमा उदयपुरका दुवै निर्वाचन क्षेत्रबाट पार्टीका उम्मेदवार विजयी गराउन कार्कीको महत्त्वपूर्ण भूमिका रहेको उल्लेख गरेका छन् ।

कार्कीकै नेतृत्वमा प्रतिनिधिसभा उदयपुरको दुवै निर्वाचन क्षेत्रमा रास्वपाले जित निकालेको छ । समर्थकहरूका अनुसार कार्कीले व्यक्तिगत स्वार्थभन्दा माथि उठेर संगठन निर्माण, पार्टी विस्तार र कार्यकर्ता व्यवस्थापनमा निरन्तर योगदान पुर्याएका छन् ।

See More On

सुझावित समाचार