सरुवा बढुवाका लागि भनसुन नगर्न कर्मचारीहरूलाई कानुनमन्त्री गौतमको आग्रह

शनिबार, २३ जेठ, २०८३
डिजिटल संस्करण

कानुन न्याय तथा संसदीय मामिलामन्त्री सोबिता गौतमले कर्मचारीहरूलाई भनसुन नगर्न आग्रह गरेकी छिन्। 
कानुन अधिकृतहरूको दोस्रो सम्मेलनलाई शनिबार समापन गर्दै मन्त्री गौतमले सोर्सफोर्स लगाउने कुराबाट टाढै रहन सचेत गराएकी हुन्।

अहिले प्रधानमन्त्री कार्यालयले भनसुन गर्नेलाई कारबाही गरिरहेको उल्लेख गर्दै यसबाट जोगिन न्यायसेवाका कर्मचारीलाई अनुरोध गरेकी हुन्। 

'यो सोर्सफोर्स गर्ने जुन चलन छ, त्यसबाट सबैजना टाढा हुन मेरो आग्रह छ। खुसुक्क आएर एकजनाले सोर्सफोर्स लगाइहाल्नुभयो भने एकजनालाई न्याय होला, अरूलाई त अन्याय हुन्छ नि। त्यो अन्याय गर्ने पात्र मन्त्रालय होइन, तपाईंहरूकै साथी हो। त्यसकारण साथीले साथीलाई धोका दिने काम बन्द गर्नुस्। कसैले पनि कसैलाई सोर्सफोर्स नलाउने भने सबैको कार्यसम्पादनको मूल्यांकन हुन्छ। कुनै पनि तरिकाले हुन्छ नि। तीनै कुरालाई आधार मानेर भोलिका दिनमा काम गर्न सहज हुन्छ,' उनले भनिन्।  

मन्त्री गौतमले भनसुन गर्दा उल्टै कारबाही परिने पनि बताइन्। 'अहिले प्रधानमन्त्रीको निर्देशनमा प्रधानमन्त्री कार्यालयले सक्रिय रूपमा भनसुन कसले गर्छ, त्यो भनसुन गर्ने मान्छेलाई भनसुन गरेको ठाउँभन्दा झन् पर पुर्याउने एउटा नीतिमा काम गरिराखेको छ। त्यसैले कहिले कहिले हुन्छ भनेर आउनुहुन्छ, हुनेभन्दा झन् बिग्रेर जाने भयो भने त्यसको घाटा तपाईंलाई नै हुन्छ,' उनले भनिन्। 

मन्त्री गौतमले मन्त्रालयमा काम गर्न पाइयोस् भन्ने चाहनालाई सम्बोधन गर्न स्वचालित अनुमानयोग्य र व्यावहारिक कसरी बनाउन सकिन्छ भन्ने कुरामा आगामी दिनमा ध्यान दिइने बताइन्। 'स्वचालित, अनुमानयोग्य भयो भने देश त हाम्रै हो, पूर्व - पश्चिम, पहाड -तराई वा कोर काठमाडौंमा काम गर्नुपरे पनि आखिर देश त हाम्रै हो नि । के मात्रै हो भने स्वचालित, अनुमानयोग्य होस् । थितिमा होस् । त्यति न हो । होइन भने काम गर्न हिच्किचाउनु त्यति उचित हुँदैन,' उनले भनिन् । 

मन्त्री गौतमले राज्य सञ्चालनमा जति जिम्मेवारी राजनीतिक नेतृत्वको हुन्छ, त्यति नै कर्मचारी संयन्त्रको पनि हुने भन्दै अनुशासित, लगनशील र देशप्रति समर्पित भएर मिलेर काम गर्न अपिलसमेत गरिन् ।

सुझावित समाचार