- चेतना बदल्नु भनेको बोधको चरणमा पुग्नु हो । जानाजान कसैले पनि आफ्नो बेहित गर्दैन । देशको अवस्था बिग्रनु भनेको आफ्नै अहित हो । त्यसैले चेतना के हो ? कसरी बदलिन्छ भन्ने बेलैमा बुझ्न जरुरी छ ।
धेरै जन, धन र लामो समय खर्चिएर ल्याएको संघीय गणतन्त्रको मर्मअनुरूप सत्ता सञ्चालन नगरिँदा कमजोर बन्न पुगेको देशको अवस्था बदल्न जेन–जी पुस्ताले सुशासनको माग राखेर गत सालको भाद्र २३ मा आन्दोलन सुरु गर्यो । तत्कालीन सरकारले शान्तिपूर्ण रूपमा गरिएको आन्दोलनका जायज माग सम्बोधनको उचित उपाय नअपनाई दबाउन गोली चलायो । विद्यालय पोसाकमै आन्दोलनमा सहभागी भएका विद्यार्थीसमेत गोलीको सिकार भएको देखेपछि भोलिपल्ट आन्दोलन भड्कियो भड्काइयो । आन्दोलन दबाउन खोजेको सरकार नै भाग्नुपर्ने अवस्था सिर्जना गराई सिहदरबार, सर्वोच्च अदालत, राष्ट्रिय अभिलेखसमेत जलाइए । जनधनको विनाशसँगै देशको गरिमा र अस्मितामा धक्का पुर्याइयो । देशले व्यहोरेको यति ठुलो पीडाको प्रतिफल हो, वर्तमान सरकार । सरकारले हनिमुन पिरियड मानिने मान्यता तोड्दै सय दिनभित्र सयवटा सुधारका काम गर्ने घोषणा गर्दै कार्यान्वयनका लागि आवश्यक कानुन अध्यादेशबाट ल्याएको छ । मनमौजी राजनीतिक नियुक्तिलाई प्रतिस्पर्धात्मक विधिमा ढाल्दै सिनियरलाई प्रधानन्यायाधीशमा सिफारिस गर्ने, अनिवार्यता नभए पनि जता पनि प्रधानमन्त्री जाने, धेरैजसो भेटवार्ता र सरकार सञ्चालनका काम निजी निवास बालुवाटारमा गर्ने परम्परागत मान्यतामा क्रमभंग गर्दै आफूले घोषणा गरेका सुधार कार्यक्रम समेट्दै नीति तथा कार्यक्रम ल्याएको छ । व्यवस्थामा आयामगत परिवर्तन भए पनि सरकार सञ्चालनको शैलीमा तदनुरूप परिवर्तन नगरिएकाले देश आर्थिक क्रान्तिउन्मुख हुन नसकेको बोध गरेर सरकार सञ्चालनमा मौजुदा व्यवस्थाअनुरूपको आयामगत परिवर्तन गर्दै वर्तमान सरकार अघि बढ्न खोजेको देखिन्छ ।
राजनीति गर्ने हतियार बनाइएको सुकुम्बासीको पीडा र सर्वत्र दलीयकरणले विद्रुप बनाइएका राज्य संरचनालाई स्वाधीन बनाउन जुटेको सरकारको विरोध मात्र होइन, आन्दोलन गर्ने घोषणा गरेका छन्, विपक्षी दलले । सुकुम्बासीहरूको नामबाट सडकमा जुलुस र सदनमा सरकारविरुद्ध नाराबाजी गर्दै प्रधानमन्त्रीको राजीनामा समेत मागिएको छ । प्रधानमन्त्रीले संसद्मा आएर जवाफ नदिएको कुरालाई आधार बनाएर संसद् अवरोध गरी संसदीय कामको गति सुस्त पारिएको छ । प्रधानमन्त्रीमाथि विगतका मान्यता उल्लंघन गरेको आरोप छ । प्रधानमन्त्रीले सामाजिक सञ्जालमार्फत आफू संविधान पालना गर्दै देश र जनताको हितमा काम गर्न आएकाले त्यसैमा समय खर्चिन्छु, मान्यताका लागि समय छैन भनेका छन् ।
सरकारले सय दिन पनि पूरा नगर्दै संसद् पटक–पटक अवरोध गरिएको र संसदीय गरिमामा आँच पुर्याउने खालका उच्छृंखल शब्द सत्तारुढ र विपक्षी दलका सांसदले बोलेकाले रेकर्डबाट हटाउँदै मर्यादित हुन सभामुखबाट पटक–पटक ध्यानाकर्षण गराउनुपरेको अवस्था देखेर जनता विलखबन्दमा परेका छन् । पटक–पटकका आन्दोलनले थिलथिलिएको देशले अब त उपचार पाउँछ कि भन्ने आशा गरेका जनतालाई निराश बनाउने छुट सत्ता पक्ष र विपक्षमा रहेका सांसद कसैलाई पनि छैन । यी सबै क्रियाकलाप अज्ञानताका उपज हुन् । अर्थात्, सामान्य चेतनाका सिर्जना हुन् । चेतना बदल्न सकिन्छ । चेतना बदल्नु भनेको बोधको चरणमा पुग्नु हो । जानाजान कसैले पनि आफ्नो बेहित गर्दैन । देशको अवस्था बिग्रनु भनेको आफ्नै अहित हो । त्यसैले चेतना के हो ? कसरी बदलिन्छ भन्ने बेलैमा बुझ्न जरुरी छ ।
आफू र संसार हुनुको आभास हो चेतना । चेतनाका दुई एकाइ हुन्छन्, विषय र विषयता । विषय हो म (अहं) र विषयता संसारका सारा वस्तु अर्थात् जगत् । त्यसैले, सामान्य चेतना द्वेतात्मक हुन्छ । आँखाले कसैलाई देखेको छ । आँखा द्रष्टा हो, देखिनेचाहिँ दृश्य । द्रष्टा जीव हो भने दृश्य हो जगत् । यसैलाई अहं र प्रकृति पनि भनिन्छ । द्रष्टाले दृश्य निर्धारित गर्छ अनि देख्छ । दृश्यले पनि द्रष्टा निर्धारित गर्छ । दृश्यले द्रष्टाको मनस्थिति बदलिदिन्छ । दृश्य द्रष्टाले प्रक्षेपित गरेको हुन्छ । यसरी द्रष्टा र दृश्य एक–अर्कोमा निर्भर हुन्छन् । अझ भनौँ, दृश्य नै द्रष्टा हुन्छ । जगत् जीवको छाया नै हो । सामान्य चेतनाले द्रष्टा र दृश्य एउटै हो भन्ने जानेको हुँदैन । म र संसार अलग–अलग हौँ भन्ने ठान्छ द्रष्टा । यो पृथक्ताले अपूर्णता र असुरक्षा महसुस गर्छ द्रष्टा (अहं) । द्रष्टामा कहिले डर र कहिले प्रेम करुणा पनि पैदा हुन्छ । द्रष्टाको संसारसँग भयको यो नाता नै चेतना हो । भय मेट्दै तृप्त हुन दृश्यको पछि लाग्छ द्रष्टा । दृश्यमा तृप्ति खोज्छ, द्रष्टाले मिल्दैन । तर, अरू थप खोजी गरे मिल्छ भन्ने आश्वासन दिन्छ दृश्यले । मैले पूरै नखोजेकाले तृप्ति भेटिन भन्ने ठान्छ द्रष्टा र दृश्यमा लिप्त हुँदै डुब्छ । तृप्ति नभेटी मर्छ द्रष्टा । तृप्ति भनेको चैन अर्थात् आनन्द हो । आत्मा चिनेजाने मात्र आनन्द भेटिन्छ । आत्मा चिन्नु भनेको बोधको चरणमा पुग्नु हो । जीवले तृप्ति मेट्न आकाशतिरको उडान भर्नुपर्छ भनिएको हो । आकाश भनेको आत्मा हो, जमिन चेतना हो भने आकाश बोध हो । चेतना बदलेर बोधमा पुग्न सकिन्छ ।
अधिकांश हामी चेतनाका चार अवस्था भय वा मजबुरी वा आफूलाई संसारमा सरेन्डर वा पाखण्डी भएर जिएका छौँ । यी चार विकल्प छाडेर पाचौँ निर्विकल्पको अवस्थामा पुगे मात्र चेतना बदलिन्छ । भारतीय आध्यात्मिक गुरु आचार्य प्रशान्तले चेतनाको प्रयासबाट चेतनाको मृत्यु हुँदैन, चेतनाको बाहिरबाट अचिन्त्य कुरा प्रकट भएर आएपछि मात्र चेतनाको मृत्यु हुन्छ, जहाँ मौन त्यहाँ चेतनाको विश्राम, चैतन्य प्रार्थनाले चेतना बदलिन्न मौन प्रार्थना चाहिन्छ, चेतनाको पाचौँ निर्विकल्प अवस्था नै मौन प्रार्थना हो भन्छन् ।
चेतनाको चार अवस्थाको चक्रमा फसेको उदाहरण बनेको छ, हाम्रो संसद् अहिले । संसद्मा प्रधानमन्त्री आएन भन्ने स्वरमा सार छैन निस्सार छ । हुनुपर्ने कुरा जनताको संघर्षले आर्जेको संघीय लोकतान्त्रिक गणतन्त्रको सुदृढीकरण हो । त्यसकै लागि संविधान संशोधन र आर्थिक क्रान्तिको तयारीका लागि चाहिने कानुन र पारदर्शी पद्धति बनाउन, उच्चस्तरीय विदेशी कूटनीतिज्ञसँग मात्र आवश्यक भेटवार्ता गरी लिपुलेकबारे कूटनीतिक नोट पठाउँदै देशको स्वाभिमान जोगाउनमा सरिक रहेका प्रधानमन्त्रीको काम गराइमा सारगर्भिता भेटिन्छ ।
चेतनाभित्र आत्मा हुँदैन । न चेतना भएको हुँदा आत्मा हुन्छ । आत्मा त चेतना प्रस्फुटित हुने विन्दु वा स्रोत हो । संसार, घर, परिवार, सबै पदार्थ, वस्तु, विषय र आकाशसमेत चेतना हो, चेतनामा नै सबै क्रिया हुन्छन् भन्छन् आचार्य प्रशान्त । आत्मा त्यो महाआकाश हो, जहाँ चेतनाका धेरै आकाश डुल्ने–फिर्ने गर्छन् भन्ने तर्क छ उनको ।
चेतनशील भएर मनुष्यले जीवन बिताउन भनेर नै ऋषिले अध्यात्मको अवधारणा अघि सारेका हुन् । दर्शन शास्त्र, अध्यात्म र आधुनिक मनोविज्ञानले चेतनाको फरक–फरक अर्थ गरेका छन् । दार्शनिक तथा आध्यात्मिक दृष्टिकोणले चेतनाका चार आयाम जाग्रत, स्वप्न, सुषुप्ति र तुरीय (आत्मज्ञानको अवस्था) दर्साएको छ भने आधुनिक मनोविज्ञानले सचेत मन, अचेतन मन, अर्धचेतन मनमा वर्गीकरण गरेको छ । व्यावहारिक जीवनमा जागृत, स्वप्न, ध्यानस्थ, सम्मोहित र असामान्य गरी चेतनाका पाँच अवस्था अनुभव गरिन्छ ।
जीवन्तताको अनुझव नै चेतना हो, जो सबै मनुष्यमा एउटै छ । चेतना शरीरसँग जोडिए कामुकता, भावनासँग जोडिए प्रेम, चेतनशीलतासँग जोडिए योग घटित हुन्छ । योग भनेको अहं आत्मामा प्रतिष्ठित हुनु हो । चेतनाको अनन्तता नै आत्मा हो । चेतनामा पहुँच विस्तार गर्दै अनन्ततामा पुगिन्छ । ध्यान र अवलोकन अहंलाई आत्मामा जोड्ने सेतु हुन् । ध्यान र अवलोकन कर्म होइनन् मनुष्यका स्वभाव हुन् । कर्म गर्नुपर्दैन, मौन प्रार्थना गरे पुग्छ । प्रयास गरे शान्त होइन अशान्त र ज्ञानको प्रज्ञा होइन अहंकारी घमण्ड बढ्छ । अहंकारलाई आफ्नो सीमाको ज्ञान हुँदैन । जसले गर्दा असीमको पनि तुच्छ सम्झिन्छ र आदर गर्दैन । सीमाको ज्ञान हुनु विनम्रता हो ।
अतीतको कर्म वा संस्कारले चेतनालाई प्रभावित गर्छ । अतीतका कर्म र संस्कारभन्दा पर जानु मुक्ति हो । मुक्तिको मार्ग साक्षीत्व हो । निर्लिप्त भएर अवलोकन गर्ने जागरुकता साक्षीत्व हो । श्रद्धा, संयम र साधना गर्दै मनलाई विकाररहित (राग, द्वेष, मोह, आसक्ति नभएको) शुद्ध राखिएको एक अवस्थाको निरन्तरता मुक्ति हो । मुक्ति कुनै लक्ष्य वा गन्तव्य होइन, यात्रा हो भन्नेमा ग्रन्थ र दार्शनिकको एक मत छ । बाँचेको अनुभूतिमा सीमित राखिएको चेतना मुक्तिको द्वार बन्न सक्छ । न्युरो साइन्सले पनि चेतना बदलावशील मान्दछ ।
हाम्रो दैनिक जीवनको विचार, भावना र अनुभवको समग्रता नै चेतना हो । अलग एकाइ होइन, एक गतिशील प्रक्रिया हो, जो बदलिइरहन्छ । हाम्रो चेतनामा राजनीतिकदेखि धार्मिक, साम्प्रदायिक, सांस्कृतिक आस्था र मान्यता सामेल छन् र अशुद्ध बनाएका छन् । जिद्दु कृष्णमूर्तिले चेतनालाई सामग्री र संरचनाको हिसाबले दुई भागमा बाँडेका छन् । विचार, भावना, इच्छा, महत्वाकांक्षा, भय, ईर्ष्या र स्मृतिलाई सामग्रीमा राख्दै नोकरी गुम्ने भय चेतनाको हिस्सा बन्ने उदाहरण दिन्छन् । चेतना अतीतबाट आउने हुँदा वर्तमानलाई अतीतको चस्माबाट हेर्छौं हामी र जागरुकताबाट टाढा हुन्छौँ भन्ने तर्क छ उनको । संरचनालाई पुरानो गीत बजाउने रेडियोको तार, बटन र गीतको रूपमा बताउँदै तार याद, बटन विश्वास र पुराना गीत विचार हुन् भन्दछन् । विचार चेतनाको आधार हो र सूचना, स्मृति र अनुभवबाट बन्ने विचारले नै चेतनालाई सीमित गर्ने हुँदा विचारभन्दा माथि उठे चेतना मुक्त हुन्छ । सामग्री नै संरचनाको आधार हो । चेतनाको ढाँचा विचारको गतिबाट बन्छ । चेतनाको संरचनामा मस्तिष्कले स्मृतिको पञ्जीकृत गर्छ । जसबाट विचार उत्पन्न हुन्छन् र विचारले मनोवैज्ञानिक कारण जोडेर चेतना बनाउँछ । संरचना समय र स्थानबाट बाँधिएको हुन्छ । किनकि, यो तुलना, निर्णय र भूतकालमाथि आधारित छ । परिवर्तनका लागि अरू कुनै प्रयासै नगरी केवल यो संरचनालाई अवलोकन मात्र गरे जागरुकता आउँछ र चेतना बदलिदिन्छ भन्ने दाबी गर्छन् कृष्णमूर्ति ।
मनुष्यको मूल स्वरूप आत्मा र स्वभाव आनन्द हो । मनुष्यको दुई छिमेकी छन्, एकातर्फ शरीर र अर्कोतर्फ मन । शरीरले पैसा र नाम माग्दैन, रोटी माग्छ । प्रकृतिले मेसिनजस्तो बनाइएको छ, शरीर जसले आध्यात्मिकता त के नैतिकता पनि जान्दैन, भोग्न मात्र जान्दछ । भोजन र सुरक्षा जता छ, उतै भाग्छ शरीर । अर्को छिमेकी मन मूर्ख छ, किनकि बोध छैन मनमा । मनले बोधको चाहना पनि गर्दैन । केवल मलाई गौरव चाहियो, म विशेष हुँ भन्दै चिल्लाउँछ मन । ऋषिहरूले मनुष्यलाई छिमेकीका कुराको साक्षी बन, आफ्नै घरमा बस भन्ने ज्ञान दिए । आफ्नै घरमा बस्नु भनेको आत्मस्थ हुनु हो । छिमेकी घर देहस्थ (शरीर) र मनस्थ (मन) मा वास बसे तनावमा परिन्छ, आफ्नै बोधको घर, जहाँ ज्ञानको ज्योति सदा प्रज्ज्वलित रहेको छ, त्यो बोधस्थमै बसे रमाइन्छ भन्ने रहस्योद्घाटन गरेका छन् वेदान्त, उपनिषद्, भागवत गीता, अष्टावक्र गीताजस्ता आध्यात्मिक ग्रन्थ र वेदव्यासलगायतका ऋषिदेखि वुद्ध, नागार्जुन, लाओत्सु, जिद्दु कृष्णमूर्ति, आचार्य प्रशान्तजस्ता दार्शनिकले ।
अन्त्यमा, कर्मकाण्डीबाट अध्यात्ममा फैलाइएको भ्रममा नपरी शुद्ध मन आत्मा र शुद्ध चेतना बोध हो भन्ने बुझे पर्याप्त हुन्छ । चेतना व्यक्तिगत होइन, सार्वभौमिक हो । चेतना एउटै भए विभिन्न मान्यतामा विभाजित हुने र नहुनेको भिन्नताले विभाजित हुने दुःखी र नहुने सुखी भएका हुन् । एक व्यक्तिले चेतना बदले पूरै मानवता प्रभावित हुन्छ भन्ने उदाहरण जननेता मदन भण्डारीले एकदलीय कम्युनिस्ट मान्यतालाई बदलेर जनताको बहुदलीय जनवाद भिœयाएर अन्यत्र खिइँदै गएको वामपन्थी शक्ति नेपालमा लामो समय सत्तारुढ भएको थियो । जेन–जी आन्दोलनको कहर सहेर देशले केही नयाँ रचनात्मक शैली अपनाउने प्रधानमन्त्री पाएको छ । शैलीले दिशा तय गरिनसकेको र सुरुवाती कदम सकारात्मक नै देखिएको हुँदा सरकारलाई आफ्नो काम गर्न दिन अतीत मिसिएको अशुद्ध चेतनालाई शुद्ध बनाउँदै जसले बनाए पनि मेरै देश बन्ने हो भन्ने बोध गरी सत्ताबाहिर रहेका दलले आ–आफ्ना पार्टीलाई चुस्तदुरुस्त बनाउन ध्यान केन्द्रित गरे सबैको मूल्यांकन जनताले गर्ने नै छन् । जनता लाटा छैनन् । आग्रह–पूर्वाग्रह त्यागे चेतना बदलिन्छ र बदलिएको शुद्ध चेतनाले देश शान्त र समृद्ध बनाउनेछ ।